बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भारतविरुद्ध पाकिस्तान

दुवै टोलीमा नयाँ रूप, पुरानो नतिजा बिर्साउने पाकिस्तानको लक्ष्य

आइतबार, २९ भदौ २०८२, २० : ००
आइतबार, २९ भदौ २०८२

सारांश

  • भारत र पाकिस्तान बीचको खेल एसिया कप क्रिकेटमा नयाँ पुस्ताका खेलाडीहरू बीच प्रतिस्पर्धा हुने भएको छ।
  • दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ, जसमा विराट कोहली र रोहित शर्मा जस्ता खेलाडीहरू हुने छैनन्।
  • खेलमा सूर्यकुमार यादव र सलमान आगा जस्ता खेलाडीहरूले आफ्नो प्रदर्शन देखाउनेछन्, जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

काठमाडौँ । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमा सबै समर्थकले पर्खने खेल हो । विश्वकप फुटबलको फाइनल खेलपछि भारत र पाकिस्तानको खेल सर्वाधिक हेरिने खेलको रेकर्ड नै बनाएको छ । 

दुई देशबिचको लामो समयको द्वन्द्व जति पिचबाहिर छ, त्योभन्दा बढी प्रतिष्ठाको लडाइँ मैदानमा देखिने गर्छ । विश्वकप क्रिकेटमा मात्र होइन, यी दुई देशबिच हुने क्रिकेट खेल जुनसुकै प्रतियोगितामा होस् समर्थकहरूले पर्खेर बस्ने गर्छन् । 

यो पटकको एसिया कप क्रिकेटमा भारत र पाकिस्तानका नयाँ पुस्ताका खेलाडीहरू एकै ठाउँमा आउँदै छन् । त्यसैले पनि खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ । 

यो पटक भारतको टोलीमा विश्व क्रिकेटमा चर्चा पाएका खेलाडीहरू बिदा भइसकेका छन् । विराट कोहली र रोहित शर्माले अब मैदान बाहिरैबाट खेल नियाल्नेछन् । यता पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवान पनि टिममा छैनन् । 

India-vs-Pakistan

विश्व क्रिकेटमा चर्चा पाएका चार खेलाडीले नखेल्दा पाकिस्तान र भारतबिचको खेलको एउटा अध्याय सकिएको चर्चा गरिन्छ । यसअघि यी चार खेलाडी नै खेलको मुख्य आकर्षण हुने गरेका थिए । तर, अब अभिषेक शर्मा, साइम अयूब, सलमान अलि आगा र शुभमन गिलको समय आएको छ ।

आइतबार भारत र पाकिस्तानले पहलगमपछिको बदलिएको वातावरणमा पहिलो पटक एकअर्कासँग खेल्दै छन् । सायद खेल बढ्दै जाँदा, एउटा सुन्दर शट वा उत्कृष्ट बल देख्दा हामीले पुरानो उत्साह पक्कै महसुस गर्नेछौँ । भारतले पछिल्ला पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा चार जित, एक हार बेहोरेको छ भने पाकिस्तानले पनि पछिल्ला पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा यस्तै नतिजा निकालेको छ । 

सूर्यकुमार यादव र सलमान आगा

पाकिस्तानविरुद्ध पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सूर्यकुमार यादवले कहिल्यै २० रनको स्कोर पार गर्न सकेका छैनन् । पाकिस्तानसँग कप्तान यादवको त्यति राम्रो इतिहास छैन । 

सलमान आगा पाकिस्तानलाई विश्व क्रिकेटमा आफ्ना ब्याटर र बलरलाई खुलेर खेल्न सिकाउने कप्तान हुन् । कप्तानीको मामलामा उनी स्वाभाविक रूपमा त्यति अनुभवी छैनन् । तर समयसँगै अलराउन्डर कप्तानले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको गतिसँग आफूलाई ढाल्न सिकेका छन् । यस फम्र्याटमा उनका आठ अर्धशतकमध्ये चार यसै वर्ष आएका छन् ।

त्यसैले आजको खेलमा आगाले टिमलाई आफ्नो लयसँगै अन्य खेलाडीलाई पनि राम्रो स्थानमा लिन सक्ने सम्भावना छ । यता अनुभवी भारतीय कप्तान यादव पनि आजको खेलमा भारतलाई सहज जित दिलाउने योजनामा हुनेछन् । उनीसँग रातो बल (टेस्ट) का कप्तान सुभमन गिलको साथ हुनेछ । 

यूएईका पिचहरू सुस्त हुने भएकाले भारतले जसप्रित बुमराहलाई मात्र एक तीव्र गतिका बलरका रूपमा खेलाउन सक्ने देखिन्छ । हार्दिक पाण्ड्या र आवश्यक परे शिवम दुबेले सीम–बलिङ कभर गर्नेछन् । यसले बायाँहाते रिस्ट स्पिनर (कुलदीप यादव), मिस्ट्री स्पिनर (वरुण चक्रवर्ती) र कन्टेनमेन्ट (अक्षर पटेल) को लागि प्रशस्त ठाउँ हुनेछ । 

भारत (सम्भावित खेलाडी : अभिषेक शर्मा, शुभमन गिल, सञ्जु सामसन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, शिवम दुबे, हार्दिक पाण्ड्या, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, वरुण चक्रवर्ती
पाकिस्तान (सम्भावित) : साहिबजादा फरहान, साइम अयूब, फखर जमान, सलमान अलि आगा (कप्तान), हसन नवाज, मोहम्मद हरिस (विकेटकिपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, सुफियान मुकिम, अबरार अहमद

पिचको अवस्था र मौसम

दुबईको यो पिच धेरै स्कोर हुने ठाउँ होइन, पछिल्लो दुई वर्षमा पहिलो इनिङ्समा औसत रन रेट ३६ अर्थात् टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ७.७ छ । यस अवधिमा तीव्र गतिका बलरहरूले धेरै विकेट लिएका छन् । वर्षाको सम्भावना देखिएको छैन, तर गर्मी भने असह्य छ । 

धेरै गर्मी हुने भएकाले दुवै टोलीलाई केही असहज पक्कै हुनेछ । दुवै टोलीमा धेरै गर्मी र धेरै चिसो सहन नसक्ने ठाउँका खेलाडीहरू हुनेछन् । 

तथ्याङ्कमा दुई टोलीका नतिजा 

सन् २०१४ देखि भारत र पाकिस्तानबिच भएका आठ टी–ट्वान्टी अन्तर्राष्ट्रियमध्ये सातमा पछि ब्याटिङ गर्ने टोलीले जितेको छ । जसमा दुबईमा भएका तीन खेल पनि समावेश छन् । हार्दिक पाण्ड्या पाकिस्तानबिचको पुरुष टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ६ इनिङ्समा १३ विकेट लिएका छन् । उनले ती ६ इनिङ्समा तीन पटक तीन विकेट लिएका छन् र उनले प्रतिविकेट मात्र १२ रन खर्चिएका छन् ।

india vs pakistan

टी–ट्वान्टी  विश्वकपमा भएको अघिल्लो भेटपछि भारतले पुरुष टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ९.६६ को रन रेट रेकर्ड गरेको छ (टेस्ट राष्ट्ररूमध्ये तेस्रो उत्कृष्ट), जबकि पाकिस्तानको ८.१२ छ (सातौं उत्कृष्ट) ।

भारतका सहायक प्रशिक्षक र पाकिस्तानका ब्याटरको धारणा 

‘हामी सन्जु, अक्षर र हार्दिकका साथ धेरै भाग्यमानी छौँ, जो ब्याटिङ क्रममा माथिदेखि ७–८ औँ नम्बरसम्म जुनसुकै स्थानमा ब्याटिङ गर्न सक्छन् । त्यसैले हाम्रो रणनीतिको एउटा पाटो बहुप्रतिभा भएका खेलाडी प्रयोग गर्नु हुनेछ,’ भारतका सहायक प्रशिक्षक रायन टेन डोस्चेटले भने । 

यता पकिस्तानले भने धेरैपछि समर्थकहरूलाई खुशी दिलाउने लक्ष्य राखेको छ । ‘यो ठुलो खेल हो र दुवै देशका समर्थकहरूले यसलाई गहिरो रूपमा नियालिरहेका हुन्छन् । तर हाम्रो लागि उत्कृष्ट प्रदर्शन गर्दै सम्हालिएर खेल्ने र जित निकाल्ने हुनेछ,’ पाकिस्तानका ब्याटर साइम अयूबले भने ।
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप