बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

चीनमा लिपुलेकबारे प्रधानमन्त्रीका उपलब्धिविहीन कुरा, कार्यकर्ताको चाकडी अभियान

आइतबार, २२ भदौ २०८२, २० : ०५
आइतबार, २२ भदौ २०८२

हालै सम्पन्न शाङ्घाई सहकार्य सङ्गठन (एससीओ) शिखर सम्मेलनलाई चीनले आफ्नो ‘नयाँ विश्व व्यवस्था’ को दृष्टि प्रस्तुत गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्‍यो । यसपटकको सम्मेलनले पश्चिमी नेतृत्वको एक ध्रुवलाई चुनौती दिन सक्ने स्पष्ट सन्देश दियो । 

राष्ट्रपति सी चिनफिङले अमेरिकातर्फ लक्षित गर्दै धम्की र दबाबको राजनीति अब स्वीकार्य नभएको उल्लेख गरे । यस सम्मेलनबाट एससीओ विकास बैंक स्थापनाको उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको हो भनेर कुरा राख्नु त्यति अनौठो र आठौँ आश्चर्यको विषय होइन । 

तर जहाँ जुन कुरा उठाइयो, त्यहाँ त्यसले छलफलको ठाउँ पाएको कि पाएन भन्ने हो । नेपाली नागरिकले आशा गरेको विषय त्यही थियो । उत्तरतिर आँखा नलगाई सिधै दक्षिणको छिमेकीसँग कुरा मिलाउनु भन्ने मिडियामार्फत सुनियो । जसलाई आपतविपद्मा काम नलाग्ने छिमेकीसँगको हारगुहारले कुनै अर्थ राखेन ।

अब यता आश्चर्यको विषय त सामाजिक सञ्जालमार्फत ‘धन्यवाद ओलीज्यू’ भन्ने चाकडीको अभियान चलाएर फेसबुक पूरै राताम्य र पुत्लेपाङ्ग्रे बनाइयो । एउटा सामान्य तथ्यलाई ऐतिहासिक घोषणा बनाउने कला हामीले हरेक दिन भोग्नुपर्ने बाध्यता छ । यस्ता कृत्रिम कलाले न त पार्टी बन्छ, न देश । यस्तो उपलब्धिविहीन प्रचारले मुलुक अघि बढ्न सक्दैन र कसैले पत्याउँदा पनि पत्याउँदैन । 

महाकाली नदी नेपालको पश्चिमी सिमाना हो भन्ने कुनै पनि विद्यालयका बालबालिकाले पहिले नै पढिसकेका छन् । नक्सा देखाउन सक्ने मात्र होइन, ‘महाकालीको पूर्व नेपाल र पश्चिम भारत’ भन्ने वाक्य सामाजिक अध्ययनको किताबमै पहिलो पाठ हो । तर यही सामान्य ज्ञानलाई सम्मेलनमा देशको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दा या राख्दा कुनै नयाँ ऐतिहासिक सत्य र नयाँ चिजको आविष्कार भए जसरी चर्चा गरियो । 

वास्तविक राष्ट्रवाद भनेको नारा होइन, व्यवहार हो । सीमामा खटिएका सुरक्षाकर्मीलाई पर्याप्त सुविधा दिँदा त्यहाँ राष्ट्रवाद बलियो भएर उभिन्छ । गुमेको भूमि फिर्ता ल्याउन सक्दा ऐतिहासिक राष्ट्रवाद बलियो भएको आभास हुन्छ ।

केही थान निजी ‘भक्तजन’हरूले उत्साह मनाए । ठिकै छ समर्थकहरू नारामा रमाउन पाउनु पनि पर्छ । निजी विषयमा कसैको टीकाटिप्पणी गर्नु त्यति उपयुक्त नहोला । तर सामान्य कुरालाई असाधारण उपलब्धि जस्तो प्रस्तुत गर्ने कला त्यति वाञ्छनीय देखिएन । किनकि कार्यकारी राष्ट्र प्रमुखबाट चीनको सम्मेलनमा बोलेको प्रस्तावले मुलुकका लागि खासै फाइदा भयो जस्तो लागेन । ठोस निष्कर्षविहीन प्रस्ताव औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन । 

यहाँनिर नेताको मात्र समस्या देखिएन । कार्यकर्ताको विचारभन्दा माथि चाकडी संस्कृतिको पनि समस्या  देखियो । नेताले जे बोले पनि वचनामृत ठानिन्छ । आलोचना गर्ने जोकोही ‘विदेशी एजेन्ट’ वा संस्थापन विरोधी वा कुनै प्रतिष्ठानद्वारा पालित पोषित ठहरिन्छ । 

आफू कहाँबाट सञ्चालित छ उसले चाहिँ हेक्का राख्दैन । एकोहोरो सुगारटाइ छ । विद्यालयस्तरको तथ्यलाई पनि राष्ट्रिय गौरवको उदघोष बनाइन्छ । राष्ट्रवाद यति खोक्रो भएछ कि बालबालिकाले बुझ्ने कुरा समेत महान् उपलब्धि ठान्नेहरु कुन प्रकारका विचारक हुन् ? 

