भारत र पाकिस्तानको एसिया कप खेलमा ‘ह्यान्डसेक’ विवाद
सारांश
- एसिया कप २०२५ मा भारत र पाकिस्तानबीचको खेलमा हात मिलाउन अस्वीकार गरेपछि विवाद उत्पन्न भयो।
- भारतीय कप्तानले यो कदम सीमा विवाद र पहलगाम आतंकवादी हमलाको बदला भएको बताए।
- पाकिस्तानले यस घटनाको विरोध गर्दै खेल भावनाको विरुद्ध भएको जनाएको छ।
दुबई । एसिया कप २०२५ मा भारत र पाकिस्तानबिचको खेल राजनीतिक तनावका कारण विवादित बनेको छ। खेलपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेपछि यो घटनाले थप चर्चा पाएको हो।
भारतीय कप्तान सूर्य कुमार यादवले यो कदम एउटा विरोध प्रदर्शन भएको बताएका छन्। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएपछि कप्तान यादवले यो जितलाई मे महिनामा दुई देशबिच भएको सीमा विवादको ‘सही जवाफ’ भएको बताएका थिए।
‘हाम्रो सरकार र बीसीसीआइले यो खेल खेल्ने निर्णयमा सहमति जनाएका थिए। हामी यहाँ खेल खेल्न आएका थियौं र हामीले उनीहरूलाई सही जवाफ दियौं,’ यादवले भने।
खेल सकिएपछि भारतीय कप्तान यादव आफ्नो ब्याटिङ पार्टनर शिभम दुबेसँगै मैदानबाट बाहिरिएका थिए। सामान्यतया खेलपछि दुवै टोलीका खेलाडीहरूले एक-आपसमा हात मिलाउने चलन भए पनि भारतीय टोलीका खेलाडीहरूले एक-आपसमा मात्रै हात मिलाए र सिधै ड्रेसिङ रुममा गए।
यता, पाकिस्तानी खेलाडीहरू भारतीय टोलीको प्रतीक्षामा रहे पनि उनीहरूले हात मिलाउन पाएनन्।
- भारतीय टोलीले किन हात मिलाएन?
भारतीय कप्तान यादवलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘जीवनमा केही कुराहरू खेल भावनाभन्दा माथि हुन्छन्। हामी पहलगाम आतंकवादी हमलाका सबै पीडित र उनीहरूका परिवारको साथमा छौं। यो जित हामी हाम्रा बहादुर सेनालाई समर्पित गर्दछौं, जसले ‘अपरेसन सिन्दूर’ मा भाग लिएका थिए।’
यादवको भनाइ अनुसार यो घटना अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदला हो, जसमा २६ जनाको ज्यान गएको थियो। भारतले यस हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो। यसै विवादका कारण दुई देशबीच हवाई हमला समेत भएको थियो।
- पाकिस्तानको प्रतिक्रिया
भारतीय टोलीले हात मिलाउन अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रबन्धक नवेद अक्रम चीमाले म्याच रेफ्री एन्डी पाइक्रफ्टसँग विरोध दर्ता गराएका छन्। पाकिस्तानका प्रशिक्षक माइक हेसनले भारतीय खेलाडीहरू हात नमिलाई नै ड्रेसिङ रुममा गएको पुष्टि गरेका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा पीसीबीका अध्यक्ष मोहसिन नकवीले पनि यस घटनामा निराशा व्यक्त गर्दै ‘खेलमा राजनीति मिसाउनु खेल भावनाको विरुद्ध हो’ भनेका छन्।
अब भारत र पाकिस्तानको खेल सुपर फोर चरणमा पनि हुन सक्ने सम्भावना छ। भारतले आफ्ना दुई खेल जितेर लगभग सुपर फोरमा स्थान बनाइसकेको छ भने पाकिस्तानले अर्को खेलमा यूएईलाई हराएमा दुवै टोलीबीच आइतबार दुबईमा पुनः प्रतिस्पर्धा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण