शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भयो’

शनिबार, २८ भदौ २०८२, १९ : ३१
शनिबार, २८ भदौ २०८२

सारांश

  • वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रमा ठूलो नोक्सान भएको बताए।
  • उनले जेन जी पुस्ताको आन्दोलनबाट भएको क्षतिपूर्ति र चुनावबारे जोड दिए।
  • अधिकारीले अर्थतन्त्रमा दैनिक नोक्सानी, रोजगारी गुम्ने र युवा पलायनको खतरा रहेको बताए।

काठमाडौँ । वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको टिप्पणी गरेका छन् । 

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘राष्ट्र अहिले अप्ठ्यारोमा छ। यसलाई डुब्न लागेको डुङ्गालाई जसरी जोगाउनुपर्छ।’ उनले जेन जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत र बलिदानले जुन परिवर्तन खोजेको छ, त्यसैअनुसार सबैले अगाडि बढ्नुपर्नेमा जोड दिए।

अधिकारीले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने र यो आन्दोलन पुस्तान्तरणको माग भएकाले सोहीअनुसार चल्नुपर्ने बताए। उनले भने, ‘हाम्रो अर्थतन्त्र सुस्त थियो। विकृति र भ्रष्टाचारले ग्रसित थियो, मन्दी थियो। युवाहरू अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन्। अहिले घुसपैठका कारण आन्दोलनलाई बदनाम गर्ने काम भयो र धेरै नोक्सानी भयो। यसको क्षतिपूर्ति गर्न गम्भीरतापूर्वक कदम चाल्नुपर्छ।’

जेनजी आन्दोलनले शासकहरूलाई भ्रष्टाचार गर्नेबारे चार पटक सोच्न बाध्य बनाएको उनको टिप्पणी थियो। यस आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्र २५ अर्ब रुपैयाँको क्षति भएको र अहिलेको क्षति बिमाले धान्न नसक्ने कुरा बाहिर आएको उनले बताए। यसअघि कोभिड महामारीमा पनि बिमाले भुक्तानी गर्न नसकेको उनले स्मरण गराए।

उनले थपे, ‘हाम्रा उद्योग जलेका छन्, सम्पदा जलेका छन्, सुरक्षाकर्मीको कार्यालय, मिडिया, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबै क्षेत्रमा असर परेको छ। हाम्रो अर्थतन्त्रको आधाजति नोक्सान भएको छ। हाम्रा सूचना, सम्पदा र महत्त्वपूर्ण दस्तावेजहरू पनि नष्ट भएका छन्। यसले हाम्रो बजेटको दुई वर्ष बराबरको क्षति भएको छ।’ एक हप्तादेखि अर्थतन्त्र ठप्प हुँदा दैनिक नोक्सानी भएको, रोजगारी गुमेको, गरिबी बढ्ने र युवा पलायनको खतरा बढेको उनले औँल्याए।

अधिकारीले वर्तमान सरकारलाई समयमै निष्पक्ष, पारदर्शी र सबैको सहभागिता हुने गरी चुनाव गराउन पनि आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप