आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमाथि प्रहरी दमनको पूर्वगृहमन्त्री शर्माद्वारा निन्दा, मृतकप्रति श्रद्धाञ्जली

सोमबार, २३ भदौ २०८२, १५ : ५९
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले जेनजी पुस्ताले सुरु गरेको आन्दोलनमाथि सरकारले गरेको दमनको कडा निन्दा गरेका छन्।

शर्माले आन्दोलनका क्रममा गोली लागी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न सरकारलाई दृढ मागसमेत गरेका छन्।

उनले दमनमार्फत आन्दोलन रोक्न नसकिने बताउँदै जेनजी पुस्ताले उठाएका मागलाई गम्भीरतापूर्वक सम्बोधन गरी समाधानको बाटो पहिल्याउन सरकारसमक्ष आग्रह गरेका छन्। ‘यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुनेछ,’ शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने, भ्रष्टाचारविरुद्ध चाँडै कडा कदम चाल्नुपर्ने र २०४६ साल यताका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न ढिलाइ नगर्नुपर्ने उनको माग छ।

शर्माले इतिहासले दमनबाट आन्दोलन रोक्न नसकिने पुष्टि गरिसकेको भन्दै राजनीतिक दल र सरकारले आफ्ना कमजोरीहरू स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताएका छन्।

उनले आन्दोलनकारीलाई संयमित र शान्तिपूर्ण तरिकाले आन्दोलन सञ्चालन गर्न पनि अपिल गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप