बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियाको तटीय क्षेत्रका १५ लाख मानिस खतरामा

सोमबार, ३० भदौ २०८२, १३ : ३३
सोमबार, ३० भदौ २०८२

सारांश

  • अस्ट्रेलियाको एक जलवायु प्रतिवेदन अनुसार, २०५० सम्ममा तटीय क्षेत्रमा बस्ने १५ लाख मानिस खतरामा पर्नेछन्।
  • जलवायु परिवर्तनका कारण बाढी, चक्रवात, हिटवेभ, खडेरी र डढेलो जस्ता प्रकोप बढ्ने अनुमान छ।
  • तापमान वृद्धिले हिटवेभका कारण सिड्नी र मेलबर्नमा मृत्युदर बढ्ने सम्भावना रहेको छ।

क्यानबेरा । समुद्री सतह बढ्दै जाँदा २०५० सम्ममा अस्ट्रेलियामा तटीय क्षेत्रहरूमा बसोबास गर्ने करिब १५ लाख मानिसहरू खतरामा पर्ने अनुमान अस्ट्रेलियाको एउटा जलवायु प्रतिवेदनले गरेको छ । यो अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन हो । 

बाढी, चक्रवात, हिटवेभ, खडेरी र वनमा डढेलो जस्ता जलवायुसँग सम्बन्धित प्रकोपहरू बढ्ने अनि आगामी वर्षहरूमा अवस्था झनै गम्भीर हुने अनुमान यो प्रतिवेदनले गरेको छ । 

‘अस्ट्रेलियाका मानिसहरूले पहिले नै जलवायु परिवर्तनको असरलाई झेलिरहेका थिए, तर यो कुरा विल्कुल स्पष्ट छ कि हामीले अहिले जति धेरै गर्मीलाई रोक्न सक्छौँ, भावी पुस्ता त्यति नै ठुला सङ्कटहरूबाट बच्न सक्नेछन्’ जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भनेका छन् । 

विश्वव्यापी तापमान वृद्धिको सन्दर्भमा अस्ट्रेलिया पहिले नै १ दशमलव ५ डिग्रीभन्दा माथि पुगेको प्रतिवेदनले भनेको छ । तापक्रम ३ डिग्रीले बढेमा सिड्नीमा हिटवेभका कारण मृत्यु ४०० प्रतिशतसम्म बढ्ने सक्ने प्रतिवेदनले भनेको छ । 

मेलबर्नमा गर्मीका कारण मृत्यु लगभग तीन गुणा बढी हुन सक्ने भनिएको छ । जलवायु परिवर्तनको जोखिमबाट अस्ट्रेलियाको कुनै पनि समुदाय मुक्त नहुने पनि प्रतिवेदनले बताएको छ ।

हिटवेभका कारण हुने मृत्यु बढ्ने, बाढी र आगलागीले पानीको गुणस्तर कमजोर हुने र सम्पत्तिको मूल्य घट्न सक्ने चेतावनी पनि यसमा दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप