बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

जेनजी आन्दोलनले खेलकुदमा प्रभाव: अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, राष्ट्रिय प्रतियोगिता अलमलमा

मङ्गलबार, ३१ भदौ २०८२, ०७ : ३१
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • नेपालमा भएको आन्दोलनका कारण खेलकुद क्षेत्र प्रभावित भएको छ, जसमा धेरै खेलहरू स्थगित भएका छन्।
  • दशरथ रंगशालामा हुने नेपाल र बङ्गलादेशबीचको खेल र यू-१६ युथ लिग लगायतका प्रतियोगिताहरू स्थगित भएका छन्।
  • राष्ट्रिय टिमको नियमित तयारी र आगामी एनपीएलको तयारीमा पनि असर परेको छ, तर अवस्था सामान्य भएपछि प्रशिक्षण सुरु हुनेछ।

काठमाडौँ । नेपालमा भएको जेनजीको आन्दोलनको प्रभाव खेलकुद क्षेत्रमा पनि धेरै देखिएको छ । आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुपर्‍यो ।

खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल सङ्घहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एसियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । 

स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्‍याउन आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो ।

अब कहिले हुन्छ भने अन्योलपूर्ण नै छ । आयोजकले प्रतियोगिता तत्काल हुन नसकेपनि बाँकी रहेका ७ खेलहरू गर्ने योजना भएको बताएको छ । आन्दोलनका कारण दशरथ रङ्गशालामा आयोजना भएको नेपाल र बङ्गलादेशबिचको खेलकुद प्रतियोगिता स्थगित भयो ।  

नेपालले २१ गते बङ्गलादेशसँग प्रतियोगिता खेल्दा त्यसपछि २४ गते हुने भनेको दोस्रो मैत्रीपूर्ण खेल भने स्थगित भयो । एन्फाले आयोजना गरेको यू–१६ युथ लिग पनि स्थगित भएको छ । त्यस्तै एन्फा महिला फुटबल लिग छनोट पनि स्थगित भएको छ । 

नेपाल प्रिमियर लिग (एनपिएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठुला आधारहरू हुन् । तर, देशको राजनीति अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न सक्ने अवस्था छैन । 

अब यो प्रतियोगिताहरू स्थगित गर्ने या पुरानै समयमा सञ्चालन गर्ने भन्ने विषयमा कुनै धारण बनेको छैन । आयोजकहरू पनि यस्ता प्रतियोगिता गर्न सोच्दैछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः  त्यसलाई पनि असर पर्न सक्नेछ । यसबिच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । 

फ्रेन्चाइज टोलीमा व्यावसायिक घरना रहेको र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठुलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने उल्लेख गरे । 

‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी ट्वान्टी विश्वकप छनोटका वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’लामाले भने । 

NPL TROPHY

एनपीएल भने केही समय पछि धकेलिन सक्ने सम्भावना पक्कै छ । ठुलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।

काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिवार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल सङ्घले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको छ ।

CAVA

केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औं एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थिए । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्थामा सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए ।

‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनु हुन्छ । अवस्थामा सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’विष्टले भने, ‘छिटै मिसन २६ को तयारीमा सुरु गर्छौं ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति  व्यहोर्नुपरेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साह गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई पछिल्लो घटनाले ठुलो क्षति पुर्‍याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।

त्यस्तै नेपालमा आयोजना हुने भनेको नेपाल र बङ्गलादेशबिचको हक्की प्रतियोगिता पनि स्थगित भएको छ । दोस्रो संस्करणको ‘नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज’ स्थगित भएको छ ।

HOCKEY

नेपाल रग्बी संघको आयोजनामा भदौ ३० र ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय थियो । सङ्घले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ । सिरिजमा भदौ ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो ।

दृष्टिविहीन महिलाहरूको पहिलो टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रभावित पनि स्थगित भयो । सुरुमा पाकिस्तानका खेलहरू आयोजना गर्न काठमाडौँलाई तटस्थ स्थलको रूपमा चयन गरिएको भए पनि, हिंसा र अस्थिरताका कारण आयोजकहरू वैकल्पिक स्थानको खोजीमा लागेका छन् ।

प्रतियोगिता नोभेम्बर ११ देखि २५ सम्म चल्नेछ, जसमा अस्ट्रेलिया, इङ्गल्यान्ड, भारत, नेपाल, पाकिस्तान, श्रीलङ्का र अमेरिका गरी सात राष्ट्रका टोलीहरू सहभागी हुनेछन् ।

मुख्य खेलहरू नयाँ दिल्ली र बेङ्गलोरमा आयोजना हुनेछन्, तर भारत र पाकिस्तानबिचको राजनीतिक संवेदनशीलताका कारण पाकिस्तानका खेलहरू सुरुमा काठमाडौँमा खेलाउने योजना थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप