शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, ०७ असोज २०८२, १२ : १९
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • धनुषा र सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
  • धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको बस दुर्घटनामा मृत्यु भएको छ।
  • सुनसरीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ, र प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ । देशभर भएका विभिन्न सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, यी दुर्घटनाहरू धनुषा र सुनसरी जिल्लामा भएका हुन्।

धनुषाको धनुषाधाम नगरपालिका-१ मा सोमबार दिउँसो दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २० वर्षीय उदय रायको मृत्यु भएको छ। ज.११ प ४१५३ नम्बरको मोटरसाइकल चलाइरहेका रायको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलका अन्य दुई जनाको उपचार भइरहेको छ। अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, धनुषामै गणेशमान चारनाथ नगरपालिका-६, गोदार चोकमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय बैजु यादवको मृत्यु भएको छ। प्र.२-०१-००१ ख ०२६५ नम्बरको बसले प्र.२-०२-००५ प ५७११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। यादवको सिरहास्थित फुल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • सुनसरीमा पनि दुर्घटना

सुनसरीको धरान उपमहानगरपालिका-८ मा सोमबार राति बसको ठक्करबाट एक अन्दाजी ६५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। प्र.१-०२-००२ ख ०६९७ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो। मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले यी सबै दुर्घटनाहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप