बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको असर

जेनजी आन्दोलनपछि ‘पर्ख र हेर’को अवस्थामा युवा उद्यमी

आइतबार, १२ असोज २०८२, २१ : ०८
आइतबार, १२ असोज २०८२

सारांश

  • जेनजी पुस्ताको आन्दोलन र त्यसपछिको अवस्थाले देशको राजनीतिक र सामाजिक क्षेत्रमा तरंग ल्याएको छ।
  • युवा उद्यमीहरूले आन्दोलनको नतिजा अनिश्चित रहेको र तत्काल टिप्पणी गर्न नसकिने बताएका छन्।
  • उद्यमीहरूले आन्दोलनको मानवीय पक्षलाई प्राथमिकता दिँदै सरकारले सुध्रिनुपर्ने धारणा राखेका छन्।

विराटनगर । भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलन र त्यसपछिको परिस्थितिले मुलुकको राजनीतिक र सामाजिक वृत्तमा तरंग ल्याएको छ ।

तर, देशको आर्थिक मेरुदण्ड मानिने निजी क्षेत्र, विशेषगरी युवा उद्यमीहरू भने यो घटनाक्रमलाई लिएर गहिरो अन्योल र अनिश्चिततामा देखिन्छन् । उनीहरूले तत्काल कुनै निष्कर्ष निकाल्नुको सट्टा ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाएका छन् । 

जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदा र त्यसले निम्त्याएको क्षतिपछि नयाँ पुस्ताका उद्यमीहरूले सार्वजनिक रूपमा टिप्पणी गर्न पनि चाहँदैनन् । विराटनगरका चार युवा उद्यमीहरु आशिष जाजु, सौरभ सारडा, सगुन बोहोरा र प्रतिक राउतसँगको कुराकानीले नयाँ पुस्ताका उद्योगीहरुले कसरी हेर्छन् भन्ने प्रष्ट पार्छ । 

युवा उद्यमी सौरभ सारडाका अनुसार अहिलेको अवस्था यति अप्रत्याशित र जटिल छ कि यसको परिणाम के हुन्छ भनेर अड्कल काट्न असम्भव छ । ‘मलाई साँच्चै भन्दाखेरि म आफै अड्कल लाउन सक्या छैन के हुने वाला छ भन्ने कुरामा,’ उनले भने, ‘यो यति अनपेक्षित रूपमा भयो कि यसको मूल्याङ्कन कसैले पनि गर्न सकेको छैन ।’

उनले देशका ठूला नेताहरू समेत यो परिस्थितिलाई लिएर ‘कन्फ्युज’ रहेको बताउँदै आफू जस्ता उद्यमीले यसलाई सही वा गलत भनेर छुट्याउन नसक्ने बताए । सारडाको विचारमा अहिले राजनीतिक टिप्पणी गर्नुभन्दा पनि आन्दोलनका क्रममा ज्यान गुमाएका र दुःख पाएकाहरूको पक्षमा सोच्नु प्राथमिकता हो । ‘मरेको मान्छे, सहिद भएको मान्छे, जसले दुःख पाएछन्, त्यो प्रायोरिटी हो,’ उनी भन्छन्, ‘बाँकी टिप्पणी गर्नुपर्ने कुराहरू पछि गरौँला ।’ उनको यो भनाइले युवा उद्यमीहरू घटनाको मानवीय पक्षप्रति बढी संवेदनशील रहेको देखाउँछ । 

अर्का उद्यमी आशिष जाजु पनि वर्तमान अवस्थाबारे बोल्न हतार गर्न नहुने बताउँछन् । उनले आन्दोलनको भावना सही भए पनि यसले निजी क्षेत्रमा कस्तो असर पार्छ भन्नेमा गहिरो संशय व्यक्त गरे । ‘आन्दोलन भयो, केही भएन, के हुन्छ अब ?,’ उनले अन्योलपूर्ण प्रश्न गरे, ‘के हुन्छ के थाहै छैन कसैलाई । त्यसैले अहिले नै टिप्पणी नगरौँ ।’

उद्योगी प्रतिक राउतको धारणा पनि अन्य दुई उद्यमीसँग मिल्दोजुल्दो छ । उनी अहिलेको घटनाक्रम एकदमै प्रारम्भिक चरणमा रहेकाले यसको परिणाम हेर्न केही समय कुर्नुपर्ने बताउँछन् । ‘भर्खर त आन्दोलन भएर सरकार बनेको छ, पहिला त यसको केही परिणाम आओस्,’ उनले भने, ‘यो कसरी अगाडि बढ्छ, राम्रो हुन्छ कि हुँदैन, त्यो हेर्नुपर्छ । बरु एक–दुई महिना यो चलोस्, अनि टिप्पणी दिनु उचित हुन्छ ।’

अर्का युवा उद्योगी सगुन बोहोरा यो आन्दोलन कुनै आकस्मिक घटना नभएर वर्षौंदेखि थुप्रिएको निराशा र राजनीतिक अस्थिरताको उपज भएको बताउँछन् । ‘जब देशको प्रणालीले युवालाई भविष्यप्रति आश्वस्त पार्न सक्दैन, तब यस्तो विद्रोह स्वाभाविक हुन्छ । सरकारको अस्थिरताले निजी क्षेत्रलाई मात्र होइन, हरेक युवा, उद्यमी र विदेशमा रहेका नेपालीलाई समेत प्रभावित पारेको छ,’ उनले भने, ‘जेनजी आन्दोलन यही निराशाजनक धारणाविरुद्धको आक्रोश हो ।’

यद्यपि, आन्दोलन तोडफोड र हिंसातिर मोडिनु गलत भउको उनको भनाइ छ । ‘यसको मूल सन्देश भनेको सरकारले अब सुध्रिनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ र नीतिहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ भन्ने थियो । यो आन्दोलन आवश्यक थियो, तर यसको स्वरूप रचनात्मक हुनुपथ्र्यो,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप