शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको सम्बोधन

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : निर्वाचन भयरहित बनाइने, युवाका माग संवैधानिक प्रक्रियाबाट

बिहीबार, ०९ असोज २०८२, १८ : २०
बिहीबार, ०९ असोज २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन, सुशासन र युवा पुस्ताको आन्दोलनबारे बोलेकी छिन्।
  • उनले निर्वाचनलाई भयरहित बनाउन र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्।
  • कार्कीले युवा पुस्ताको आन्दोलनका दोषीलाई कारबाही गर्ने र सेवाग्राहीका लागि हटलाइन सेवा सञ्चालन गर्ने बताइन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् ।

उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् । 

हालै भएको युवा पुस्ताको आन्दोलनलाई 'अभूतपूर्व' प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री कार्कीले दोषीहरूलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका कतिपय विषयहरू तत्काल सम्बोधन गर्न नसकिने प्रकृतिका भएकाले आगामी निर्वाचनपश्चात् संवैधानिक प्रक्रियाबाट समाधान खोजिने पनि उनको भनाइ थियो । 

प्रधानमन्त्री कार्कीले क्षति भएका भवनहरूको पुनर्निर्माण कार्यमा सबै जुटिसकेको जानकारी दिँदै सुरक्षा निकायलाई पूर्ववत् अवस्थामा फर्काउने कार्य सुरु भइसकेको पनि बताइन् । आफ्नो ६ महिनाको कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई झन्झटमुक्त बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने बताएकी छन् ।

सेवाग्राहीको काम सहज बनाउन उजुरीको व्यवस्था गर्ने र तीनै तहमा हटलाइन सेवा सञ्चालन गरिने जानकारी दिइन् । आर्थिक क्रियाकलापलाई सहज बनाउन एकीकृत कार्ययोजना ल्याइएको पनि प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप