अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो : दसैँका सामान बोकेका कन्टेनर अलपत्र
सारांश
- अरनिको राजमार्गमा पहिरो जाँदा तातोपानी नाका अवरुद्ध हुँदा दसैँका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्।
- सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी भइसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।
- सडक विभागले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोल्ने र दीर्घकालीन समाधान खोज्ने जनाएको छ।
काठमाडौँ । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दसैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोकेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् ।
सडक अवरुद्ध भएको ५० दिनभन्दा बढी समय भएपछि सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र समेत बुझाइसकेका छन् । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत निर्देशन दिएका छन् ।
निर्देशन पछि सडक विभागका अधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोल्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले बताए । राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उनले बताए ।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको समेत बताए । दुई–तीनभित्र सडक खोल्न सके काठमाडौँ आसपास सामान पुर्याउन सकिने उनको भनाइ छ । उनले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढी खर्च भएको गुनासो गरे । उनले उक्त सडक खण्ड पटक–पटक अवरुद्ध हुने गरेकाले दीर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए ।
सडक विभागका महानिर्देशक डा.विजय जैसीले सडक खुलाउने विषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिया पक्षसँग पनि परामर्श गर्दै उक्त सडक खण्डलाई दीर्घकालीन सोचका साथ निर्माण गरिने उल्लेख गरे ।
दसैँ लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउँ समेत जोखिममा परेका छन् । स्थानीयहरूले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण