बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

क्यालेन्डरमै सीमित एन्फाका फुटबल प्रतियोगिता

बिहीबार, ०२ असोज २०८२, १६ : ३०
बिहीबार, ०२ असोज २०८२

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले वैशाखमा पारित गरेको क्यालेन्डर अनुसार फुटबल प्रतियोगिताहरू हुन सकेका छैनन्।
  • जेनजी आन्दोलनका कारण यू-१६ फुटबल प्रतियोगिता स्थगित भयो भने ए डिभिजन लिग पनि रोकिएको छ।
  • एन्फाले यू-१४, यू-१७ पुरुष र महिलाको इन्टर स्कुल फुटबल प्रतियोगिता र फुटसल लिग क्वालिफायर्स पनि स्थगित गर्यो।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वैशाख २६ गते धुलिखेलमा वार्षिक क्यालेन्डर पारित गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले यस आर्थिक वर्षलाई फुटबलमय बनाउने भन्दै भाषण गरे । तर एन्फा सचिवालयले निकालेको क्यालेन्डर अनुसार हालसम्म खासै प्रतियोगिता भएका छैनन् । 

साधारणसभामा क्यालेन्डर पारित गर्नुको मुख्य उद्देश्य नेपाली फुटबल चलायमान भएको देखाउनु थियो । तर फुटबल प्रतियोगिताहरु नभएको लामै समय भइसक्यो । 

तत्कालका लाग जेनजी आन्दोलनपछिको परिस्थितिले केही फुटबल गतिविधि नहोलान् । जेनजी आन्दोलनका कारण यू–१६ फुटबल प्रतियोगिता एन्फाले स्थगित गरिसकेको छ । लामो समयपछि हुन लागेको ए डिभिजन लिग पनि रोकिएको छ । 

एन्फाको क्यालेन्डर अनुसार राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म गर्ने तय छ । तर त्यसअघि एन्फाले आफ्नै अध्यक्षको नाममा हुने भनिएको लिग पनि गर्न सकेन । 

वैशाख २६ गते सम्पन्न साधारणसभाले जेठ ५ गते एन्फा प्रेसिडेन्ट लिग आयोजना गर्ने तालिका राखेको थियो । जुन तालिका साधारणसभा सकिएको मात्र १० दिनभित्र आयोजना गर्ने योजना थियो । जेठ ५ देखि २४ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको एन्फाले कुनै तयारी गरेको थिएन । यो लिग नहुँदा एन्फाले आयोजना गर्ने भएको राष्ट्रिय लिग पनि अलपत्र पर्न गयो । 

त्यस्तै एन्फा यू–१६ र यू–१८ लिग साउनदेखि कात्तिकसम्म गर्ने योजना बनाएको थियो । यू–१६ लिग स्थगित गरेको एन्फाले अब यू–१८ लिग पनि स्थगित गर्ने मनसाय बनाएको छ । 

त्यस्तै एन्फाले यू–१४, यू–१७ पुरुष र महिलाको इन्टर स्कुल फुटबल प्रतियोगिताको लागि वैशाख १० देखि जेठ १० गतेसम्म प्रतियोगिताको मिति राखिएको थियो । उक्त प्रतियोगिता एन्फाले स्थगित नै गर्न पुग्यो । 

यति मात्र होइन, एन्फाले गत अप्रिल २७ देखि १५ मे सम्म फुटसल लिग क्वालिफायर्स (पहिलो राउन्ड) आयोजना हुने भनेको थियो । उक्त प्रतियोगिता पनि स्थगित गरेको थियो । त्यसपछि अप्रिल २७ मेदेखि ५ जुनसम्म फुटसल लिगको दोस्रो राउन्डको क्वालिफायर गर्ने योजना बनाएको थियो । उक्त प्रतियोगिता पनि क्यालेन्डरमा मात्र सीमित भयो ।

एन्फाले नै सुरु गर्ने भनेको अर्को प्रतियोगिता सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट जेठ १८ देखि साउन १६ सम्म हुने तालिका थियो । उक्त प्रतियोगिता पनि एन्फाले स्थगित गरेको छ । जबकि प्रतियोतिगाका लागि टिमहरू तयारी अवस्थामा थिए । 

एन्फाले आफ्नो क्यालेन्डरमा फ्रेन्चाइजी लिग नेपाल सुपर लिग, ए डिभिजन लिग र महिला फ्रेन्चाइज लिग गर्ने योजना बनाएको छ । क्यालेन्डर अनुसार नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, एएफसी एसिया कप छनोट प्रतियोगिता खेल्नेछ । 

यता साफ यू–१९ च्याम्पियनसिप, साफ यू–१७ च्याम्पियनसिप, एएफसी यू–२३ एसियन कप प्रतियोगिताहरूमा भने सहभागिता जनाइसकेको छ । हाल नेपाली यू–१७ टोली साफ फुटबल च्याम्पियनसिपका लागि श्रीलंकामा छ । यता महिला टोलीको हकमा एसिया कप छनोट प्रतियोगिता क्यालेन्डरमा राखेको थियो । उक्त प्रतियोगिता भने नेपालले खेलिसकेको छ । नेपाल छनोट भने हुन सकेन । 

महिला साफ यू–२० च्याम्पियनसिप, यू–२० एएफसी एसिया कप छनोट र साफ यू–१७ च्याम्पियनसिपमा नेपालले यो प्रतियोगिता सहभागिता जनाइसकेको छ । एन्फाले आयोजना गर्ने महिला लिग भने स्थगित गरेको छ । जेनजी आन्दोलनको असरले प्रतियोगिता स्थगित गरिएको जनाइएको छ । 

एन्फाको क्यालेन्डर अनुसार सी डिभिजन लिग पुस ६ देखि फागुन २५ सम्म हुनेछ । सहिद स्मारक बी डिभिजन लिग २०८२ फागुन २० देखि २०८३ वैशाख ३१ सम्म आयोजना गर्ने प्लान बनाएको छ । 

तर क्यालेन्डरमा भएका प्रतियोगितामध्ये एन्फा युथ यू–१६ प्रतियोगिता र महिला लिग छनोट प्रतियोगिता बाहेकका घरेलु प्रतियोगिता एन्फाले हालसम्म गर्न सकेको छैन । 
एन्फाले पुस ९ गतेबाट आयोजना गर्ने भनेको ए डिभिजन लिग फुटबलको पनि मिति सर्ने सम्भावना देखाएको छ । जसको पछिल्लो उदाहरण हो, एन्फाले ए डिभिजन लिग क्लबसँग राखेको बैठक स्थगित गर्नु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप