मोदी, पुटिन, सीबिचको भेटघाटबारे के भन्छन् रुसी विदेशमन्त्री ?
सारांश
- चीनको तियानजिनमा एससीओ बैठकमा मोदी, पुटिन र सी जिनपिङको भेटवार्ता भयो, जसलाई ट्रम्पले खेद व्यक्त गरे।
- रुसी विदेशमन्त्री लाभरोभले उक्त भेटलाई साझा हित र साझेदारीको दृष्टिकोणको रूपमा व्याख्या गरे।
- ट्रम्पले भारत र रुस चीनको हातमा गुमेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरे, तर मोदीले मित्रताको समर्थन गरे।
मस्को । चीनको तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) बैठकमा भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटघाटप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेद व्यक्त गरेका थिए ।
तर यस भेटलाई रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साझा हित र पारस्परिक साझेदारीतर्फ स्पष्ट दृष्टिकोणको रूपमा वर्णन गरेका छन् । लाभरोभले आइतबार रुसको सरकारी टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । ‘यसले तीन महाशक्तिहरू, जसले तीन महान सम्भयताको प्रतिनिधित्व गर्छन्, धेरै क्षेत्रहरूमा आफ्नो साझा हित बुझ्छन् भन्ने देखाउँछ,’ उनले भने ।
‘यसको अर्थ सबै कुरा १०० प्रतिशत समान छ भन्ने होइन, तर चीन, रुस र भारतबीच साझेदारी बढाउने प्रवृत्ति छ, जसमा ती क्षेत्रमा आपसी फाइदा लिन सकिनेछ जसमा हाम्रो पारस्परिक हित छ,’ लाभरोभले अझ अगाडि भने । सामाजिक सञ्जालमा एससीओ शिखर सम्मेलनको एउटा भिडियो भाइरल भएको थियो । मोदी र पुटिन हात समातेर चिनियाँ राष्ट्रपति सीतिर लाग्छन् र त्यसपछि तीन जनाले घेरा बनाएर एकअर्कासँग उत्साहपूर्वक भेटघाट गरिरहेको भिडियोमा देखिएको थियो । यो तस्वीर अन्तरराष्ट्रिय सञ्चार माध्यमको हेडलाइनमा समेत रहेको थियो ।
लाभरोभले अन्तरवार्तामा तीन देशका नेताहरूबीच देखिएको यो न्यानोपनलाई उल्लेख गरिरहेका थिए । यस त्रिकोणको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘सोसल ट्रुथ’मा एउटा पोष्ट गरेका थिए । ‘यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनको हातमा गुमाइसकेका छौं । मलाई आशा छ कि उनीहरूको साझेदारी लामो र समृद्ध होस्,’ पोष्टमा ट्रम्पले लेखेका थिए ।
यसको केही घण्टा पछि ट्रम्पले मोदीलाई ‘असल साथी’ भनेका थिए । ट्रम्पको भावनाको भित्री मनले नै सराहना गर्दै मोदीले पनि मित्रतामा पूर्ण समर्थन व्यक्त गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण