शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानबाट नै निकास खोजिनुपर्छ, एकता नै हाम्रो ठुलो शक्ति हो : नैनसिंह महर

बिहीबार, २६ भदौ २०८२, १४ : १५
बिहीबार, २६ भदौ २०८२

सारांश

  • कांग्रेस नेता नैनसिंह महरले वर्तमान राजनीतिक संकटको समाधान संविधानभित्रै खोज्नुपर्ने बताए।
  • उनले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्धको आन्दोलन संविधानभित्रै समाधान गर्न सकिने बताए।
  • महरले शान्ति सुरक्षा कायम गर्न संयमित र सुरक्षित रहन सबैलाई आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान राजनीति सङ्कटको समाधान संविधान सभाले निर्माण गरेको संविधान भित्रबाट खोजिनु पर्ने कांग्रेसको स्पष्ट अडान रहेको बताएका छन् ।

उनले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको जेनजी आन्दोलनको मुख्य माग यसै संविधान भित्र रहेर पुरा गर्न सकिने कुरा बताएका हुन् । उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् ।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठुलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । 'यस क्रममा दर्जनौँले ज्यान गुमाएका छन् भने खर्बौँको धनसम्पत्ति नष्ट भएको छ,' महरले भने ।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतान्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ ।’

थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।

‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो र यसले नै हामीलाई हरेक सङ्कटबाट पार लगाउन सक्छ ।’

उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप