बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुग्लिङ सडक खण्डमा रिपोर्टिङका क्रममा पत्रकार अनिल ढकाल गम्भीर घाइते

मङ्गलबार, ०७ असोज २०८२, २३ : २१
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • पत्रकार अनिल ढकाल मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा ढकालको टाउको र हातमा चोट लागेको छ र हाल उनी चितवन मेडिकल कलेजमा उपचाररत छन्।
  • मुग्लिन-नारायणघाट सडक खण्डमा पहिरो खसेका कारण आवतजावत बन्द भएको छ।

चितवन। प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपाेष्ट दैनिकका पत्रकार अनिल ढकाल मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको अवस्थाको रिपोर्टिङका लागि पुगेका ढकाल दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएका ढकालको टाउको र हातमा गम्भीर चोट लागेको छ । हाल उनी चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखी उपचार भइरहेको बागमती प्रदेश पत्रकार महासङ्घका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिएका छन् ।

सोही दुर्घटनामा पत्रकार सुदन पौडेल पनि घाइते भएका छन् । पौडेललाई सामान्य चोट लागेका कारण स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । घाइते ढकाललाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भए पनि राति सेनाको हेलिकप्टरमार्फत सम्भव नभएकाले चितवनमै उपचार भइरहेको बताइएको छ ।

यसअघि झरेको पहिरोका कारण मुग्लिन-नारायणघाट सडकखण्ड दुवै तर्फको आवतजावत बन्द भएको छ । निरन्तर पहिरो खसिरहेकोले पन्छाउने कार्यमा कठिनाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप