बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलनको असर

भदौ २४ को विध्वंस : बागमतीमा सर्वाधिक प्रभाव, त्यसपछि गण्डकी र कोशी

सवा २२ अर्ब पुग्यो बीमाको मागदाबी
मङ्गलबार, ०७ असोज २०८२, १३ : ००
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • भदौ २४ गते देशभर भएका तोडफोड र आगजनीबाट भएको क्षतिको बीमा दाबी सवा २२ अर्ब रुपैयाँ पुगेको छ।
  • बागमती प्रदेशमा सबैभन्दा धेरै १७ अर्ब ९७ करोड रुपैयाँको क्षति मागदाबी परेको छ।
  • ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

काठमाडौँ । भदौ २४ गते देशभर भएका तोडफोड र आगजनीका कारण भएको क्षतिबापतको बीमा दाबी सवा २२ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणमा देशभरका सबै निर्जीवन बीमा कम्पनीहरूले पठाएको तथ्यांकअनुसार, भदौ ५ गतेसम्म कुल २२ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

यसमध्ये, सम्पत्ति बीमा अन्तर्गत १८ अर्ब ६१ करोड रुपैयाँ, मोटर बीमा अन्तर्गत २ अर्ब ९५ करोड, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ३३ करोड, परिवहन बीमातर्फ १ करोड ५५ लाख र अन्य बीमातर्फ ३४ करोड ३८ लाख रुपैयाँको मागदाबी परेको छ।

प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशमा सबैभन्दा धेरै १७ अर्ब ९७ करोड रुपैयाँको क्षति मागदाबी परेको छ। त्यसपछि, कोशीमा १ अर्ब ६५ करोड, गण्डकीमा १ अर्ब २९ करोड, मधेशमा ५५ करोड २८ लाख, लुम्बिनीमा ४५ करोड ६९ लाख र कर्णालीमा ८ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

  • बीमा कम्पनीअनुसार दाबीको अवस्था

ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोड २९ लाख रुपैयाँको दाबी परेको छ। 

यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँको दाबी परेको छ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेको इन्स्योरेन्समा पनि क्रमशः १ अर्ब ५४ करोड ५६ लाख, १ अर्ब १५ करोड ६२ लाख र १ अर्ब ११ करोड ८३ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ।

सानिमा जीआईसी, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्समा भने १ अर्ब रुपैयाँभन्दा कम दाबी परेको छ, जसमध्ये नेशनलमा सबैभन्दा कम ६ करोड ८४ लाख रुपैयाँको दाबी परेको छ।

  • सरकारको प्रारम्भिक अनुमान

बीमा दाबी सवा २२ अर्ब रुपैयाँ देखिए पनि, सरकारको प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रमा मात्रै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सरकारले यस क्षतिको राहतका लागि निजी क्षेत्रलाई विभिन्न प्याकेजहरू घोषणा गरेको छ। 

भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड रुपैयाँको दाबी परेकोमा पछिल्लो पाँच दिनमा थप १ अर्ब ५५ करोड रुपैयाँको दाबी थप भएको बीमा प्राधिकरणले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप