शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मिस्टर नेपाल हिमाञ्चलराज केसीसँग संवाद

‘मिस्टर वर्ल्ड देश चिनाउने राम्रो अवसर हो’

शुक्रबार, १० असोज २०८२, ११ : ४४
शुक्रबार, १० असोज २०८२

सारांश

  • ललितपुरका हिमाञ्चलराज केसी मिस्टर नेपाल वर्ल्ड २०२५ को विजेता बनेका छन्।
  • केसीले मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् र उपाधि जित्ने कोसिस गर्ने बताए।
  • उनले मिस्टर नेपालको यात्रालाई धेरै कुरा सिक्ने र आफूलाई निखार्ने अवसरका रूपमा लिए।

काठमाडौं । ललितपुरका स्थायी बासिन्दा हिमाञ्चलराज केसी मिस्टर नेपाल वर्ल्ड २०२५ का विजेता हुन् । केही दिनअघि होटल सोल्टीमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उपाधिसँगै उनले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गरेका छन् । 

मिस्टर वर्ल्ड आफ्ना लागि नेपाल चिनाउने एउटा अवसर भएको केसी बताउँछन् । केसीसँग मिस्टर नेपाल प्रतियोगिता र अबको यात्राबारे रातोपाटीले राखेका ९ प्रश्न र उनको उत्तर ।

मिस्टर नेपाल वर्ल्डको उपाधि जित्दा कस्तो महसुस भइरहेको छ ?
एकदमै खुसी छु । मिहिनेत सफल भएको महसुस भएको छ । एउटा जिम्मेवारी थपिएको छ । अन्तर्राष्ट्रिय प्लेटफर्म मिस्टर वर्ल्डमा नेपाल चिनाउने जिम्मेवारी हात परेको छ । त्यसलाई जतिसक्दो राम्रो र उपलब्धिमूलक बनाउनुपर्ने दबाब छ । भर्खर प्राप्त भएको मिस्टर नेपाल वर्ल्डको उपाधि र दसैँ पर्व एकसाथ सेलिब्रेसन गरिरहेको छु ।

समग्रमा मिस्टर नेपालको यात्रा कस्तो रह्यो ?
उपाधि जित्न सकियो यो सबैभन्दा खुसीको क्षण भइहाल्यो । अर्को कुरा, मैले धेरै कुरा सिक्न र आफूलाई निखार्न पाएँ । पहिले म राम्रोसँग बोल्न सक्दैन थिएँ । यो प्रतियोगितामा पाएको प्रशिक्षणले ममा धेरै परिवर्तन आयो । 

प्रतियोगितामा दुई महिनाको प्रशिक्षण भयो, सम्भवतः सौन्दर्य प्रतियोगिताको सबैभन्दा लामो प्रशिक्षण यो नै थियो । ती प्रशिक्षण आगामी दिनमा पलपलमा काम लाग्नेछन् ।

प्रतियोगिताअघि र अहिले आफूमा के परिवर्तन महसुस गर्नुहुन्छ ?
धेरै परिवर्तन भएको छ । पहिले म तनावमा हुन्थेँ । समय व्यवस्थापन गर्न निकै कठिन थियो । मानसिक रूपमा पनि विचलितजस्तै थिएँ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रशिक्षक पनि एकदमै प्रतिभावान र व्यावहारिक राख्नुभएको थियो, जसले हामीलाई परिवार झैँ अगाडि बढाउनुभयो । समग्रमा भन्नुपर्दा यात्रा रमाइलो, कठिन र उपलब्धिमूलक भयो । त्यो पल मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण हो ।

जितपछि प्रतिक्रिया कस्तो मिलिरहेको छ ?
जितपछिको प्रतिक्रिया सबैबाट राम्रो छ । मिडियामा राम्रो चर्चा पाउन सफल भए । कतिलाई यो मिस्टर नेपाल के हो, कस्तो हो भन्ने पनि लाग्दो रहेछ । यसलाई राम्ररी बुझेकाले यो ठूलो उपलब्धि हो, यसबाट राम्रो प्रगति गर्न सकिन्छ र विभिन्न अवसर प्राप्त हुन्छ । अझ अगाडि बढ्नुपर्छ भनिरहेका छन् ।

मिस्टर नेपालमा किन र केका लागि सहभागी हुन मन लाग्यो ?
प्रतियोगितामा भाग लिन सुरुमा म उत्सुक थिइनँ, हिच्किचाइरहेको थिएँ । किनभने यो एकदमै ठुलो प्लेटफर्म हो । यसमा सहभागी भएर के गर्नु भन्ने थियो । तर मेरो दाइले चाहिँ ‘भाइ जाऊ’ भनेर हौस्याउनुभयो । मैले केही अगाडि पनि मोडलिङ प्रतियोगितामा सहभागी भएको थिएँ । दाइको हौसला र आफूले केही गर्न सक्नुपर्छ भन्ने भावनाले गर्दा प्रतियोगितामा भाग लिएको हो । 

mr nepal2

जब प्रतियोगितामा छिरेँ, यो धेरै कुराका लागि उपयुक्त रहेछ भन्ने लाग्यो ।

अबको यात्राको विषयमा केही सोच्नुभएको छ ?
अब मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नुपर्नेछ । त्यसको तयारीमा जुटिसकेको छु । मिस्टर वर्ल्ड देश चिनाउने एउटा राम्रो अन्तर्राष्ट्रिय प्लेटफर्म पनि हो । नेसनल कस्ट्युमको रूपमा के प्रस्तुत गर्ने भनेर तयारी पनि गरिरहेको छु । त्यो यात्राका लागि आवश्यक हरेक कुरा सिकिरहेको छु ।

हामी नेपाली अन्तर्राष्ट्रिय प्रतियोगितामा जति पनि पुगेका छौँ, टप २० वा टप १० भित्र मात्र पर्ने गरेका छौँ । म उपाधि ल्याउने शतप्रतिशत कोसिस गर्नेछु, त्यसका लागि सबैको समर्थन भने चाहिन्छ ।

मिस्टर वर्ल्डको मञ्चलाई कसरी बुझ्नुभएको छ ?
यो पुरुषहरू सहभागी हुने विश्वकै ठुलो अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसमा देशको प्रतिनिधित्व गरेर एक व्यक्ति गए पनि त्यो देश भनेर चिनिन्छ । उसले गर्ने हरेक क्रियाकलापसँग देशको नाम जोडिन्छ । त्यसैले यो प्लेटफर्ममा सहभागीले धेरै विचार पुर्‍याउनुपर्ने हुन्छ । जो जान्छ, त्यो हरेक कुरामा परफेक्ट (उत्कृष्ट) हुनुपर्छ । त्यही व्यक्तिले मात्र मिस्टर वर्ल्डको टाइटल लिन सक्छ ।

mr nepal3

मिस्टर नेपाल वर्ल्डको उपाधिसँगै तपाईं सेलिब्रेटी हुनुभयो । समाजप्रति तपाईंको दायित्व के ?
पहिलो कुरा म आफूलाई सेलेब्रिटी मान्दिनँ । म अहिले पनि सामान्य मानिस हुँ । उपाधिले मेरो काँधमा केही जिम्मेवारी परेको छ, त्यसको बहन मैले गर्नुपर्छ । अन्यले भन्दा समाजप्रति बढी जिम्मेवार हुनुपर्छ । देश तथा समाजका लागि केही गर्ने दायित्व हरेक युवाको हो, जो यस देशमा बस्नुहुन्छ ।

यसअघिका केही मिस्टर नेपाल विजेता कलाकारितामा आउनुभएको छ । तपाईंको सोच के छ ?
कलाकारितामा आउने सोच मेरो पनि छ । म कलाकारितामा लागोस् भन्ने मेरो बुबाको रहर पनि हो । त्यस्तो अवसर मिले गर्छु । म सानैदेखि फिल्महरू हेरेर हुर्किएको मानिस पनि हुँ, फिल्म मनपर्छ । हलिउड, बलिउडदेखि लिएर नेपाली फिल्ममा पनि मेरो एकदमै रुचि छ, तर अहिले चाहिँ मैले यस विषयमा सोचिहालेको छैन । पहिले मिस्टर वर्ल्डमा सहभागी हुन्छु । त्यसपछि अभिनयमा सोचौँला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप