शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काँकरभिट्टा नाका : आयात बढ्दा र निर्यात घट्यो

मङ्गलबार, ०७ असोज २०८२, १४ : ०२
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • चालु आर्थिक वर्षको दुई महिनामा काँकरभिट्टा नाकाबाट ८ अर्ब १९ करोडको मालवस्तु आयात भएको छ।
  • गत वर्षको सोही अवधिको तुलनामा निर्यात २०.६९ प्रतिशतले घटेको छ।
  • आयात निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो।

झापा । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । 

जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ६८ करोड आठ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा रु सात अर्ब ५० करोड ९२ लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । 

चालु आर्थिक वर्षको साउन  र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको दुई महिनामा रु तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ८६ करोड २८ लाखको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त निर्यात २० दशमलव ६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए । 

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् । 

कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो दुई महिनामा आयात निर्यातबाट रु दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा आठ दशमलव ६२ प्रतिशत अर्थात् रु २० करोड ८६ लाख नौ हजारले बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप