शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
वीरगन्ज ग्याङ फाइट मृत्यु प्रकरण

४८ घण्टामै ‘अप्रेसन च्यालेन्ज’ सफल, पाँच अभियुक्त पक्राउ

बिहीबार, १६ असोज २०८२, १९ : ५१
बिहीबार, १६ असोज २०८२

पर्सा । वीरगन्जमा भएको ग्याङ फाइट मृत्यु प्रकरणका मुख्य अभियुक्तसहित पाँच जनालाई प्रहरीले ४८ घण्टाभित्रै पक्राउ गरेको छ। वीरगन्जको आदर्शनगरमा गएको मङ्गलबार भएको 'ग्याङ फाइट' पछि प्रहरीले 'अप्रेसन च्यालेन्ज' नामक विशेष रणनीति चलाएर अनुसन्धानमा सफलता हासिल गरेको हो।

गत असोज १४ गते भाटोको प्रहारबाट मृत्यु भएका वीरगन्ज-१० निवासी शिवम साह कानु (गोल्डेन) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त वीरगन्ज-२४ निवासी गौतम पटेललाई पक्राउ गरेको छ। पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार मुख्य अभियुक्त पटेलसँगै हत्या प्रकरणमा संलग्न वीरगन्ज-२४ कै सुभांकर चौरसिया, करण पटेल, चन्दन चौरसिया र अमन पटवा लाई पनि पक्राउ गरिएको छ। प्रहरीले अनुसन्धान तथा विश्लेषणका आधारमा उनीहरू घटनामा संलग्न रहेको ठोस प्रमाण भेटेपछि विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। एसपी पाठकले पत्रकार सम्मेलनमा कानुको हत्या व्यक्तिगत रिसइबी (इगो) का कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

  • 'दरिन्दे खुङ्खार समूह' सँगको भिडन्त

मृतक कानु सामान्य परिवारका हुन् । हाल वीरगन्ज-९ मा बस्दै आएका थिए। भारतबाट काम गरेर फर्किएका उनी १० दिनअघि मात्रै एक छोराका बुबा बनेका थिए। छोराको खुसीयालीबिच उनी दसैँ मेला हेर्न घरबाट निस्केका थिए।

मेलामा राति साढे ११ बजेतिर कानुको भिडन्त आफूलाई 'टोले गुण्डा' का रूपमा स्थापित गर्न खोज्ने युवाहरूको समूहसँग भयो, जसले ह्वाट्सएपमा 'दरिन्दे खुङ्खार समूह' नामक ग्रुप बनाएका थिए। बजारमा आफ्नो प्रभुत्व जमाउन खोज्ने सो समूहसँग पुरानो रिसइबीका कारण विवाद बढेपछि उनीहरूले कानुमाथि भाटाले प्रहार गर्न थालेका थिए। 

प्रहरीका अनुसार गम्भीर घाइते भएका कानुको नारायणी अस्पतालमा उपचारको क्रममा सोही रात मृत्यु भएको थियो। 'दरिन्दे खुङ्खार समूह' ले टोलमा आफ्नो हैसियत स्थापित गराउनकै लागि मेलामा भाटाले हानेर हत्या गरेको अनुसन्धान र सिसिटिभी फुटेजसहितका प्रमाणले पुष्टि गरेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएका भाटासमेत फेला परेका छन्। 'दरिन्दे खुङ्खार समूह' नामक ह्वाट्सएप ग्रुप बनाउने मुख्य अभियुक्त गौतम पटेल नै रहेको पनि अनुसन्धानबाट खुलेको छ।

  • 'अप्रेसन च्यालेन्ज' मार्फत अभियुक्तहरूको पक्राउ

ग्याङ फाइटमा एक युवकको मृत्यु भएपछि प्रहरीले दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउन 'अप्रेसन च्यालेन्ज' नामक विशेष अनुसन्धान रणनीति चलाएको थियो। एसपी पाठकको निगरानीमा प्रहरी निरीक्षक निरोज चौलागाइँको कमाण्डमा ३२ जना प्रहरी यो अप्रेसनमा खटिएका थिए।

'अप्रेसन च्यालेन्ज' को टोलीले घटनालगत्तै सुरुमा एक दर्जन शङ्कास्पद आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्‍यो। पक्राउ परेकामध्येका अमन पटवा सँग गरिएको प्राविधिक अनुसन्धानबाट प्रहरीले कानु हत्याको 'क्लु' फेला पारेको थियो। सोही 'क्लु' को आधारमा चलाइएको सूक्ष्म अनुसन्धानबाट अमनले हत्याको व्यवस्थापन गरेको, मुख्य अभियुक्त गौतमले अमनलाई लगातार फोन गरेको र हत्यामा प्रयोग भएको भाटासमेत भेटिएको थियो। अमनको बयानअनुसार प्रहरीले घटनामा संलग्न अन्य सबैलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनीहरूमाथि 'ज्यानसम्बन्धी कसुर' मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। दसैँ पर्वका कारण अदालत बन्द रहेकाले खुलेलगत्तै सबैको म्याद थप गरिने प्रहरीको तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप