मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाबालिगमाथि बलात्कार प्रयास, २५ पटक उठबस गराएर पीडकलाई उन्मुक्ति

शनिबार, ०४ असोज २०८२, १८ : २४
शनिबार, ०४ असोज २०८२

पोखरा । पोखरामा एक नाबालिगमाथि बलात्कार प्रयास भएको छ ।

पोखरा महानगरपालिका-२९ मा भएको यो घटनालाई वडाले उठबस गरेर मिलापत्र गराएको पाइएको छ । आरोपीलाई २५ पटक उठबस गराएर छाडिएको वडाकै एक जनप्रतिनिधिले बताए । ‘जबरजस्तीकरणीको मुद्दा आकर्षित हुने घटना हो, वडाध्यक्षज्यूले कानूनी उपचार खोज्न भनेनन्,’ ती जनप्रतिनिधि भन्छन्, ‘उठबस गराएर आरोपीलाई छोडिएको छ । सामान्य मिलापत्रको कागज बनाइएको छ ।’ 

बुधबार बिहान ३० वर्षका सुमन भण्डारीले जाली लगाएको झ्यालबाट पसेर नाबालिग (१३-१४ वर्षकी) सुतिरहेको अवस्थामा बलात्कार प्रयास गरेका परिवारको आरोप छ । बालिका चिच्याएपछि मादक पदार्थले लठ्ठिएका भण्डारी भागेका थिए । बालिकाको परिवारले भोलिपल्ट (बिहीबार) स्थानीय प्रगति टोल विकास संस्थामा खबर पुर्‍याएका थिए । टोल विकास संस्थाले पनि युवकलाई माफी मगाएर छोडेको थियो । 

माफी मगाएको र मिलापत्र गरेबारे वडाले समेत अपनत्व लिनुपर्ने माग पीडित पक्षले राखे । त्यसपछि टोल विकास समितिसहित उनीहरू वडामा पुगे । वडाध्यक्ष श्रीप्रसाद गुरुङले बिहीबार दिउँसो टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, आरोपित युवक र पीडित परिवारलाई राखेर छलफल गराए । छलफलपछि आरोपीलाई २५ पल्ट उठबस र पीडित बालिकाको खुट्टा ढोग्न लगाएर मिलापत्र गराइएको थियो । 

१० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणीसम्बन्धी कसुर गरे पीडकलाई १८ देखि २० वर्षसम्म कैदको कानुनी व्यवस्था छ । करणीसम्बन्धी उद्योगमा भने त्यसको आधा सजाय हुन्छ । यस्ता घटनामा मिलापत्र हुन नहुने व्यवस्था पनि कानुनमा छ । पोखरा महानगरका न्यायिक समिति सदस्यसमेत रहेका सोही वडाका सदस्य कालिदास पोखरेल उक्त घटनाको पूरा विवरण आफूलाई थाहा नभएको तर जघन्य घटनामा कानुनी कारबाही हुनुपर्ने बताउँछन् । 

‘बुझ्दै जाँदा पीडित परिवारले नै घटना बाहिर नल्याइदिनुभन्नुभएको रहेछ । टोल र वडामा सोहीअनुसार सहमति भएको रहेछ,’ उनले भने, ‘अहिले मिडियामा सबै घटना आइरहेको छ । यो कानुन आकर्षित हुने घटना हो ।’

प्रहरीमा जाहेरी दिनुपर्ने घटना वडाले मिलापत्र गर्न मिल्दैन । वडाध्यक्ष श्रीप्रसाद गुरुङचाहिँ बलात्कार नै भइसकेको घटना नभएकोले पीडित परिवारकै आग्रहमा मिलापत्र गरिएको बताउँछन् । ‘मैले जबर्जस्ती मिल्नुपर्छ भनेको होइन, कुनै करकापले गरिएको मिलापत्र होइन,’ उनले भने, ‘यो जनप्रतिनिधि नै अपजसे काम रहेछ । मिलाएन भने मिलाउन सकेनस् भन्छन्, मिलायो भने यस्तो बखेडा झिक्छन् ।’ 

पीडित परिवारलाई पटक-पटक सोधेर उनीहरूकै सहमतिमा मिलापत्र गरिएको उनले दाबी गरे । ‘पहिला टोल विकासमा बसेर छलफल भएछ, टोल विकासको लेटरप्याडमा मिलापत्र गरिएछ । अलि चित्तबुझ्दो भएन, वडाले हेर्दिनुपर्नेभयो भनेर आउनुभयो,’ उनले अघि भने, ‘मैले सोचेर निर्णय लिनुस् भनेको हुँ । पीडित पक्षले नै मिलापत्र गरिदिनुस् भनेपछि निर्णय लेख्न बाध्य भएको हुँ । मिलापत्र गर्दैमा कानुनी प्रक्रिया रोकिने भन्ने छैन । कानुनी कारबाहीका लागि जान मिल्छ ।’

भण्डारीलाई पीडितको मागअनुसार खुट्टा ढोगेर माफी मगाइएको र वडाको तर्फबाट थप २५ पल्ट उठबसको कारबाही गरिएको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप