१२ बजे १२ समाचार: चुनावको पक्षमा खुल्यो माओवादी, फेरिए काठमाडौँ प्रहरी प्रमुख
सारांश
- काठमाडौं प्रहरीको प्रमुखमा एसएसपी रमेश थापालाई नियुक्त गरिएको छ।
- माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन समयमै हुनुपर्नेमा जोड दिँदै अस्थिरताबाट जोगाउनुपर्ने बताए।
- देउवा निवासमा पैसाको सुरूङ भएको हल्लाबारे सचिवालयले विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. काठमाडौँमा प्रहरीको नयाँ नेतृत्व
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौँको सुरक्षा नेतृत्व दिएर पठाइएको हो ।
२. चुनावको पक्षमा खुल्यो माओवादी
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। उनले बिहीबार एक भिडियो वक्तव्यमार्फत लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताएका हुन् ।
३. बोल्यो देउवा सचिवालय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूप्रति ध्यानाकर्षण भएको बताए । देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग नभएको समेत स्पष्ट पारिएको छ ।
४. डेरामा ओली
निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटार छाडेका थिए । त्यसयता उनी शिवपुरीमा सेनाको सुरक्षामा बस्दै आएका थिए । अहिले ओली डेरामा बस्न थालेका छन् । उनको घर जेनजी आन्दोलनकारीले जलाइदिएका थिए ।
५. वैदेशिक रोजगार
वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मलेसिया र यूएईले गरेका निर्णयले हलचल उत्पन्न भएको छ ।
६. चुपचाप बालेन
काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि राजनीतिक दल वा व्यक्तिहरूले सार्वजनिक कार्यक्रम गरेपछि फोहोर गरेको भन्दै महानगरपालिकाले पत्र काट्थ्यो । सार्वजनिक सम्पत्तिहरूमा असर पुर्याइएको कारण देखाउँदै जरिवाना तिराउँथ्यो ।
तर जेनजी आन्दोलनका क्रममा महानगरमा करोडौं क्षति र फोहोर हुँदा मेयर बालेन शाह चुपचाप छन् ।
भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्याएको छ ।
देशभरका ५३ प्रतिशत नगरपालिकाहरू कुनै न कुनै प्रकारले क्षति भएका प्रारम्भिक विवरण संकलन गरिएको तथ्यांकमा उल्लेख छ । आन्दोलनका कारण देशभरका १४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको यस्तो तथ्यांकमा देशभरका १७ वटा नगरपालिका भने समावेश छैनन् ।
७. टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
८. राष्ट्रपतिको भनाइ
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएकाले राजनीतिक दललगायत सरोकारवालाहरुलाई फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन र संविधान जोगाउने काममा अग्रसर हुन सन्देश दिएका छन् ।
९. सेयर बजार
बिहीबारको सेयर बजार समय नसकिँदै बन्द भयो । जेनजी आन्दोलनसँगै भएको विध्वंस र त्यसपछि भएको सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।
१०. श्रृङ्खलाले तोडिन् मौनता
पूर्व मिस नेपाल शृङ्खला खतिवडाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग जोडिएका आरोपहरूमा आफूले भोग्नुपरेको अनुभव र वास्तविकता सार्वजनिक गरेकी छन्।
११. रास्वपा निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
याे पनि...
१२. क्यालेन्डरमै सीमित एन्फाका फुटबल प्रतियोगिता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वैशाख २६ गते धुलिखेलमा वार्षिक क्यालेन्डर पारित गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यस आर्थिक वर्षलाई फुटबलमय बनाउने भन्दै भाषण गरे । तर एन्फा सचिवालयले निकालेको क्यालेन्डर अनुसार हालसम्म खासै प्रतियोगिता भएका छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण