बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

शुक्रबार, १७ असोज २०८२, १० : ३०
शुक्रबार, १७ असोज २०८२

सारांश

  • इटहरी उपमहानगरपालिकाका महिलाहरूले चाडपर्वका लागि सालको पात बिक्री गरी आम्दानी गर्दै आएका छन्।
  • उनीहरूले उदयपुरको गाईघाटबाट पात ल्याएर इटहरीका हटिया बजारमा बेच्ने गरेका छन्, जसबाट राम्रो आम्दानी हुने गरेको छ।
  • चाडपर्व, एकादशी, र छठपूजा जस्ता धार्मिक अवसरमा पातको माग बढ्ने भएकाले उनीहरूलाई यसबाट खर्च जुटाउन सहज भएको छ।

सुनसरी । इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइहेकी छन् । 

उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् । 

उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।”

धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् ।

सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ । यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ । 

इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएकी छन् । उनले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन् । 

घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ । “दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ । यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्म बिक्री गरिरहेकी छु”, उनले भनिन् । 

उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेकी हुन् । पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा सङ्लग्नहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप