यसरी जोगिएको थियो आयल निगमको नयाँ भवन
सारांश
- जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले बबरमहलस्थित सडक विभागमा आगो लगाए, जसबाट ठूलो क्षति भयो।
- आन्दोलनकारीले नेपाल आयल निगमको भवनमा पनि क्षति पुर्याए, तर सुरक्षाकर्मीको प्रयासले भवन जोगियो।
- आन्दोलनका कारण इन्धन आपूर्तिमा केही समस्या आए पनि, निगमले चाडपर्वमा पर्याप्त इन्धन स्टक रहेको जनाएको छ।
काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बबरमहलस्थित सडक विभाग आगो लगाएर क्षणभरमै ध्वस्त पारे ।
आगजनीको पाँचौँ दिन आइतबार पनि विभाग वरपर फोटो खिच्नेको भिड थियो । कवाडी सङ्कलन गर्ने महिलाहरू आगोले जलेर बाँकी रहेका टुक्राटाक्री बटुल्दै गरेका थिए ।
_Hvl5UucuaO.jpg)
कालो कोट लगाएका कानुन व्यवसायीजस्ता देखिने एक व्यक्तिले ती महिलालाई त्यहाँका केही नटिप्न भनिरहेका थिए । त्यहीँ तस्बिर खिचिरहेका एक युवाले विभाग परिसर नियाल्दै भने, ‘मिसाइल हानेको भन्दा कम देखिएन ।’
विभागको माथिल्लो छेउमा रहेको महालेखा परीक्षकको कार्यालय बागमती र गण्डकी प्रदेश लेखापरीक्षण महानिर्देशनालय पनि पूर्ण रूपमा ध्वस्त छ । त्यसको अझ माथिपट्टि रहेको नेपाल आयल निगमको नयाँ भवन भने आगोको लप्काले भेट्टाउन सकेन । तर गेट भने सामान्य तोडफोड गरिएको छ ।
_o1YlhO0xgq.jpg)
‘निगमको भवन कसरी जोगिएछ ?’ मानिसहरू भन्दै ओहोरदोहोर गरिरहेका थिए । केही ‘धन्न राज्यको सम्पत्ति यति त बचेछ’ भन्दै थिए ।
करिब ९१ करोड रुपैयाँ लागतमा बनेको बबरमहलस्थित निगमको कर्पोरेट भवनलाई त्यहाँका सुरक्षा गार्ड र सवारी चालकले फायर फाइटर प्रयोग गरी जोगाएका निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।
‘यहाँको सेक्युरिटी र सवारी चालक गरी पाँच जना अफिसमै हुनुहुन्थ्यो । उहाँहरूले यो भवनलाई आगलागी हुनबाट जोगाउनुभएछ । उहाँहरू नभएको भए अहिले यो ध्वस्त हुने थियो ।’
_FnLCGEI9iR.jpg)
निगमका सुरक्षाकर्मी विक्रम पाण्डे, रणबहादुर चन्द, मणिराम चौधरी र दुई सवारी चालकले भवनलाई ठुलो क्षति हुनबाट त जोगाए । तर सीसीक्यामेरा तोडफोड तथा ४/५ थान कम्प्युटर र ल्यापटप भने चोरी भए ।

सोमबारबाट सुरु भएको जेनजी आन्दोलनले मंगलबार उग्र बनेको थियो । पाण्डेका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर सडक विभागमा आगजनी भएको थियो ।
त्यसपछि सहरी विकास तथा भवन निर्माण विभागमा पनि आगजनी र लुटपाटसमेत भयो । यसपछि निगमको गेटमा रहेको सीसीटीभी फुटाएपछि लुटपाट भएको पाण्डे सुनाउँछन् ।

केही आन्दोलनकारीले आफूहरूलाई ‘जिउँदै जलाइदिने’ धम्कीसमेत दिँदै टोपी खोसेर पोसाकसमेत खोल्न लगाएको पाण्डे बताउँछन् ।
‘हामी आफ्नो काम गरिरहेका थियौँ । एक महिला आएर मेरो टोपी खोसिन्, लगाएको ड्रेस खोल, नभए जिउँदै जलाउँछौँ भन्न थालिन्,’ पाण्डे त्यस दिनको पीडा सुनाउँछन्, ‘हामीले हात जोडेर हामी यहाँ काम गर्न आएका तपाईँहरू जस्तै हो, हामीलाई केही नगर्नुस् भनी हात जोड्यौँ, तर केही लागेन, ड्रेस खोलेर दियौँ ।’
विभागको आगो नियन्त्रण गर्न राति १२ देखि बिहान ३ बजेसम्म सुरक्षाकर्मीले काम गरेका थिए । चौथो तल्लाबाट फायर फाइटर प्रयोग गरी उनीहरूले आगो निभाएका थिए । निगमको भर्खरै बनेर उद्घाटनसमेत भइसकेको भवन जोगिनु ठुलो उपलब्धि भएको बताउँछन् ।
_oThjKBzkOa.jpg)
‘आयल निगमको सिंहदरबार बचाइयो, यो नै हामीलाई खुसी लागेको छ,’ उनले भने ।
मानिसलाई सम्झाउन सके देशको सम्पत्ति जोगाउन सकिने उनलाई लागेको छ । ‘वनको जनावरलाई त सम्झाउन सकिन्छ, मान्छेलाई सम्झाएर किन सम्झिँदैन भन्ने मलाई अहिले एकदम फिल भएको छ,’ पाण्डेले भने ।
अर्का सुरक्षा गार्ड मणिराम चौधरी पनि आफूहरूको अथक प्रयासले भवन जोगिएकोमा खुसी व्यक्त गर्छन् । साथै राज्यको करोडौँ लगानी जोगिएको उनी प्रफुल्ल छन् । भन्छन्, ‘सँगै जोडिएको महालेखाको अफिस जल्दा हाम्रो भवनलाई अलिकतिले भेटेको थिएन, त्यो समय दमकल बोलाउँदा पनि आउन सकेन । यसपछि हामी आफैँले निभायौँ ।’
_VOna3AI52Z.jpg)
- कति भयो क्षति ?
निगमको टेकुस्थित केन्द्रीय कार्यालय एक महिनाअघि मात्रै बबरमहलस्थित भवनमा सरेको छ, जसको उद्घाटनसमेत गरिएको छैन । १४ तलाको यो अत्याधुनिक भवनमा ९८ प्रतिशत काम सकिएको छ । यस भवनमा सामान्य क्षति भए पनि टेकुस्थित भवन भने पूर्ण रूपमा जलेर खरानी भएको निगमले जनाएको छ । निगमका प्रवक्ता ठाकुरका अनुसार टेकु, दाङ र स्थित कार्यालयहरूमा आगजनीले ठुलो क्षति पुगेको छ ।
टेकुमा रहेका चार वटा गाडी, फर्निचरजन्य सामग्री, दराज र महत्त्वपूर्ण कागजातहरू जलेका छन् । यस्तै, दाङ कार्यालयमा पनि कम्प्युटर, कार्यालय सामग्री (टेबल, कुर्ची, फर्निचर, कागजात) बाहिर निकालेर जलाइएको र त्यहाँको गाडीमा पनि क्षति पुगेको ठाकुरले बताए ।
बबरमहलस्थित नयाँ भवनमा आन्दोलनकारीहरूले हानेको ढुङ्गाले ग्राउन्ड फ्लोरमा क्षति पुगेको छ । ल्याब भ्यानमा पनि तोडफोड भएको छ । दर्ता चलानीमा रहेका कम्प्युटर र अन्य महत्त्वपूर्ण कागजातहरू समेत चोरी भएका ठाकुरले बताए । करिब ४/५ थान कम्प्युटर र ल्यापटप चोरी भएको तर क्षतिको पूर्ण विवरण सङ्कलन भई नसकेको ठाकुरको भनाइ छ ।
_4ml15XzxFz.jpg)
- कसरी भइरहेको सेवा प्रवाह ?
निगमबाट इन्धन आपूर्ति सहज र नियमित भइरहेको छ । आन्दोलनका बेला केही चुनौतीहरू देखिए पनि हाल इन्धनको स्टक पर्याप्त छ । आगामी चाडपर्वमा कुनै समस्या नहुने जनाइएको छ ।
आन्दोलनका सुरुका दिनहरूमा ढुवानीमा समस्या आएको भने ठाकुरले स्विकारे ।
जेलबाट भागेका कैदीहरू भारत छिर्न सक्ने आशङ्कामा सुरक्षा व्यवस्था कडा पारिँदा इन्धन लोड गरेर आएका बुलेटहरू सिमानामा रोकिएका थिए । साथै डिलरदेखि खुद्रा बिक्रेतासम्मको आपूर्ति शृङ्खलामा केही समस्यासमेत आएको थियो ।
यद्यपि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गरेपछि स्थिति सामान्य भएको र इन्धनका गाडीहरू सहज रूपमा आवतजावत गर्न थालेका छन् । ठाकुरका अनुसार हाल निगमसँग इन्धन मौज्दात पर्याप्त छ । चाडपर्व नजिकिँदै गर्दा मागभन्दा बढी आपूर्ति भइरहँदा पनि समस्या नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण