बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संस्कृति

दसैँमा फेर्न लागिएकी काठमाडौँकी कुमारी

मङ्गलबार, १४ असोज २०८२, ११ : ००
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • काठमाडौँमा नयाँ कुमारी चयन हुँदै, इतुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्य नयाँ कुमारी बन्ने भएकी छन्।
  • कुमारी परिवर्तनको परम्परा अनुसार, तृष्णा शाक्यलाई बिदाइ गरी नयाँ कुमारीलाई आसनमा राखिने छ।
  • राजकीय कुमारीको मान्यता प्राप्त वसन्तपुरस्थित कुमारी घरकी कुमारीको विशेष महत्व रहेको छ।

काठमाडौँलाई बुझेका विद्वान्हरू भन्ने गर्छन्— काठमाडौँलाई बुझ्न सकिँदैन । यो बुझ्नै नसकिने नगर हो । कोही त यसलाई मायावी नगर पनि भन्छन् । काठमाडौँलाई बुझ्ने सन्दर्भमा विदेशी विद्वान्हरू झन् कायल छन् । फादर जोन के. लकले आफ्नो पुस्तक ‘करुणामय’को भूमिकामै लेखेका छन्, ‘निश्चित समयको भिसा लिएर आउने विदेशी अध्येताले आफ्नो भिसा सकिँदासम्म काठमाडौँको एकछेउ बुझ्न पाएका हुँदैनन् ।’ 

काठमाडौँ नगरका बुझ्न नसकिने अनगिन्ती तन्तुमध्ये एक हो, यहाँको कुमारी संस्कृति । हरेक वर्ष इन्द्रजात्राताका रथयात्रा गरिने श्री कुमारीको झलक धेरैले पाएकै होलान् । झलकले कुमारी बुझ्न सकिँदैन । एक जीवित कन्यालाई देवी मानेर पूजा गरिने यो संस्कृति विश्वमै कहीँ पाइँदैन, नेपालमा बाहेक । 

प्रसङ्ग हो, यही दसैँताका गरिने काठमाडौँको कुमारी परिवर्तन । यो दसैँमा काठमाडौँका जनताले नयाँ कुमारी पाउँदै छन् । त्यसैले कुमारी संस्कृतिप्रति आस्थावान् भक्तजनका लागि यो दसैँ विशेष हुनेवाला छ ।

काठमाडौँका धेरै ठाउँमा जीवित देवी कुमारी स्थापना गरिएका छन् । काठमाडौँकै मखन टोल, किलागल टोल लगायत साँखु, बुंगमती, नुवाकोट, ललितपुर, भक्तपुरमा छुट्टाछुट्टै कुमारी रहन्छन्; त्यो पनि एक होइन धेरै । भक्तपुर नगरमा मात्र २१ जना कुमारी रहेको कथन छ । अहिले तीनजना मात्र बाँकी छन् । आस्था, परम्परा र धार्मिक दृष्टिकोणले यी सबै कुमारी समान छन् । सम्मान र मान्यताका आधारमा भने काठमाडौँको वसन्तपुरस्थित कुमारी घरकी कुमारीको स्थान विशिष्ट रहेको पाइन्छ । किनभने यो कुमारीलाई ‘राजकीय कुमारी’को मान्यता प्राप्त छ । यी कुमारीले मुलुक र जनतालाई शत्रु एवं दुर्भिक्षबाट रक्षा गर्छन् भन्ने मान्यता रहिआएको छ ।

वर्षको एकपटक (इन्द्रजात्राको अन्तिम दिन) राष्ट्रप्रमुखले समेत कुमारीघर आई कुमारीको हातबाट टीका थाप्छन् र पाउ ढोगेर फर्कन्छन् । कुमारीको हातबाट टीका थापेपछि राष्ट्राध्यक्षको राजकीय शक्ति अर्को वर्षसम्मका लागि वृद्धि हुने विश्वास गरिन्छ ।

वसन्तपुरको कुमारी घरमा हाल विराजमान रहेकी कुमारी हुन्, तृष्णा शाक्य । आठ वर्षअघि उनी कुमारीको आसनमा विराजमान भएकी थिइन् । रजस्वला हुने उमेरमा पुगेपछि रजस्वलाअघि नै कुमारी परिवर्तन गर्ने परम्परा छ । फलतः तृष्णाको ठाउँमा अब नयाँ कुमारी स्थापना गर्न लागिएको छ । नयाँ हुनेवाला कुमारीका रूपमा काठमाडौँ इतुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्य छनोट भएकी छन् । मङ्गलबार महाष्टमीका दिन कुमारी घरमा राखिएको कुमारीको आसनमा उनलाई विराजमान गराइनेछ । यो कार्य मङ्गलबार दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेसम्मको साइतमा सम्पन्न गर्ने तयारी रहेको छ । 

आसनमा नयाँ कुमारीको आगमन सँगै निवृत्त कुमारीलाई बिदाइ गरी बाजागाजासहित खटमा राखी उनको निवास पुर्‍याइन्छ । आफ्नो निवासमा हुँदा पनि चार दिनसम्म उनी कुमारीकै भेषमा रहन्छिन् । भक्तजनहरूलाई टीका प्रदान गर्छिन् । चार दिनपछि कुमारी घरका चिताइदारहरू (कुमारीको स्याहारसुसार गर्ने परिवार) आएर उनको कुमारी वस्त्र र शृङ्गार उतारी नयाँ वस्त्र प्रदान गर्छन् । त्यसपछि उनी सार्वजनिक जीवनमा प्रवेश हुन्छिन् ।  

यता नयाँ कुमारी महाष्टमीका दिन आसनमा बस्छिन् । महानवमीका दिन उनलाई हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा लगिन्छ । त्यसपछि विजया दशमीका दिन उनले सर्वसाधारणलाई टीका प्रदान गर्छिन् । टीका ग्रहण गर्न जाँदा मात्र सर्वसाधारणले कुमारी घरमा नयाँ कुमारी आएको थाहा पाउनेछन् ।

पहिलेपहिले कुमारी फेर्ने सम्पूर्ण कार्य गोप्य रूपमा गरिन्थ्यो, सर्वसाधारणलाई पत्तो हुँदैनथ्यो । अहिले मिडिया र प्रविधिले गर्दा कुमारी फेर्ने गोप्य कार्य पनि ‘स्कुप न्युज’ बन्न थालेको छ । तथापि कुमारी छनोटका कतिपय प्रक्रिया अहिले पनि गोप्य छन् । पहिले पहिले कुमारीघरको चिताइदारले नै काठमाडौँका विभिन्न बहालमा गई योग्य कन्या खोजेर कुमारी बनाउने चलन थियो । यसपटक शाक्य महाविहार सङ्घ नामक संस्थाले यो जिम्मेवारी वहन गरेको छ ।

काठमाडौँका विभिन्न १६ वटा वज्रयान महाविहारका शाक्य कुलपुत्री मात्रै कुमारी बन्न योग्य मानिन्छ । त्यसैले शाक्य महाविहार सङ्घले यी नै १६ महाविहारमा पत्राचार गरी इच्छुक अभिभावकलाई पाँच वर्ष नपुगेकी आफ्नी छोरीको जातः (चिना) दिन अनुरोध गरेको थियो । सङ्घले कुमारी बन्ने योग्यताका रूपमा नौबुँदे मापदण्ड पनि तयार गरेको छ । मापदण्ड नपुगेका कन्याहरूलाई पन्छाउँदै जाँदा अन्तिममा तीन कन्या बाँकी रहे । ती तीनमध्ये सङ्घले इतुम्बहालकी आर्यतारा शाक्यलाई चयन गर्‍यो ।

वि.सं. १८२५ को इन्द्रजात्राकै दिन गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गरेका थिए । उनले काठमाडौँ आक्रमण गर्दा यहाँ कुमारीको रथयात्रा चलिरहेको थियो । उनले सोही दिन कुमारीको हातबाट टीका थापे । सोही टीकालाई उनले आफू कान्तिपुरको राजा बन्न प्राप्त भएको वैधानिक स्वीकृति मानेका थिए ।

आर्यतारा अबको आठदेखि नौ वर्ष काठमाडौँको राजकीय कुमारीका रूपमा कुमारीछेँ (कुमारीघर) मा बस्नेछन् । काठमाडौँकी राजकीय कुमारी हुन पाउनुलाई काठमाडौँवासीहरू ठुलो शौभाग्य ठान्छन् । किनभने कुमारीको आसनमा विराजमान भएपछि उनी मानव होइन, देवीको दर्जामा पुग्छिन् । वर्षको एकपटक (इन्द्रजात्राको अन्तिम दिन) राष्ट्रप्रमुखले समेत कुमारीघर आई कुमारीको हातबाट टीका थाप्छन् र पाउ ढोगेर फर्कन्छन् । कुमारीको हातबाट टीका थापेपछि राष्ट्राध्यक्षको राजकीय शक्ति अर्को वर्षसम्मका लागि वृद्धि हुने विश्वास गरिन्छ । 

वि.सं. १८२५ को इन्द्रजात्राकै दिन गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गरेका थिए । उनले काठमाडौँ आक्रमण गर्दा यहाँ कुमारीको रथयात्रा चलिरहेको थियो । उनले सोही दिन कुमारीको हातबाट टीका थापे । सोही टीकालाई उनले आफू कान्तिपुरको राजा बन्न प्राप्त भएको वैधानिक स्वीकृति मानेका थिए । पृथ्वीनारायण शाहले नै यी कुमारीलाई ‘राजकीय कुमारी’को मान्यता प्रदान गरेका थिए, जसले गर्दा यी कुमारीको मर्यादा नगरस्तरबाट वृद्धि भई राष्ट्रियस्तरमा कायम हुन पुग्यो ।

यी कुमारीको विशेषता के हो भन्दा यिनलाई हरेक दिन हिन्दु धर्म अनुसार कर्माचार्यबाट र बौद्ध धर्म अनुसार वज्राचार्यबाट नित्यपूजा हुन्छ । अतः यिनी हिन्दु र बौद्ध दुवै सम्प्रदायका साझा देवी हुन् । 

कुमारीलाई तलेजु (तुलजा) भवानीको प्रतिरूप मानिन्छ । अन्य देवीदेवताको प्रतिरूप चित्र, प्रस्तर, काठ वा धातुमा कुँदेर उतारिएको हुन्छ । तलेजुको प्रतिरूप कुनै निर्जीव वस्तुमा होइन, जीवित मानवमै उतारिएको हुन्छ । ती मानव नै ‘कुमारी माजु’ हुन् । 

११औँ शताब्दीतिर सिम्रौनगढका राजा हरसिंहदेव मुस्लिम आक्रमणबाट बच्न नेपाल भागेर आउँदा आफूसँग भएको तुलजा भवानीको श्रीयन्त्र पनि बोकेर आएका थिए । उनी बाटोमै मारिए । भक्तपुरमा माइती भएकी उनकी श्रीमती देवलदेवी तुलजा भवानीसहित भक्तपुर पुगिन् र भक्तपुरमै तुलजा भवानी स्थापित गरिन् । 

१३औँ शताब्दीतिर राजा अनन्त मल्लले तुलजा भवानीको प्रतिरूप स्वरूप जीवित बालिकालाई स्थापना गर्ने चलन चलाए । पछि त्यो परम्परा ललितपुर र कान्तिपुरमा पनि सुरु भयो । सामान्यतया जीवित देवी कुमारीहरू आ–आफ्नै निवासमा बस्ने चलन थियो । जयप्रकाश मल्लले काठमाडौँकी एक कुमारी (सम्भवतः सिख्वंमू बहाःकी कुमारी) लाई छुट्टै विहार बनाएर राखे । कुमारी बस्ने विहार (राजमनोहर विहार) भएकाले त्यसलाई अहिले कुमारीछेँ (कुमारीघर) भन्न थालियो । उनै राजाले इन्द्रजात्राका दिन कुमारीको रथयात्रा गर्ने चलन पनि चलाए । 

अरु सबै ठाउँका कुमारीहरू आ–आफ्नै घरमा बस्छन् । विशेष पूजाआजाबाहेक अरु बेला उनीहरू घरबाहिर जान पाउँछन् । काठमाडौँकी राजकीय कुमारी बाहिर जान पाउँदिनन् । वर्षको १३ दिन विशेष जात्राका बेला उनलाई खटमा राखी नगर घुमाउन लगिन्छ । उनको पढाइ कुमारीघरमै हुन्छ । उनी एउटा स्कुलमा भर्ना भएकी हुन्छिन् । उक्त स्कुलले कुमारी घरमै शिक्षक खटाएर पढाउने गर्छन् । उनको परीक्षा पनि हुन्छ, पास–फेल पनि हुन्छ । 

नेपाल सरकारले कुमारीको पढाइका लागि वार्षिक ७० हजार रुपैयाँ बजेट दिने गरेको छ । त्योबाहेक मासिक ११ हजार ५०० श्रीपद भत्ता पाउँछिन् । काठमाडौँ महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ थप भत्ताको व्यवस्था गरेको छ । कुमारीबाट निवृत्त भइसकेपछि नेपाल सरकारबाट मासिक पाँच हजार ६२५ रुपैयाँ र काठमाडौँ महानगरपालिकाबाट मासिक १८ हजार रुपैयाँ भत्ता दिइन्छ । हाल त्रिभुवन विश्वविद्यालयले कुमारीका लागि स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति दिने व्यवस्था गरेको छ । त्योभन्दा अगाडिको शिक्षाका लागि राज्यले कुनै व्यवस्था गरेको छैन । तथापि केही विद्यालयले आफ्नो तजबिजमा निःशुल्क शिक्षा दिने गरेको पाइन्छ । 

कुमारी संस्कृतिबारे धेरै स्वदेशी तथा विदेशी विद्वान्ले पुस्तक लेखेका छन् । एक कन्या कुमारीलाई देवीको स्थानमा राखेर सम्मान गर्नुलाई समग्र महिलाप्रति नै गरिएको उच्च सम्मानका रूपमा बुझ्दा राम्रो हुन्छ । यो विश्वभरिकै महिला सम्मानको ‘नेपाली आइकन’ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश किरण
सुरेश किरण
लेखकबाट थप