देशलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक, अलमलमा परराष्ट्र मन्त्रालय
सारांश
- भदौ २३ र २४ गतेको आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बनिन्, जसलाई विभिन्न देशले बधाई दिएका छन्।
- आन्दोलनले सरकारी भवन र न्यायालयमा क्षति पुर्याएको छ, जसले गर्दा अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ तर समन्वय हुन सकेको छैन।
- पूर्वराजदूतहरूले छिमेकी लगायत मित्र राष्ट्रहरूसँगको सम्बन्ध बिगार्न नहुने र अन्तर्राष्ट्रिय सहयोगको लागि समन्वय आवश्यक रहेको बताए।
काठमाडौँ । भदौ २३ र २४ गते भएका आन्दोलनले राजनीतिक रूपमा ठुलै परिवर्तन ल्यायो । आन्दोलनपछि देशले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई पाइसकेको छ । कार्कीलाई विश्वका विभिन्न देशले शुभकामना तथा बधाई दिने क्रम जारी छ ।
यतिबेला सिंहदरबारदेखि देशका सरकारी भवन र न्यायालयहरूसमेत क्षतिग्रस्त अवस्थामा छन् । यस्तोमा अब नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको निकै ठुलो खाँचो छ, तर यसप्रति कतैबाट समन्वय भने भइसकेको छैन । मन्त्रिपरिषद्ले समेत पूर्णता पाएको पनि छैन । परराष्ट्रमन्त्री नभएकाले परराष्ट्र मन्त्रालय नै अलमलमा छ ।
परराष्ट्रका एक अधिकारी भन्छन्, ‘यो बेला नै मन्त्रालय सशक्त हुनुपर्ने हो, विश्वसँग समन्वय गरेर हरेक प्रकारको सहयोग ल्याउनुपर्ने हो, तर अहिले हामी नै अलमलमा छौँ ।’
विगतजस्तो सामान्य अवस्था भएको भए मन्त्री नहुँदा काम गर्न त्यति गाह्रो नहुने उनी बताउँछन् । ‘अहिले परिस्थिति पूरै परिवर्तन भएको छ, कसरी अगाडि बढ्ने, कहाँ र कोसँग समन्वय गर्ने नै अन्योल देखिएको छ,’ ती कर्मचारी बताउँछन् ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि कार्कीसँगै भएकाले हरेक कुरामा समन्वय गर्न प्रधानमन्त्री कार्यालय गइरहन पनि नसकिने ती कर्मचारीको भनाइ छ । ‘आन्दोलनबाट जुन परिवर्तन आएको छ, यस्तो अवस्थामा काम गर्न अन्योल छ, त्यसका लागि मन्त्री भइदिए सजिलो हुन्थ्यो ।’ उनले जतिसक्दो परराष्ट्रमन्त्री नियुक्त गर्न आवश्यक भएको बताए । यद्यपि आइपरेका काम भने मन्त्रालयबाट समन्वय भइरहेका उनले जानकारी दिए ।
पूर्वराजदूत नीलाम्बर आचार्य यस्तो बेला मित्रराष्ट्रलगायत देशहरूको सहयोग चाहिने भएकाले सोहीअनुसार बाटो निर्धारण गर्नुपर्ने बताउँछन् । ‘सङ्कटकै बेला छिमेकी काम लाग्छ, हरेक प्रकारको सहयोग चाहिन्छ, त्यसका लागि समन्वय आवश्यक छ,’ आचार्य भन्छन्, ‘कठिनाइका बेला सहयोग गरे भने हामी आभारी हुनुपर्छ तर त्यसको गलत फाइदा नलियोस्, त्यसबाट पनि सचेत रहनुपर्छ ।’

नेपाल यतिबेला विश्वकै सहयोग चाहिने भएकाले सम्बन्ध बिगार्न विभिन्न तत्त्वहरू आउन सक्ने भएकाले कसैसँग सम्बन्ध नबिगार्न उनले सुझाव पनि दिएका छन् ।
‘पहिलो, दुईटा कुरा यताउति हुँदैमा छिमेकी देशसँग सम्बन्ध बिग्रिन दिनु हुँदैन, त्यसमा सचेत रहनुपर्छ । अहिले अन्तर्राष्ट्रिय मामिलामा नेपाल सचेत भएर हिँड्नुपर्ने अवस्था छ,’ आचार्यले सुझाए ।
उनले थपे, ‘नेपालमा अब आर्थिक सङ्कट देखिएको छ, यही बेला चुनाव घोषणा भएको छ । चुनाव गराउन अर्बौँ रुपैयाँ चाहिन्छ । जब कि नेपाल उठ्न नसक्ने गरी विध्वंस भएको छ । यो अवस्थामा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ नै ।’
_5Bw2RkvJT3.jpg)
त्यसैगरी अर्का पूर्वराजदूत विजयकान्त कर्ण अन्तर्राष्ट्रिय सहयोगबिना देशलाई उठाउन गाह्रो हुने बताउँछन् । ‘राष्ट्रवादी कुरा गरेर मात्र हुँदैन, अहिले देशमा जुन खालको क्षति भएको छ, त्यसका लागि विश्वबाट राजनीतिक, नैतिक र आर्थिक सहयोग चाहिन्छ नै ।’
त्यसका लागि सरकारले समन्वय गर्नुपर्ने र सङ्कट कसरी निवारण गर्ने भिजन भएको मन्त्री चाहिने उनी तर्क गर्छन् । प्रधानमन्त्री कार्कीले चाँडै अन्तर्राष्ट्रिय जगतलाई सम्बोधन गरेर सहयोगको अपिल गर्नुपर्ने सुझाव दिए ।
यसैबिच प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी सहयोग माग्ने विषय बाहिरिएको छ । कार्कीले अन्य देशसँग पनि यसैगरी समन्वय खोजी गरिनुपर्ने जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण