बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा बोक्सीको आरोपमा कुटपिट

सोमबार, २३ भदौ २०८२, १० : १७
सोमबार, २३ भदौ २०८२

सारांश

  • रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ, जसले गर्दा उनको कपाल मुण्डन गरिएको थियो।
  • मृतकका परिवारले सुशीला देवीलाई उनकी श्रीमतीको मृत्युको लागि दोष दिए, जसले गर्दा आक्रमण भयो।
  • प्रहरीले घटनास्थलबाट पीडित महिलालाई उद्धार गरेको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको खुलासा भएको छ ।

४० वर्षीय स्थानीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतबार सुशीला देवीमाथि बोक्सीको आरोपमा सामूहिक कुटपिट र दुर्व्यवहार भएको हो ।

दिनेश साह कानुकी श्रीमती ३७ वर्षीय संगीता देवी अकस्मात बिरामी भएपछि उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा आइतबार दिउँसो २ बजे बाटोमै उनको मृत्यु भयो ।

सुशीला देवीले टुनामुना गरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारजनले कुटपिट गर्नुका साथै केश मुण्डन गरी अमानवीय व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

घटनाबारे जानकारी पाउनासाथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पीडित महिलालाई उद्धार गरेको थियो । कुटपिट तथा अमानवीय कार्यमा संलग्न तीनै जना घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी राजन कार्कीले बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथि पीडितको तर्फबाट जाहेरी परेको बताए । आरोपितहरूले महिलालाई कुटपिट गरी केश मुण्डन गरेको उनको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप