सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजीहरुको ज्यान गयो: प्रधानमन्त्री कार्की
सारांश
- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका शहीद परिवारसँग भेट गरिन्।
- उनले सरकारमा बुद्धि नपुगेकै कारण जेनजीहरूको ज्यान गएको बताइन्, र पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
- सञ्चारमन्त्रीले शहीदको रगतमाथि अन्याय हुन नदिने र न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजीहरुको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन्। उनले राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिनेगरी सोचिरहेका छौँ । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र सहिदहरूको रगतले न्याय पाउने बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण