बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण
सारांश
- बेलायतमा अगस्टमा मुद्रास्फीति स्थिर रहँदा ब्याजदर यथावत् रहने संकेत मिलेको छ।
- बेलायतमा बेरोजगारी दर ४.७ प्रतिशत पुगेको छ भने सरकारले आर्थिक वृद्धि हासिल गर्न कठिनाइ महसुस गरेको छ।
- केन्द्रीय बैंकले सेप्टेम्बरमा मुद्रास्फीति ४ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ र लगानीकर्ताहरूले थप दबाबको कुरा गरेका छन्।
लन्डन । बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसले बेलायतको केन्द्रीय बैङ्कले ब्याजदर हाललाई यथावत् राख्ने अपेक्षालाई बल दिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, उपभोक्ता मूल्य सूचकाङ्क अगस्टमा ३.८ प्रतिशतमा कायम रह्यो, जुन जुलाईमा पनि यति नै थियो । यो दर विश्लेषकहरूले गरेका अनुमानसँग मिल्दोजुल्दो छ ।
केन्द्रीय बैङ्कले अघिल्लो महिना ब्याजदर घटाएर ४ प्रतिशतमा ल्याएको थियो, जुन अढाई वर्षयताकै न्यून स्तर हो । तर, यो साता हुने बैठकमा भने ब्याजदरमा फेरबदल नहुने सम्भावना देखिएको छ, साथै सन् २०२५ को बाँकी अवधिमा पनि यसै अवस्थामा रहन सक्ने अनुमान गरिएको छ ।
यसैबिच, सरकारले गत साता सार्वजनिक गरेको आर्थिक विवरणले जुलाई महिनामा देशको आर्थिक वृद्धि स्थिर रहेको देखाएको छ । यो अवस्थाले प्रधानमन्त्री कियर स्टारमर नेतृत्वको सरकारलाई थप चुनौती दिएको बताइएको छ ।
अर्को तथ्याङ्क अनुसार, बेलायतमा बेरोजगारी दर चार वर्षयताकै उच्च ४.७ प्रतिशतमा कायम रहेको छ ।
यद्यपि जुलाई महिनाको कुल गार्हस्थ उत्पादन (जीडीपी) पूर्वानुमानअनुसार आएको थियो, सरकारले आर्थिक वृद्धि हासिल गर्न केही कठिनाइहरू रहेको स्वीकार गरेको छ । आगामी नोभेम्बरमा बजेट घोषणा हुने पृष्ठभूमिमा यो विषयलाई गम्भीरतापूर्वक हेरिएको छ ।
केन्द्रीय बैङ्कले सेप्टेम्बर महिनामा मुद्रास्फीति ४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको छ, जुन त्यसको दुई प्रतिशतको लक्ष्यको दोब्बर हो ।
“आजको तथ्याङ्कले अहिलेको जस्तो उच्च ब्याजदर अवस्था अझै केही समय रहन सक्ने देखाउँछ,” सम्पत्ति व्यवस्थापन कम्पनी क्विल्टरकी लगानी विश्लेषक लिण्डसे जेम्सले टिप्पणी गरे ।
उनले थपे, “यसले दैनिक जीवनमा खर्च वृद्धि भोगिरहेका परिवारहरू र घट्दो मागसँग जुझिरहेका व्यवसायहरूमा थप दबाब सिर्जना गर्न सक्छ ।”
तथ्याङ्क कार्यालयले हवाई भाडा अगस्टमा केही घटेको जनाएको छ, तर पेट्रोल, डिजेल तथा खाद्यान्न वस्तुहरूको मूल्यमा भने केही वृद्धि भएको देखिएको छ ।
बेलायतकी अर्थ मन्त्री रेचेल रिभ्सले सार्वजनिक खर्चमा कडाइ गर्ने प्रतिबद्धता दोहोर्याउँदै भने, “म जान्दछु कि अहिलेको आर्थिक अवस्था धेरै परिवारका लागि कठिन छ र धेरैलाई अर्थतन्त्र अड्किएको जस्तो महसुस भइरहेको छ ।”
पछिल्ला केही महिनामा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको विश्लेषण भइरहेका बेला, केही अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले बेलायतमा लगानी गर्ने घोषणा गरेका छन् । हालै बेलायतको भ्रमणमा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै माइक्रोसफ्ट र गुगल जस्ता प्रतिष्ठित कम्पनीहरूले लगानीको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण