बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘जेनजी’ आन्दोलनमा अराजक तत्त्व घुसेको भन्दै कांग्रेस बागमतीको भर्त्सना

देउवा निवासमाथि आक्रमणको निन्दा
बुधबार, २५ भदौ २०८२, २० : १७
बुधबार, २५ भदौ २०८२

सारांश

  • बागमती प्रदेश समितिले 'जेनजी' पुस्ताको शान्तिपूर्ण आन्दोलनमा अराजक तत्व प्रवेश गरी हिंसात्मक गतिविधि बढेकोमा ध्यानाकर्षण जनायो।
  • कांग्रेसले सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमणको भर्त्सना गर्दै अमानवीय व्यवहारप्रति आपत्ति जनायो।
  • समितिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर पार्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सचेत रहन आह्वान गर्यो।

काठमाडाैँ । नेपाली कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्त्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले आन्दोलनको नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमणलगायतका घटनाहरूको घोर भर्त्सना गरेको हो ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी अराजक तत्त्वहरूले सभापति देउवाप्रति गरेको अमानवीय व्यवहार र निवासमाथिको आक्रमणप्रति खेद प्रकट गरिएको छ ।

‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

समितिले राजनीतिक नेतृत्व, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमणहरू अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय रहेको र यस्ता गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउँछ ।

कांग्रेस बागमती प्रदेशले देशको शासन व्यवस्था सञ्चालन गरिरहेको नेतृत्वले नागरिकको मनोविज्ञानअनुसार सही निर्णय लिन नसक्दा जनआक्रोश बढेको र त्यसले क्षति पुर्‍याएको निष्कर्ष निकालेको छ ।

प्रशासनिक केन्द्र सिंहदरबार, निर्वाचन आयोग, संसद् भवनजस्ता राज्यका महत्त्वपूर्ण संरचनाहरूमा भएको आक्रमणले लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।

साथै कांग्रेसले आफ्ना पार्टी पङ्क्ति, भ्रातृ तथा शुभेच्छुक संस्था र आम नागरिकलाई समेत आन्दोलनको नाममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सचेत रहन र त्यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय हुन आह्वान गरेको छ । 

विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उल्लेख गर्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप