बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीर अस्पतालका कर्मचारीलाई अनुशासनमा बस्न कडाइ, १२ बुँदे निर्देशन जारी

बुधबार, ०८ असोज २०८२, १४ : ३१
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सेवा प्रवाहमा सुधार ल्याउन र कर्मचारीहरूमा अनुशासन कायम गर्न कडा कदम चाल्दै १२ बुँदे निर्देशन जारी गरेको छ । 

अस्पतालले आफ्ना चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनिक तथा अन्य कर्मचारीहरूलाई लक्षित गर्दै १२ बुँदे निर्देशन जारी गरेको हो ।

अस्पतालले बुधबार जारी गरेको सूचनामा पछिल्लो समय कर्मचारीहरूबाट अनुशासनहीन व्यवहार प्रदर्शन भई सेवामा नकारात्मक असर परेको उल्लेख छ । 

देशको एक प्रमुख चिकित्सा शिक्षा तथा सेवा प्रदायक संस्थाका रूपमा रहेको वीर अस्पतालमा दैनिक सेवा प्रवाहमा देखिएका कमीकमजोरीलाई सुधार्न निर्देशन जारी गरिएको हो । 

सूचनामा विगतमा गरिएका व्यवस्थापकीय प्रयासहरूका बाबजुद पनि सेवामा अपेक्षित सुधार नआएको र कर्मचारीहरूबाट जिम्मेवारीपूर्ण आचरण पालना नभएको भन्दै अस्पताल प्रशासनले जनाएको छ । 

विशेष गरी हालैका वर्षहरूमा भर्ना भएका नयाँ पुस्ताका कर्मचारीहरू (जेनजी) मा अनुशासन र आचरणसम्बन्धी समस्या बढी देखिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

वीर अस्पतालले जारी गरेको १२ बुँदे निर्देशनका मुख्य बुँदाहरुः

१. बिरामी तथा सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार गर्ने ।

२. कार्यालयको निर्धारित समयमा उपस्थित भई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने ।

३. कार्यालय समयावधिमा खाजा/खाना खानु परेमा तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्ने ।

४. बिना स्वीकृति वा सेवामा असर पर्ने गरी बिदा नलिने ।

५. चिकित्सक/स्वास्थ्यकर्मीहरुले कार्यालय समयबाहिर अस्पताल बाहिर निजी अस्पताल/क्लिनिकमा बिरामी जाँच्न नपाउने ।

६. अस्पताल बाहिर ओपिडी पसल, ल्याब, इमर्जेन्सी सेन्टर आदि नखोल्ने ।

७. अस्पतालमा हुने परीक्षणहरू अस्पतालले नै व्यवस्था मिलाउने ।

८. बिरामीहरूलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्ने ।

९. ओपिडी वा बिरामी नछोडी कार्यस्थलमै रहने, निर्धारित समय अगावै नजाने ।

१०. कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग नगर्ने ।

११. बिरामीहरूलाई कुनै खास ब्राण्डको औषधि तथा उपकरण खरिद गर्न बाध्य नपार्ने ।

१२. तोकिएको एप्रोन/पोसाक/आइडी कार्ड लगाएर मात्र सेवा प्रदान गर्ने ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप