बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

जेनजी जागरणलाई एक जना हितैषी मिलेनियलको सुझाव

सोमबार, २३ भदौ २०८२, १३ : १२
सोमबार, २३ भदौ २०८२

प्रिय जेनजी भाइबहिनीहरू,

सर्वप्रथम त म जेनजी भाइबहिनीहरुलाई स्याबास भन्न चाहन्छु सेप्टेम्बर ८ मा स्वतन्त्र र स्वत:स्फूर्त रूपमा भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट भएर माइतीघरमा प्रदर्शन गर्ने आँट गरेकोमा । हिजो मेरो पुस्ता (मिलिनियल जेनवाईलाई) हाम्रा दाजुदिदीहरु (जेनएक्सले ) आन्दोलन, स्वतन्त्रता, जवाफदेहिताजस्ता मुद्दामा दिएका सुझावहरूको पुस्तान्तरण गर्दैछु । केही सुझाव मेरा आफ्नै अध्ययन र अनुभवबाट पनि समेटेको छु ।

म तिमीहरूको औसत उमेरको (टिनेजर) हुँदा देशमा भ्रष्टाचार र बेथिति विरुद्ध सशस्त्र क्रान्ति नै भएको थियो । आज कतिपय पुरानो राज्य सत्ताबाट लाभ पाएका व्यक्ति र समूहहरूले हिजोको नेपाल सुनौलो थियो, आज गणतन्त्रले देश बिग्रियो भन्ने भ्रामक भाष्य सिर्जना गर्ने प्रयास गर्दैछन् । तर यदि सबै कुरा ठिक भएको भए तिम्रा दाजुदिदी, काकाकाकीले बेथिति विरुद्ध हतियार नै उठाउनुपर्ने थिएन । 

आज भन्दा हिजोको नेपाल समृद्ध र सामाजिक न्यायपूर्ण थिएन । समाजमा चरम विभेद र दमन थियो । विकास, लोकतन्त्र र जनतामा निहित सार्वभौमसत्ता प्राप्त गर्न हरेक पुस्ताले विद्रोह गरेकै हो र हरेक क्रान्तिले केही लोकप्रिय नेता जन्माउँछ । त्यस्तै यस्ता स्व:स्फूर्त अभियानहरूमा घुसपैठ गरी अस्थिरता र अराजकताको आगो जलाई आफ्नो स्वार्थको रोटी सेक्न केही लोकरिझ्याइँवादी व्यक्ति या समूह आफू भाइरल हुने प्रयास गर्छन् ।

न कुनै झोला, न कुनै झण्डा । स्वत:स्फूर्त उठिरहेको यो ‘वेक अप युथ, वेक अप जेनजीज’ लगायत नाराले मलाई ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ जस्ता जनवादी गीतहरूको याद दिलाइरहेको छ । सायद यसले हाम्रा दाजुदिदीहरु (जेनएक्स) लाई ४६ सालको जनआन्दोलन र बलिदानको स्मरण गराइरहेको होला । 

वैचारिक अडान, सत्य निष्ठा, त्याग र धैर्यले प्राप्त हुने प्रसिद्धि साँचो हुन्छ, स्थायी हुन्छ । लोककल्याणकारी, मानवतावादी र कालजयी हुन्छ  । बजारिया हल्ला या षड्यन्त्रका सिद्धान्तमा आधारित चर्चा भने क्षणभंगुर हुन्छ । लोकलाई आफ्नो धर्म, क्षेत्र, जाति या छालाको रङका नाममा उद्वेलित र विभाजित गर्दै सत्यको वैकल्पिक व्याख्या गरेर कमाएको राजनीतिक पुँजी आजकलको क्रिप्टोकरेन्सीको बजार भाउजस्तै अस्थायी हुन्छ ।

नेपालको आधुनिककालमा आम जनताको मुक्ति र समृद्धिका लागि निरंकुश शासकहरूसँग लड्ने, राज्य शक्ति र पदीय प्रलोभनसामु नझुकी लड्ने सहिदहरूबाहेक बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता नेताको नाम लिन सकिन्छ । यी नेता लोकप्रिय थिए न कि लोकरिझ्याइँवादी ।

लामो प्रजातान्त्रिक संग्राममा केही सहिद र लोकतन्त्रका सेनानीहरूको निर्भीकता, सामाजिक न्यायप्रतिको निष्ठाले उनीहरूका नाम नेपाली इतिहासका पानाहरूमा अमिट रूपमा लेखिदियो ।

उनीहरूको आलोचनात्मक चेतसहितको आवाजले युवाहरूलाई जहानियाँ शासनविरुद्ध प्रश्न उठाउन उत्प्रेरित गर्‍यो । ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन भयो । अग्रगमन–प्रतिगमनका आरोह–अवरोह पार गर्दै प्रजातन्त्र स्थापनापछि पटक-पटक भएका प्रतिगमनका असफल प्रयासहरू, सशस्त्र द्वन्द्व हुँदै २०६०–६१ सालको राजशाही दमन भयो।

पछिल्ला केही दिनमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर तिमीहरूको पुस्ता (जेनजी)ले जुन स्वत:स्फूर्त आन्दोलन छेड्ने घोषणा गरेका छौ, यसमा अधिकांश स्वतन्त्र नागरिकको समर्थन छ । न कुनै झोला, न कुनै झण्डा । स्वत:स्फूर्त उठिरहेको यो ‘वेक अप युथ, वेक अप जेनजीज’ लगायत नाराले मलाई ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ जस्ता जनवादी गीतहरूको याद दिलाइरहेको छ । सायद यसले हाम्रा दाजुदिदीहरु (जेनएक्स) लाई ४६ सालको जनआन्दोलन र बलिदानको स्मरण गराइरहेको होला । 

आज सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय भन्दा कयौँ गुणा प्रतिगामी २०६१ माघ १९ मा सेना र बन्दुकको भरमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको राजनीतिक ‘कू’ थियो । ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेका थिए । स्वतन्त्र एफएम रेडियोहरूमा समाचार रोक लगाइएको थियो, टेलिफोन लाइनहरू काटिएका थिए भने सञ्चार गृहहरूमा सेना परिचालन गरिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । यही पृष्ठभूमिमा भएको जनआन्दोलनले अढाई सय वर्षको राजतन्त्र फालेको थियो ।

नयाँ पुस्तालाई बुझेर, उनको कुरा सुनेर, आफ्नो स्वार्थ नराखी सल्लाह सुझाव दिने पृष्ठभूमिमा टिम नबनेसम्म यस्ता अभियान दिगो हुँदैनन् । उज्यालो नेपाल अभियानको नेतृत्व गरेका कुलमान घिसिङले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गर्ने भनिएको जेनजीको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन् । यो आन्दोलन पनि अब अँध्यारोबाट उज्यालोतर्फ होस् ।

यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो । २०६२–६३ सालको दोस्रो जनआन्दोलन र २०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणासँगै व्यवस्था परिवर्तनको चरण पूरा भयो । समावेशिता, समानता र सामाजिक न्याय मूलधारमा स्थापित भए ।

व्यवस्था परिवर्तनको लामो यात्राले अपेक्षाकृत समृद्धि र सुशासन ल्याउन नसकेको कुरा नेपालको धरातलीय यथार्थ हो । नेपालमा शासकहरूले जनतालाई इतिहासदेखि वर्तमानसम्म विभिन्न कालखण्डमा प्रताडित गरिरहे । राज्य शक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन चलिरह्यो । एकपटक सत्तामा पुग्ने परिवारका सदस्य प्रायः अलिखित अर्बपतिको सूचीमा पुगे । 

जहानियाँ राणा शासनको अन्त्यपछि पनि पटक–पटक सरकारमा जानेहरूका खलक उच्च ओहोदाबाट झरेनन् । राजनीतिक परिवर्तनका आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वामपन्थी देशको समष्टिगत आर्थिक–सामाजिक रूपान्तरणमा असफल भए । त्यसैले ती नेतृत्व या तिनका सन्तति (नेपोकिड) प्रति आक्रोश स्वाभाविक छ ।

तर घुसपैठबाट सावधान रहनु । राजावादी र अन्य बोली, विचारको ठेगाना नभई अनर्गल बोल्नेलाई मिडियाले सनसनी फैलाउन बढी स्थान दिने हुनाले भाइरल हुन चाहनेहरूले यस्ता स्वतन्त्र आन्दोलनलाई विकृत र उग्र बनाउन सक्ने सम्भावना रहन्छ । आजको सचेत युवापुस्ताले इतिहासबाट पाठ सिकेर आफ्नो वैचारिक अडान र धैर्यपूर्वक लोककल्याणकारी, मानवतावादी स्थायी प्रसिद्धि पाउने प्रयास गर्नुपर्छ । 

यस विपरीत परम्परागत शैलीमै बजारिया हल्ला या षड्यन्त्रका सिद्धान्तमा आधारित क्षणभंगुर लोकरिझ्याइँवादतिर उन्मुख भए वास्तविक समृद्धि र सामाजिक न्याय हासिल हुँदैन । यो आन्दोलनले तपाईँकै जेनेरेसनका नेताका सन्तानहरूको मौलिक हकको हनन नगरी उहाँहरूलाई जागरूक भई आफ्नै आफन्तहरूलाई आफ्नै सम्पत्तिको स्रोतबारे प्रश्न गर्ने प्रेरणा प्रदान गरोस् ।

समाजका असन्तुष्टिलाई सामाजिक सञ्जालबाट सडकमा ल्याउने प्रयासले भविष्यमा हुने नयाँ अन्दोलनहरुको दिशानिर्देश गर्नेछ । तर यी स्वत:स्फूर्त आन्दोलनहरूको समस्या के हो भने यिनमा परिपक्वता, स्पष्ट दृष्टिकोण र लक्ष्य अनि नेता वा संरचना नहुँदा भड्किने या बाटो बिराउने सम्भावना रहन्छ । जुन आन्दोलनले दिगो राजनीतिक निकास र आर्थिक विकास दिँदैन त्यो आन्दोलनले अझ बढी निराशा र अराजकता सिर्जना गर्छ । 

नयाँ पुस्तालाई बुझेर, उनको कुरा सुनेर, आफ्नो स्वार्थ नराखी सल्लाह सुझाव दिने पृष्ठभूमिमा टिम नबनेसम्म यस्ता अभियान दिगो हुँदैनन् । उज्यालो नेपाल अभियानको नेतृत्व गरेका कुलमान घिसिङले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गर्ने भनिएको जेनजीको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन् । यो आन्दोलन पनि अब अँध्यारोबाट उज्यालोतर्फ होस् । यो आन्दोलनले अराजकताको आगो सल्काउनुको साटो आशाको दियो बालोस् । जेनजीको आन्दोलन केही सामाजिक सञ्जालहरूमाथिको प्रतिबन्ध हटेलगत्तै नसेलाओस् । 

आशा छ, २०८४ सम्म यो आन्दोलन कायम रही सही र सक्षम युवा नेतृत्वको चयन गरेर मात्र विश्राम लिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णुप्रसाद जोशी
विष्णुप्रसाद जोशी
लेखकबाट थप