एउटा जिज्ञासा मनमा आयो ? चीनको आयोजनामा भएको एउटा कार्यक्रममा बसेर महाकाली पूर्व नेपाल हो भनेपछि के-के उपलब्धि भयो कि बदलियो ? कि नेपालको एक चुड्कीले भारतसँगको सीमा विवाद हल भयो ? गुमिसकेको भूमि फिर्ता आएको हो ? कि अब चीनले नेपालको भूगोललाई नयाँ दृष्टिले हेर्न थाल्यो ? मुलुकको कार्यकारीसँग यसको जवाफ छ ? जवाफ शून्य छ । तर राजनीति र सामाजिक सञ्जालमा शून्यलाई पनि ऐतिहासिक उपलब्धि बनाउने यो स्तरका नेता कार्यकर्ताले कला प्रस्तुत गर्न अलिकति पनि शरम मानेनन् । 

एमाले नेता कार्यकर्ताहरु समाज रुपान्तरणका अग्रणी पनि हुन् । तर यस्ता लम्पसारवादी हर्कतले पार्टीको इज्जत कहाँ पुर्‍याउला ? उपल्लो स्तरका नेता भइसकेका व्यक्ति पनि कार्यकर्ताकै लेभलमा ओर्लिएर नारामै विजयोत्सव मनाएको पाइयो । मनाउनेहरुले नेतृत्वको प्यारो बन्न प्रचार गरे । तर अन्य विपक्षी दलहरुकफ खिसिट्युरी एउटा स्वाभिमानी कार्यकर्ताको लागि असह्य हुँदो रहेछ । मलाई विश्वास भयो नेताहरु शब्द बेचेर राजनीति चलाउँदा रहेछन् । परिणाम राष्ट्रवाद खोक्रो नारामा सीमित भयो । 

निष्कर्ष एउटा सरकारी टोली छिमेकी राष्ट्रको निम्तो मान्न गयो, रित्तो हात फर्केर आयो । उपलब्धि- विदेश भ्रमण । 

वास्तविक राष्ट्रवाद भनेको नारा होइन, व्यवहार हो । सीमामा खटिएका सुरक्षाकर्मीलाई पर्याप्त सुविधा दिँदा त्यहाँ राष्ट्रवाद बलियो भएर उभिन्छ । गुमेको भूमि फिर्ता ल्याउन सक्दा ऐतिहासिक राष्ट्रवाद बलियो भएको आभास हुन्छ । भारतसँग बराबरीमा बोल्न सक्दा राष्ट्रवाद बलियो भएको संकेत नेपाली जनताले एकमुष्ट पाउन सक्नुपर्छ । 

उत्तर कोरियाको राष्ट्रवादको कुरा गर्दिनँ । तर दक्षिण अमेरिकी मुलुक क्युबा आजसम्म अमेरिकी नाकाबन्दी व्यहोरिरहेको छ । कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको राष्ट्रवादी नीतिका कारण आज क्युबा कहाँ पुगिसक्यो ? संसारभर डाक्टर निर्यात गर्छ । छिमेकी मुलुकहरुलाई भोलेन्टियर शिक्षकहरुको सहयोग गर्छ । विश्वभर चिनी निर्यात गर्छ । कसैको सहयोग लिन मान्दैन थिए फिडेल । परनिर्भरताले मुलुकवासी बिग्रन्छन् भन्थे अनि क्युबा बन्यो । आज विश्वले चिन्छ क्युबालाई त्यहाँ क्युबा मोडलको समाजवाद स्थापित छ । कृषि प्रणाली सहकारीमा आधारित छ । उत्पादनका सम्पूर्ण साधनहरु राज्यको नियन्त्रणमा छ । गाँस, बास, कपास, अर्थात् स्वास्थ्य, शिक्षा, रोजगारी राज्यले नै ग्यारेन्टी गर्छ । वैज्ञानिक समाजवादसम्म नपुगे पनि कम्तीमा क्युबा मोडलको समाजवाद स्थापित गरेर दुनियाँलाई देखाउन सक्ने हैसियत बनाइसकेको छ नि । 

हो यस्तो नीतिलाई राष्ट्रवाद भन्न सुहाउँछ । हिजो मत कलेक्सनको लागि आफू सत्तामा पुगेपछि दिन  सकिने नसकिने घोषणा पत्रमा राखेर लेख्न सजिलो भएजस्तै आज कार्यान्वनमा किन खुट्टो कमाउने ? आफू मरे मरिन्छ, तर सन्ततिले हाम्रा लागि लडेकाहरुको इतिहास लेखिदिऊन् ।

त्यसैले नक्कली फर्मुलाबाट हिसाब मिल्दैन । हिसाब मिलाउनु छ भने सक्कली फर्मुला प्रयोग गरी सही  उत्तर निकाल्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश थापा
प्रकाश थापा
लेखकबाट थप