जेनजी आन्दोलनका क्रममा जलेका राजस्व र मालपोत कार्यालयमा युवाहरूले गरे सरसफाइ
सारांश
- युवाहरूले धनगढीको आन्तरिक राजस्व कार्यालयमा आगजनीबाट भएको क्षतिको सरसफाइ गरेका छन्।
- कार्यालयमा फर्निचर, कागजात र अन्य सामग्री जलेर नष्ट भएका थिए भने विद्युतीय उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेका छन्।
- जेनजी आन्दोलनका कारण कैलाली जिल्लामा सरकारी संरचनामा ठूलो क्षति भएको छ, जसमा १०८ सरकारी कार्यालय भवनमा आगजनी भएको छ।
धनगढी । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय धनगढीमा युवाहरूले सरसफाइ गरेका छन् । आइतबार बिहानैदेखि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले कार्यालय परिसरमा जलेर थुप्रिएको फोहोर र खरानी हटाएका हुन्।
धनगढीको चौराहामा रहेको उक्त कार्यालय आन्दोलनका क्रममा आगजनीको चपेटामा परेको थियो । जसका कारण तल्लो र माथिल्लो तला पूर्ण रूपमा ध्वस्त भएका थिए । कार्यालयभित्र रहेका फर्निचर, कागजात र अन्य सामग्री जलेर नष्ट भएका छन् भने विद्युतीय उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेका छन् ।
बिहान साढे आठ बजेदेखि सुरु भएको सरसफाइमा ‘जेनजी’ अभियानका सदस्य, भायानेटका कर्मचारी तथा अन्य स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको छ । उनीहरूले बेल्चा र अन्य उपकरणको प्रयोग गरी जलेका सामग्रीको अवशेष र खरानी हटाएर कार्यालयलाई पुनः सञ्चालनयोग्य बनाउन सहयोग गरेका हुन्।

कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराज लेखकका अनुसार, आन्दोलन हुनुभन्दा तीन–चार दिनअघि मात्रै उनले कार्यभार सम्हालेका थिए । घटनापछि प्रहरीले क्षतिको विवरण सङ्कलन गरी कानुनी प्रक्रियाअनुसार मुचुल्का तयार पारेको छ ।
प्रमुख लेखकले एक हप्ताभित्र अस्थायी टहराबाट भएपनि आधारभूत सेवाहरू पुनः सुरु गर्ने योजना रहेको जानकारी दिए । ‘तत्कालका लागि हामी अस्थायी संरचनाबाट सेवा दिने तयारीमा छौँ, विद्युत् र इन्टरनेट जडान भएपछि पूर्ण रूपमा सेवा विस्तार गरिनेछ’ उनले भने।
यसैबिच,आन्दोलनबाट प्रभावित सेती प्रादेशिक अस्पताल नजिकै रहेको भूमि सुधार तथा मालपोत कार्यालयमा पनि सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार कैलाली जिल्लाभर एक सय आठ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर ६ सय वटा सवारी साधन समेत जलाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, १०० वटा चार पाङ्ग्रे गाडी र ५०० जति मोटरसाइकल आगजनीले नष्ट भएको पाइएको बताए ।

कार्यालयहरूले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेनजी आन्दोलनका दिन जिल्लामा सरकारी संरचनामा ठुलो क्षति भएको बताउँदै जोशीले तथ्याङ्क तलमाथि हुनसक्ने बताए ।
उनका अनुसार ८/९ पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । जिल्ला प्रशासनले आइतबारदेखि टेन्ट गाडेरै भए पनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण