काष्ठकलामा भविष्य कुँद्दै मकवानपुरका महिला
सारांश
- हेटौँडाकी विष्णु कुमारी राईले काष्ठकलाको काम गर्दै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेकी छिन्।
- राई र उनको समूहले तयार पारेका काठका सामग्रीहरू मकवानपुरका कार्यक्रमहरूमा मायाको चिनोका रूपमा प्रयोग गरिन्छन्।
- महिलाहरूले लघु उद्यममार्फत आफ्नो पहिचान बनाउँदै गरेको र स्थानीय सरकारबाट सहयोगको अपेक्षा राखेको कुरा उल्लेख छ।
मकवानपुर । हेटौँडाको पिप्लेस्थित सामुदायिक वनको भवनमा हरेक बिहान चहलपहल हुन्छ । मेसिन चलेका आवाज, काठको मसिनो धुलो र एकाग्रताका साथ करौँती चलाइरहेका हातहरूले एउटा सुन्दर सपनालाई आकार दिइरहेका हुन्छन् ।
यो सपना हो– आत्मनिर्भरता, स्वाभिमान र आफ्नै पौरखमा बाँच्ने अठोटको ।
यही सपनालाई साकार पारिरहेकी एक प्रमुख पात्र विष्णु कुमारी राई हुन् । उनको विगत र वर्तमानमा बृहत् परिवर्तन आएको छ । नेपाली समाज अनुसार नै घरको चुलोचौकोमा व्यस्त हुने उनी अहिले कर्मशील यात्रामा अरुलाई पनि सरिक गराउँदै अग्रसर छिन् ।
महिलालाई चुलाचौको र घरको स्याहारमा केन्द्रित राख्ने नेपाली समाजका लागि राई एक चुनौती हुन् । चोकचौतारो, धारा–पधेँरोमा अरुको कुरा काट्ने महिलाहरूका लागि राई कर्मशीलताको प्रेरणा हुन् । पुरुषले मात्र काष्ठकलाको काम गर्न सक्छन् भन्नेहरूका लागि गतिलो प्रतिउत्तर हुन् राई ।
घरको काम सकेर कार्यस्थल आइपुग्ने राई र उनका ७/८ जना साथी मिलेर काठका निर्जीव टुक्रामा जीवन भर्छन् । उनीहरूले तयार पारेका आकर्षक ठेकी र फ्रेमहरू आज मकवानपुरका कार्यक्रमहरूमा अतिथिलाई दिइने ‘मायाको चिनो’ मात्र बनेका छैनन्, यी महिलाको अथक परिश्रम र दृढ सङ्कल्पको प्रतीक पनि बनेका छन् ।
_yVaSebicKB.jpg)
संघर्षले भरिएको सुरुवात
विष्णु कुमारी राईको काष्ठकला यात्राको सुरुवात २०७२ सालमा भएको थियो । सामुदायिक वन महासंघले दिएको काष्ठकला तालिमले विष्णुको मनमा उद्यमशीलताको बिउ रोप्यो, तर बाटो सोचेजस्तो सजिलो थिएन । सामाजिक सोच, परिवारप्रतिको जिम्मेवारी अनि उत्पादित सामग्रीको बजारीकरण लगायतको समस्याका बिच उनको कलाले स्थान पाउन मुस्किल देखिन्थ्यो ।
‘यो त पुरुषले गर्ने काम हो । गाह्रो हुन्छ, सकिँदैन– धेरैको सोच यस्तै थियो । काम कसरी सुरु गर्ने भन्ने अन्योल नै थियो । एक्लैले आँट गर्ने कुरा पनि थिएन,’ राईले उतिवेलाको चुनौती सुनाइन् ।
_xtCApPmeJN.jpg)
यस्तै सोचका कारण धेरैले तालिम नै छोडे । तालिम लिएका धेरै महिला बिचमै हार मानेर फर्किए, तर राई र उनका ३ जना साथीले हिम्मत हारेनन् । उनीहरूले बुझेका थिए– सिप र मेहनतमा लैङ्गिक भिन्नता हुँदैन ।
सोही सोचका साथ उनीहरू अघि बढे । २०७४ मा उनीहरूले ‘श्रमजीवी महिला काष्ठ उद्योग’ लाई विष्णु कुमारी राईकै अध्यक्षतामा दर्ता गरे । संस्था दर्ता गरेको सुरुवाती दुई वर्ष निकै चुनौतीपूर्ण रहे । काम थाले पनि सोचेजस्तो प्रतिफल आएन । त्यस समयमा उत्पादित सामग्रीले बजार पाउँदैनथ्यो । बजारमा आयातीत काष्ठकलाको दबदबा थियो । त्यसमाथि आम्दानी कम, अर्कोतिर उद्योगको कर तिर्नुपर्ने बाध्यताले उनीहरूलाई निकै समस्या भयो ।
उनीहरूको निरन्तरता र धैर्यले अन्ततः रङ ल्यायो । आज उनीहरूको उद्योगले मासिक १५० देखि ३०० वटासम्म काठका कलात्मक सामग्री उत्पादन गर्छ । प्रतिगोटा ३०० देखि १ हजार २०० रुपैयाँसम्ममा बिक्री हुने यी सामग्रीबाट मासिक एक लाखभन्दा बढीको कारोबार हुन्छ भने कार्यक्रमहरूको सिजनमा यो आम्दानी दुई लाख रुपैयाँभन्दा बढी हुन्छ । सबै खर्च कटाएर हरेक महिलाले मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म कमाउँछन् ।
‘एक समय त कर तिर्नै नसकेर के गर्ने भन्ने भयो, तर हामीले एकअर्कालाई ढाडस दियौँ र निरन्तर लागिरह्यौँ,’ राईले भनिन्, ‘पहिले घरखर्च र छोराछोरीको सामान्य आवश्यकताका लागि पनि श्रीमानकै भर पर्नुपर्थ्यो । अहिले आफ्नै कमाइले घरखर्चमा सघाउन, सहकारीमा बचत गर्न र मन लागेको कुरा किन्न सक्ने भएकी छु । योभन्दा ठुलो खुसी के हुन्छ र ?’
_EZ98aXCJZ2.jpg)
उनीहरूका उत्पादनले हेटौंडादेखि काठमाडौँसम्म बजार पाएपछि अब उद्योगको क्षमता बढाउने लक्ष्य बनाएका छन् । यसका लागि आधुनिक उपकरण र थप तालिम आवश्यक रहेको उनीहरूको बुझाइ छ । आधुनिक उपकरण र तालिममा उनीहरू स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।
विष्णु कुमारी राई त प्रतिनिधि पात्रमात्र हुन् । मकवानपुरमा लघु उद्यममार्फत आफ्नो पहिचान बनाउने महिलाको संख्या बढ्दो छ । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत वर्ष जिल्लामा दर्ता भएका ४१८ नयाँ उद्योगमध्ये २०२ वटा महिलाका नाममा छन्, जुन सोही वर्ष पुरुषको नाममा दर्ता भएका उद्योग संख्याको लगभग हाराहारी हो ।
कार्यालयका प्रमुख उद्योग अधिकृत राम प्रसाद भुसालका अनुसार, पहिले दर्ता शुल्कमा छुट पाउनका लागिमात्र महिलाको नाममा उद्योग दर्ता गर्ने चलन थियो भने अहिले महिलाहरू आफैँ व्यवसायको नेतृत्व गर्न उत्साहित भएर आउने गरेका छन् । समाजमा आइरहेको सकारात्मक परिवर्तनको स्पष्ट संकेतका रूपमा यसलाई लिन सकिने उनको भनाइ छ ।
_Ae39p8VMhc.jpg)
केही गैरसरकारी संस्थाले दिएको तालिम र सुरुवाती सहयोगले यी महिलालाई बलियो जग प्रदान गरेको छ । उनीहरू त्यही जगमा उभिएर आफ्नो भविष्य आफैँ निर्माण गरिरहेका छन् । प्रदेश र स्थानीय सरकारले उनीहरूको सिप विकास, प्रविधि हस्तान्तरण र बजारीकरणमा थप सहयोग गर्ने हो भने मकवानपुरका हरेक बेरोजगार व्यक्ति र विशेषगरी महिलाहरू उद्यमशीलतामार्फत देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्षम हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण