शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

जेनजी प्रदर्शन : चितवनमा तनाव हुँदा हेटौँडामा शान्तिपूर्ण

सोमबार, २३ भदौ २०८२, १७ : २५
सोमबार, २३ भदौ २०८२

मकवानपुर । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भएको जेनजीको प्रदर्शनका क्रममा चितवनमा तनाव हुँदा हेटौँडाको प्रदर्शन भने शान्तिपूर्ण भएको छ । सोमबार देशव्यापी रूपमा जेनजी सडकमा उत्रिएका हुन् ।

चितवनको भरतपुरमा दिउँसो प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । चितवनमा अझै पनि प्रदर्शन जारी नै रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार केही सङ्ख्यामा रहेको प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले केही मात्रामा अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार, प्रदर्शनकारीले महानगरको गेट फोडेरभित्र प्रवेश गरी तोडफोडको प्रयास गरेपछि बल प्रयोग गर्नुपरेको हो । 

बिहान शान्त रहेको भरतपुरमा दिउँसो १ बजेपछि प्रदर्शनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रदर्शन थालेका थिए । त्यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा ४ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । प्रदर्शनका क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले १४ राउण्ड अश्रु ग्यास प्रहार गरेको उनले बताए । केही सङ्ख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको उनले बताए । 

ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर अवस्थालाई नियन्त्रणमा लिइएको उनको भनाई छ । जनपथ प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेर अवस्था नियन्त्रणमा लिइएको उनले बताए ।

यता बागमती प्रदेशको राजधानी हेटौँडामा भने जेनजी पुस्ताको प्रदर्शन शान्तिपूर्ण सम्पन्न भएको छ । २८ वर्षभन्दा कम उमेरका युवा, जसमा अधिकांश विद्यालय र कलेजका विद्यार्थीहरू आफ्नै पोसाकमा सहभागी थिए, उनीहरूले सरकार विरोधी नारा लगाएका थिए ।

हेटौँडाको उपमहानगरपालिका चोक तथा हुप्रचौरबाट सुरु भएको र्‍याली बुद्ध चोकमा पुगेर धर्नामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले केही बेर प्रदेशसभा सचिवालय हेटौँडामा धर्ना दिएका थिए भने २ घण्टासम्म बुद्धचोकको यातायात ठप्प पारेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप