शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा कारागारबाट सात सय कैदीबन्दी भागे

सरकारी तथा पार्टी कार्यालयमा आगजनी
मङ्गलबार, २४ भदौ २०८२, २० : ३९
मङ्गलबार, २४ भदौ २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मंगलबार भएको प्रदर्शनमा दर्जनौँ सरकारी तथा पार्टी कार्यालय र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएको छ । स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीको समूहले सुरुमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा एक गाडी र मोटरसाइकलसहित आगजनी गरेका थिए । त्यस लगत्तै, उनीहरूले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयलाई पनि निशाना बनाए । 

आन्दोलनकारीको समूहले धनगढी-४ मा रहेको टेम्पल रिसोर्टमा सरकारी कार्यक्रम चलिरहेको थाहा पाएपछि त्यहाँ प्रवेश गरी पार्किङमा राखिएका करिब आधा दर्जन सरकारी गाडीमा आगो लगाइदिएका छन् ।

आक्रोशित भीडले प्रदेश प्रमुखको कार्यालयको मूल गेट तोडेर परिसरभित्र आगजनी गर्नुका साथै दुईवटा गाडीलाई पूर्ण रूपमा जलाइदिएका छन् । सुरक्षाकर्मीको उपस्थिति भए तापनि प्रदर्शनकारीको सङ्ख्या ठुलो भएकाले उनीहरूलाई नियन्त्रणमा लिन सकिएको थिएन ।

यसपछि प्रदर्शनकारीले योजनाबद्ध रूपमा सरकारी कार्यालयहरूलाई निशाना बनाएका थिए । प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सीटीईभीटीको प्रदेश कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायत एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा छानीछानी आगजनी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित बाहेक अधिकांश सरकारी कार्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले अधिकांश सरकारी कार्यालयमा आगजनी र सवारीसाधनमा तोडफोड भएको पुष्टि गरे । तर, क्षतिको यकिन विवरण सङ्कलन गर्न नसकिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयको भवनमा आगो लगाइसकेपछि उनीहरू कैलाली कारागार प्रवेश गरे । करिब पौने ६ बजेको समयमा उनीहरूले त्यहाँ रहेका करिब सात सय जना कैदीबन्दीलाई बाहिर निकालेर आफूसँगै आन्दोलनमा सहभागी गराएका छन् । यो बाहेक प्रदर्शनकारीले धनगढीको भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप