शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

विश्लेषकहरूको सुझाव– अन्तरिम सरकार बनाउने बाटो खोल्न प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

मङ्गलबार, २४ भदौ २०८२, १३ : ५८
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • भ्रष्टाचारविरुद्धको युवा आन्दोलन उग्र बनेपछि प्रधानमन्त्रीलाई राजीनामा दिन विश्लेषकको सुझाव।
  • सरकारको दमनपछि हिंसा भड्किँदा १९ जनाको मृत्यु, प्रदर्शनकारीले देशभर आगजनी गरे।
  • विश्लेषकहरूले ओलीको राजीनामापछि नेतृत्वको अभाव र देउवाको नेतृत्व क्षमतामा प्रश्न उठाए।

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ युवाहरूले गरेको आन्दोलनले उग्ररुप लिएपछि राजनीतिक विश्लेषक तथा सामाजिक अगुवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन् ।

मुलुकमा देखिएको गम्भीर परिस्थितिको शान्तिपूर्ण निकासका लागि राजीनामा दिएर अन्तरिम सरकार बनाउन उनीहरूले सुझाव दिएका हुन् ।

सोमबार ‘जेनजी’ युवाहरूले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गरेपछि हिंसा भड्किएको छ । सुरक्षाकर्मीको गोली लागेर काठमाडौँमा १७ जना र विराटनगरमा दुई जना गरी १९ जनाको ज्यान गएको थियो । करिब तीन सयको हाराहारीमा घाइते भएको सुरक्षा निकायले जनाएको छ ।

ठुलो जनधनको क्षति भएपछि आक्रोशित भएका प्रदर्शनकारीले मंगलबार देशभर राजनीतिक दलका कार्यालय, प्रहरी बिट, दलका नेताहरूको घरमा आगजनी गरेका छन् । परिस्थिति भड्किँदै जाँदासमेत सरकारको गृह प्रशासन मौन देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । परिस्थिति गम्भीर हुँदासमेत सरकारले आन्दोलन मत्थर पार्ने गरी सार्वजनिक आह्वान गरेको छैन ।

ओलीले राजीनामा दिएपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा अहिलेसम्म क्लियर नभएको जिकिर गर्दै उनले भने, ‘देउवाले नेतृत्व गर्न सक्दैनन् । प्रधानमन्त्री बन्न समन्वयकारी भूमिका खेल्न सक्ने व्यक्ति देखिएको छैन ।’

प्राध्यापक लोकराज बराल सरकारले ‘जेनजी’को मनोभावना समयमै बुझ्न नसक्दा अहिलेको परिस्थिति निम्तिएको बताए । उनले ‘जेनजी’को आन्दोलन स्वतःस्फूर्त भएकाले नेतृत्वको अभाव देखिँदा परिस्थिति झन् गम्भीर बन्न सक्ने अनुमान गरे । प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि कसले नेतृत्व गर्ने भन्नेमा पनि समस्या देखिएको उनको भनाइ छ ।

‘सरकारले ‘जेनजी’को मनोविज्ञान बुझ्न सकेन । अहिले आन्दोलन स्वतःस्फूर्त भएको देखिन्छ । उनीहरूको नेतृत्व कसले गरेको छ भन्ने नै थाहा छैन । सरकारले संयम अपनाउनुपर्थ्यो । त्यसो नहुँदा परिस्थिति बिग्रिएको देखिन्छ’, उनले भने, ‘यस्तो बेलामा प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्दा उपयुक्त हुन्छ ।’

ओलीले राजीनामा दिएपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा अहिलेसम्म क्लियर नभएको जिकिर गर्दै उनले भने, ‘देउवाले नेतृत्व गर्न सक्दैनन् । प्रधानमन्त्री बन्न समन्वयकारी भूमिका खेल्न सक्ने व्यक्ति देखिएको छैन ।’

अर्का प्राध्यापक कृष्ण पोखरेल सरकारले राजीनामा दिएर स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखे । पार्टीभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउन संविधान बाधक बन्न सक्ने भएकाले दलभित्रै युवा नेता विकल्प हुन सक्ने उनले विश्लेषण गरे ।

‘सरकारले राजीनामा दिएर स्वतन्त्र सरकार बनाउनुपर्छ । हाम्रो संविधानले स्वतन्त्र सरकार बनाउने परिकल्पना गरेको छैन । पुराना नेताहरूले मार्गप्रशस्त गरेर पार्टीभित्रकै युवा नेतालाई प्रधानमन्त्री बनाएर निकास दिन सकिन्छ’, पोखरेलले भने ।

‘अर्ली इलेक्सन’ समाधानको उपाय हुन सक्ने भए पनि त्यो कसरी गर्ने भन्ने विषयमा दुवै पक्षबाट स्पष्ट खाका नआएको पोखरेलले बताए । संक्रमणकालीन अहिलेको अवस्थामा नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति नदेखिएकाले समस्या आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप