आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ललितपुरको चाकुपाटमा सारियो सडक विभाग, यसरी हुँदैछ काम

आइतबार, २९ भदौ २०८२, १६ : ४०
आइतबार, २९ भदौ २०८२

सारांश

  • सडक विभागको भवनमा आगजनीपछि कार्यालय ललितपुरको चाकुपाटमा सारिएको छ।
  • आगजनीबाट भवन र ६३ वटा गाडीमा क्षति पुगेको छ, र नयाँ भवन निर्माणाधीन छ।
  • देशभर ११ मुख्य सडक अवरुद्ध छन्, र बाढीले मितेरी पुल बगाउँदा सडक अवरुद्ध छ।

काठमाडौँ । बबरमहलस्थित सडक विभागको भवन जेनजीको प्रदर्शनका क्रममा भएको आगजनीबाट खरानी भएपछि ललितपुरको चाकुपाटमा सारिएको छ  ।

मंगलबारको आगजनीबाट भवन र भित्रका संरचनामा पूर्णरुपमा क्षति पुगेको विभागले जनाएको छ । अब यो भवन अब पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ । 

बबरमहलमा रहेको विभागबाट फेरि नियमित कामकारबाही गर्न भने नमिल्ने भएकाले चाकुपाटमा सारिएको विभागका महानिर्देशक विजय जैसीले रातोपाटीलाई बताए ।

विभागबाट हुने काम कारबाही अब चाकुपाटबाटै सञ्चालन हुने जानकारी दिए । तर बबरमहलस्थित विभागमा रहेका सबै शाखा तथा कार्यालयहरु चाकुपाटमा नअटाउने भएकाले थप व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ । 

२०७२ सालको भूकम्प अघि विभाग उक्त भवनमै थियो ।  भूकम्पले भवनमा क्षति पुगेपछि बबरमहस्थित भबन रेट्रोफिट (प्रबलीकरण) गरी कार्यालय त्यहाँ सारिएको थियो । 

विभाग मातहत सम्भार महाशाखा, विकास सहायता कार्यान्वयन महाशाखा, पुल महाशाखा, योजना तथा अनुगमन महाशाखा रहेका छन् । यस्तै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण व्यापारिकमार्ग र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग विस्तार आयोजनाको कार्यालय लगायत छ । ती सबै महाशाखा र कार्यालय पूर्ण रूपमा क्षति भएकाले आवश्यक व्यवस्थापनका लागि छलफल भइरहेको हो ।

विभागकाअनुसार आगलागीबाट भवन मात्र नभई भवन परिसरमा पार्किङ गरेर राखिएका ६३ वटा गाडीसमेत जलेर ध्वस्त भएका छन् । विभाग र विभाग मातहतका आयोजना कार्यालयका गाडी सुरक्षित हुने भन्दै विभाग परिसरमा ल्याएर राखिएपनि सबै प्रदर्शनकारीले जलाइदिएका हुन् । 

यसैबीच सडक विभागको नयाँ भवन हाल मीनभवनमा निर्माणाधीन छ । उक्त भवन निर्माण सम्पन्न भएपछि त्यहाँबाट पनि काम कारबाही अघि बढाउने विभागको योजना छ । उक्त भवनको निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । 

यस्तै भवन संरचनामा क्षति पुगेपनि डेटा सेन्टर भने सुरक्षित रहेको विभागले जनाएको छ । यस्तै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सडक मर्मतका काम भइरहेको भन्दै विभागले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक पनि खुलाउने प्रयास भइरहेको जनाएको छ । 

विभागकाअनुसार अहिले देशभर ११ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्  । यी सडक खुलाउनका लागि विभागमातहतका कार्यालयहरूबाट कार्य भइरहेका छन् । 

बाढीका कारण दुई महिनायता नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा स्याफ्रुवेँसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै हुम्लाको पैमा खोला, संखुवासभाको बरुण नदी, रसुवागढीको स्याउपार्किङ, ताप्लेजुङको फक्ताङलुङमा बेलीब्रिज बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ । 

यसैगरी पश्चिम रुकुमको रिजगाड, उसुमखोला र छलगाडमा पहिरोका कारण भेरी करिडोरको छिन्चु–दुनै सडक खण्ड, रोल्पाको पुतलाचौरमा पहिरोका कारण शहिदमार्ग अवरुद्ध छ । साथै देलेखको बागडुल्लामा पहिरो जाँदा जखुलालु–जुम्ला सडक, संखुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग, यस्तै सिन्धुपाल्चोकको कोदारी र घट्टेखोला नजिकै पहिरो जाँदा अरनिको राजममार्ग पूर्ण रूपमा अवरुद्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप