मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चाडबाडमा खानपान सन्तुलन : अस्वस्थ मासुले १६० भन्दा बढी रोग लाग्ने खतरा

बुधबार, १५ असोज २०८२, १२ : ०८
बुधबार, १५ असोज २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चाडबाडको समयमा अस्वस्थ र असन्तुलित माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी प्रकारका रोगहरू निम्तिने खतरा रहेको भन्दै सर्वसाधारणलाई खानपानमा विशेष सन्तुलन कायम गर्न आग्रह गरेका छन् । 

उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन र जीवनपद्धतिमा आउने भद्रगोलका कारण स्वास्थ्य सम्बन्धी समस्याहरू बढी देखापर्ने बताए । 

प्रवक्ता डा. बुढाथोकीले अस्वस्थ मासु, धेरै चिल्लो पदार्थ तथा जंकफुडको प्रयोगले स्वास्थ्यमा जटिलता ल्याउने र दीर्घरोगीहरूमा झनै ठूलो खतरा निम्तिने चेतावनी दिए ।

खानपानको असन्तुलनले आकस्मिक स्वास्थ्य समस्या

डा. बुढाथोकीका अनुसार चाडबाडको समयमा आफ्नो नियमित जीवनपद्धति र व्यायाममा विश्राम लाग्ने तथा मासुका परिकार बढी खाने बानीले स्वास्थ्य समस्यालाई झनै बढाउँछ । 

उनले भने, ‘चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलको कारणले स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छन् । स्वास्थ्य समस्या नभएकाहरूमा पनि स्वास्थ्य समस्या देखिएर आकस्मिक समस्या हुनसक्छ ।’ 

उनले स्वस्थ र ताजा माछा मासु प्रयोग गर्दा मात्रै शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुने बताए । तर, रोगी पशुपंक्षी, अस्वस्थ वधशालाबाट ल्याइएको मासु वा अत्यधिक चिल्लो र धेरै मासु खाँदा १ सय ६० भन्दा बढी प्रकारका रोगहरू निम्तिने खतरा रहेको उनको भनाइ छ । 

पाचन प्रणालीमा गम्भीर असर

प्रवक्ता बुढाथोकीले विशेषगरी मासु पकाउने तरिकामा ध्यान दिनुपर्नेमा जोड दिए । सेकुवा, तारेर वा भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए । ‘सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखालादेखि लिएर खाद्य नलीको क्यान्सरसम्मको समस्या निम्तिन्छ,’ उनले थपे ।

उनले छोइलाजस्ता काँचो मासुबाट पनि विभिन्न रोग निम्तिने खतरा रहेकाले ुगोठदेखि ओठसम्मु शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुने सुझाव दिए । 

मासु कसरी खाने ?

प्रवक्ता बुढाथोकीले मासु खाँदा सुरक्षित र स्वस्थ विधि अपनाउन सुझाव दिएका छन् । 

पकाउने विधिः मासु खाँदा प्रेसर कुकरमा कम्तिमा ५-६ सिठी लगाएर राम्ररी पाकेको, झोलिलो (झोल) परिकार खानु राम्रो हुन्छ । 

सन्तुलित भोजनः माछा, मासु सेवन गर्दा जहिले पनि हरियो सागसब्जी, दाल र सलाद पनि सँगसँगै खानुपर्छ । 

सेतो मासुलाई प्राथमिकताः भरसक सेतो मासु (कुखुरा, माछा वा अन्य पंक्षीहरूको मासु) खान उनले आग्रह गरे । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुने भएकाले यसले स्वास्थ्य समस्या बढी निम्त्याउन सक्ने उनको भनाइ छ । 

व्यायामलाई निरन्तरताः चाडबाडमा पनि मर्निङ वाकलाई निरन्तरता दिन र शारीरिक व्यायाम नछोड्न उनले आग्रह गरे । 

दीर्घरोगीलाई विशेष सचेतना

डा. बुढाथोकीले दीर्घरोगीहरूले चाडपर्वका बेलामा झनै धेरै सतर्कता अपनाउनुपर्ने डा. बुढाथोकीले सुझाव दिए । उनले दीर्घरोगीहरूलाई आफ्नो समयअनुसार दैनिक रूपमा औषधि सेवन गर्नुपर्ने र चाडबाडका समयमा औषधि अभाव हुन नदिनका लागि पहिले नै किनेर राख्न पनि सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप