कोराला नाका सञ्चालनले व्यवसायी उत्साही
सारांश
- मुस्ताङको कोरला नाकाबाट चीनसँगको व्यापार सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको अवसर सिर्जना भएको छ।
- तातोपानी र रसुवा नाका बन्द भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट चिनियाँ सामग्री आयात/निर्यात गर्न थालेका छन्।
- दसैँका लागि चीनबाट आएका सामग्री बोकेका कन्टेनरहरू कोरला नाका आइपुगेका छन्, जसले उद्योगी र व्यापारीलाई राहत दिएको छ।
म्याग्दी। मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् ।
तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रूपमा सञ्चालन हुन थालेको हो ।
भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
बेनी, जोमसोम हुँदै कोराला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए । “कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ”, उनले भने, “गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”
कोराला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरालामा आएका बताए ।
समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् ।
नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ ।
रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैँको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण