शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि थपियो कर्फ्यु

सोमबार, २३ भदौ २०८२, १३ : ३१
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रलाई समेटेर नयाँ आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो । 

शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोल्सासम्म कर्फ्यु लागेको छ ।

त्यस्तै, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा  केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म र सिंहदरबार क्षेत्रमा पनि भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म कर्फ्यु आदेश जारी भएको छ । 

पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म जारी भएको प्रशासनले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाभित्रका यी उल्लेखित क्षेत्रहरूमा शान्ति सुरक्षा कायम राख्न र कुनै पनि सम्भावित अशान्तिलाई नियन्त्रण गर्नका लागि यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ। 

कर्फ्यू_आदेश_दोस्रो (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप