हिँड्न नसक्ने अवस्थाका बाबजुद स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेकी गीता
सारांश
- अर्घाखाँचीकी गीता पोखरेल अपाङ्गताका बाबजुद स्वास्थ्य क्षेत्रमा सक्रिय छिन् र ह्विलचियरमा बसेर जनसेवा गरिरहेकी छन्।
- २०६८ सालमा ढाडको समस्या देखिएपछि उनले काठमाडौंमा उपचार गराइन्, तर सुधार नभएपछि उनले आफ्नो अवस्था स्वीकार गरिन्।
- स्वास्थ्य सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर उनी अहिले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छिन् र अपाङ्गतामैत्री संरचनाको आवश्यकता औंल्याउँछिन्।
बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ की गीता पोखरेल अपाङ्गताका बाबजुद स्वास्थ्य क्षेत्रमा क्रियाशील छिन् । खुट्टा टेकेर हिँड्न नसक्ने अवस्थाकी उनी ह्विल चियरमा बसेरै भए पनि जनसेवामा समर्पित छिन् ।
कुनै समय उनको शारीरिक अवस्था सामान्य नै थियो । उनी घरका सबै काम गर्नेदेखि लिएर अध्ययन, फुटबल खेल्न उत्तिकै समय दिन्थिन् ।
२०६८ साउन २ गते राति अचानक गीतको कम्मर दुख्न थाल्यो । त्यो समय उनी जागिरेसमेत थिइन् । उनी अर्घाखाँचीको खिल्जी स्वास्थ्य चौकीमा एएनएमपदमा करारमा कार्यरत थिइन् ।
सामान्य दुखाइ होला भन्दै उनले पेन किलर खाइन् तर पनि दुखाइ कम भएन । बरु छिनछिनमा पिसाब लाग्ने, खुट्टा झमझमाउने भयो । दुखाइका कारण निदाउन समस्या थपियो। रातभरिको दुखाइपछि अर्को दिन बिहान सदरमुकाम सन्धिखर्क गएर उनले स्वास्थ्य परीक्षण गराइन्।
त्यो वेला अर्घाखाँचीमा राम्रो कहलिएका डा. चित्रप्रसाद वाग्ले शर्माले उनको समस्या सुने । जिल्लामा स्वास्थ्य उपकरण लगायतको अभावका कारण डा. वाग्लेले राम्रो चेकजाँचका लागि उनलाई तत्कालै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरे ।

गीताले स्थानीय अस्पतालमा उपचार नहुने भएपछि भैरहवाको साटो बरु काठमाडौँमै गएर उपचार गराउने निधो गरिन् । तत्काल एम्बुलेन्स रिजर्भ गरी उनी परिवारलाई जानकारी दिएर काठमाडौँतर्फ लागिन् ।
एम्बुलेन्समा चढ्दासम्म उनको एउटा खुट्टा टेक्न नसक्ने भइसकेको थियो। काठमाडौँको टिचिङ अस्पताल पुगेर एम्बुलेन्सबाट ओर्लिन खोज्दा उनका दुवै खुट्टाले टेक्न सकेनन् ।
चिकित्सकहरूले गीतालाई ढाडको नसा सम्बन्धी समस्या (एक्युट ट्रान्सभर्स माइलाइटिस)भएकाले १२/१५ दिनमा निको हुन सक्ने बताए।एक महिनासम्म उपचार गर्दा पनि सुधारको सङ्केत देखिएन। आफैँ स्वास्थ्यकर्मी भएकाले उनले रोगको बारेमा विभिन्न माध्यमबाट अध्ययन पनि गरिन्। उनले अब आफू राम्रोसँग हिँडडुल गर्न सक्ने अवस्थामा फर्कन गाह्रो देखिन् ।
गीताको परिवारमा ५ दिदीबहिनी र एकभाइ थिए । मध्यम आयस्तर भएको परिवारमा बुबाआमालाई घर खर्च चलाउन पनि गाह्रो थियो । त्यसैले गीताले त्यही करारको जागिर खाएर भए पनि केही हदसम्म परिवारको आर्थिक भारमा भरथेग गरेकी थिइन् ।
टिचिङमा उपचार गरेर कुनै सुधार नभएपछि चिकित्सकहरूले फिजियोथेरापी गर्न सिफारिस गर्दै घुमाउरो पारामा पहिलेको जस्तो सामान्य अवस्थामा फर्किन मुस्किल रहेको सुनाए। त्यतिवेला २३ वर्ष उमेरकी गीतालाई स्वाभाविक रूपमा भविष्यको चिन्ता थपियो । खुट्टा टेक्नै नसक्ने अवस्था रहने हो भने कसरी गुजारा गर्ने होला भन्ने चिन्ताले उनी बेस्सरी रोइन् ।
‘केही गरौँला भनेर भर्खर करार सेवा अन्तर्गत खिल्जी स्वास्थ्य चौकीमा जागिर खाएकी थिएँ । अझै पढेर के–के गरौँला भन्ने योजना थियो,’ उनले भनिन्, ‘डाक्टरले अकस्मात्पूर्ववत् अवस्थामा फर्कन गाह्रो रहेको सुनाएपछि मलाई जीवन नै अन्धकार भएको महसुस भयो ।’
गीताको परिवारमा ५ दिदीबहिनी र एकभाइ थिए । मध्यम आयस्तर भएको परिवारमा बुबाआमालाई घर खर्च चलाउन पनि गाह्रो थियो । त्यसैले गीताले त्यही करारको जागिर खाएर भए पनि केही हदसम्म परिवारको आर्थिक भारमा भरथेग गरेकी थिइन् ।
‘अब त परिवारका लागिसमेत बोझ हुने भएँजस्तो चिन्ता लाग्यो,’ गीतले उतिवेलाको अनुभव सुनाउँदै भनिन्, ‘यतिसम्म परनिर्भर भएँ कि जीवनबाट हार खाएर मरौँ भने पनि विष किन्न जानसमेत खुट्टाका कारण नसक्ने अवस्थामा पुगेकी थिएँ ।’
गीताको रुचि साहित्यमा पनि छ । उनी विभिन्न साहित्यिक कार्यक्रममा भाग लिन्छिन् ।
गीताले कतै केही उपाय लागिहाल्छ कि भनेर उपचारका लागि हरसम्भव प्रयास गरिन् । उनले बाबा रामदेवको औषधालयदेखि भारतको राजधानी दिल्लीका प्रख्यात चिकित्सकलाई समेत भेटेर उपचार गराइन् । विभिन्न आयुर्वेदिक औषधि सेवन गर्नेदेखि फिजियोथेरापीसमेत गरिन् । अन्ततः उनले आफ्नो अवस्थालाई स्वीकार गर्दै जीवनलाई अघि बढाउने ऊर्जा बटुलिन् । त्यसपछि ह्विलचियर चलाएरै उनले जीवनको गतिलाई अघि बढाइन् ।
कक्षा १२सँगै प्राविधिक शिक्षा पनि अध्ययन गरेकी गीताले फेरि स्वास्थ्य सेवा आयोगमा परीक्षा दिइन् ।काकाका छोरा पनि स्वास्थ्यकर्मी भएको सुरुदेखि यो क्षेत्रतिर लागेकी गीताले दमौलीबाट एएनएम पास गरेकी हुन् भने पोखरामै निजी अस्पतालहरूमा उनले काम गर्दै आयोगको तयारी गरिन्।

२०७० मा पहिलो प्रयासमै उनले एएनएममा नाम निकालिन् । त्यसपछि फेरि आफूमा थप उत्साह र परिवारमा अर्को खुसी आएको उनले बताइन् । उनी हाल लुम्बिनी प्रादेशिकअस्पताल बुटवलको स्वास्थ्य बीमा शाखामापाँचौँ तहका कार्यरत छिन् ।
२०७०चैतमा उनको पहिलो पोस्टिङ नवलपरासीको सुनवल नगरपालिका मातहतको स्वास्थ्य केन्द्रमा भयो। त्यसपछि पृथ्वीचन्द्र अस्पताल परासीमा केही समय उनले काम गरिन्। २०७६ सालमा प्रदेशमा समायोजन भएर लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा आएकी उनको ११ महिनापछि लुम्बिनी प्रादेशिक अस्पतालमा दरबन्दी कायम भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा शाखामा कार्यरत गीताको काम सन्तोषजनक रहेको बताए ।
गीताको रुचि साहित्यमा पनि छ । उनी विभिन्न साहित्यिक कार्यक्रममा भाग लिन्छिन् । लुम्बिनी प्रादेशिक अस्पतालले मनाएको ११५औँ वार्षिकोत्सवमा उनले गजल वाचन प्रतियोगितामा तृतीय स्थान हासिल गरिन्।
गीता ह्विलचियरमै हिँड्नुपर्छ । कम्मरदेखि तलको भाग नचल्ने भएका कारण उनी कार्यालयमा पनि ह्विलचियरमै बसेर काम गर्छिन् ।
नेपालमा कतिपय भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा ह्विलचियर गुडाउन समस्या हुने गरेको गीताको अनुभव छ । उनले तीनै तहका सरकारले अपाङ्गतामैत्री संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण