शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर महानगरले दियो शोक बिदा

मङ्गलबार, २४ भदौ २०८२, ११ : ०९
मङ्गलबार, २४ भदौ २०८२

विराटनगर । ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाएका युवाको शोकमा विराटनगर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको महानगरले जनाएको छ । भ्रष्टाचार अन्त्य, बन्द गरिएका सामाजिक सञ्जाल पुनः सञ्चालन, अभिव्यक्ति तथा प्रकाशन स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका ‘जेन–जी’ पुस्ताका युवामाथि भएको दमनका कारण १९ होनहार विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति स्तब्ध र मर्माहत बनेको मेयर नागेश कोइरालाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

महानगरले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारमा तत्काल ध्यान दिन पनि सरकारसँग अपिल गरेको छ ।

‘जेन–जी’ समूहले अघि सारेका जायज मागहरूलाई समर्थन गर्दै शीघ्र सम्बोधनका लागि संघीय सरकारलाई आग्रह गरिएको छ । विधिको शासन, स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्यहरूप्रति प्रतिबद्धता जनाउँदै महानगरले नागरिकको आवाजलाई सम्मानपूर्वक सुन्न सरकारसँग अनुरोध गर्दछु,’ महानगर प्रमुख कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनरत पक्षलाई संयमित, मर्यादित र अहिंसात्मक तरिकाबाट आन्दोलन अघि बढाउन आग्रह गर्दै कोइरालाले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै नागरिक जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् । उनले ‘जेन–जी’ ले उठाएका जायज मागलाई महानगर प्रमुखका तर्फबाट समर्थन गर्दै शीघ्र सम्बोधन गर्न आग्रह गरेका छन् । 

‘नागरिकको आवाजलाई सुन्ने लोकतान्त्रिक मूल्यको सम्मान गर्दै जायज मागसहितको शान्तिपूर्ण आन्दोलनप्रति संवेदनशील भएर जिम्मेवार र दूरदर्शितापूर्ण व्यवहार प्रदर्शन गर्न पनि सरकारलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी समूहले अघि सारेका जायज मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्दै समस्याको दीर्घकालीन समाधान खोज्न र थप मानवीय एवं भौतिक क्षति हुनबाट रोक्न तत्काल ठोस कदम चाल्न सरकारसमक्ष विशेष अनुरोध गर्दै आन्दोलनमा संयमता अपनाउन हार्दिक अपिल गर्दछु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप