बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

सोमबार, २३ भदौ २०८२, ०२ : ४६
सोमबार, २३ भदौ २०८२

सारांश

  • बागलुङमा 'खायन आलु' उत्पादनको क्षेत्र विस्तार गरिएको छ, जसले कृषकहरूलाई आकर्षित गरेको छ।
  • कृषि ज्ञान केन्द्र बागलुङले विभिन्न स्थानीय तहमा आलु उत्पादनका लागि लगानी गरेको छ, जसले गर्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
  • किसानहरूले उन्नत प्रविधि, मलखाद र सिँचाइको प्रयोगबाट आलु उत्पादन बढाउँदै जीविकोपार्जनमा टेवा पुर्याएका छन्।

बागलुङ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । 

यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । आर्थिक वर्ष २०८०र०८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ ।

उनका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताए । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ ।

प्रमुख सिलवालले भने, “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्‍याउँछ ।”

हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइसकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका सहरमा पुग्ने गरेका छन् । 

खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने हुँदा उत्पादन बढ्ने ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताउनुभयो । यो आलु खेती गर्न थालेपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । 

कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि सहकारी तथा समूहमार्फत खाद्यान्न बाली प्रवर्द्धन गर्न थालेको हो । कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप