जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो
सारांश
- जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको आगमन घटेको छ, विशेष गरी भारतीय पर्यटकको संख्यामा कमी आएको छ।
- गत वर्षको तुलनामा सेप्टेम्बर महिनामा पर्यटकको सङ्ख्या झण्डै आधाले घटेको अनुमान छ, तर अहिले जनजीवन सामान्य भइसकेको छ।
- ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश फैलाएर पर्यटनलाई पुन: लयमा फर्काउनुपर्ने बताएको छ।
गण्डकी। जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए।
जेनजी प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको छ ।
“सार्क क्षेत्रभित्र भारतीय पर्यटकको सङ्ख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन केही प्रभावित बनेको छ”, प्रमुख डा कडरियाले भने, “गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ ।” गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।
यस वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार ५४९ र अन्य देशका चार हजार ४५० पर्यटक छन् । मुख्य पर्यटकीययाम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पर्यटक आगमन प्रभावित भएको प्रमुख डा कडरियाले बताए ।
“अहिले जनजीवन सामान्य भइसकेको छ, अन्नपूर्ण क्षेत्रका कुनै पनि गन्तव्यमा कुनै क्षति पुगेको छैन”, उनले भने, “शान्त र सुरक्षित वातावरणमा अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न सकिन्छ, पदयात्राका लागि यो याम उत्तम मानिन्छ ।”
पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य मानिन्छ । दसैँ, तिहार जस्ता ठुला चाडबाड यहीँ बेला पर्ने भएकाले मानिस घुमफिरको योजना बनाइरहेका हुन्छन् । नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुनः पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
“अन्योलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक पनि आउन डराइरहेका छन्, कतिले बुकिङ रद्ध गरेका छन्”, उनले भने । विदेशी पर्यटकलाई सुरक्षित तवरले गन्तव्य स्थलसम्म पुर्याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको अध्यक्ष आचार्यले बताए ।
गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण