मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न
सारांश
- मध्यपुर थिमिमा पापाङ्कुशा एकादशीको अवसरमा मल्लकालीन युद्धको झल्को दिने 'खाँ पिहाँवईगु' जात्रा सम्पन्न भयो।
- जात्रामा खड्ग, तरबार र ढाल बोकेर स्थानीयले युद्धकला प्रदर्शन गरे, साथै बालकुमारी देवीको परिसरमा कुभिण्डो मार हानियो।
- यो जात्रामा विभिन्न समुदायको संलग्नता रहन्छ, र जात्राको अन्त्यमा भुइँफर्सी मार हान्ने भएकाले यसलाई 'भुइँफर्सी पालेगु जात्रा' पनि भनिन्छ।
भक्तपुर । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।
तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा निकालिएको हो ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरूले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गर्नुका साथै स्थानीय क्वालखु द्यः (बालकुमारी देवी)को परिसरमा भुइँफर्सी अर्थात् कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो ।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थिमि लाय्कुका पमा नायो (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताए ।
जात्राको क्रममा बडादसैँको महानवमीमा तलेजु भवानीलाई बलि चढाएको खःम्ये (राँगा)को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइएको श्रेष्ठले जानकारी दिए ।
विशेषगरी यो जात्रामा नायो पमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ । जात्रामा खःम्येको टाउकोको साथमा हिकोँचा (रगत भरिएको घ्याम्पा) समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समुदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पूजा गरेर भेँडा बलि दिएर भोज खाने परम्परा रहेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
जात्राका अवसरमा बालकुमारीमा भुइँफर्सी (कुभिण्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको भुइँफर्सी प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । सोही विश्वासका कारण मार हानेको भुइँफर्सी लिन स्थानीयको तछाडमछाड हुने गर्दछ । जात्राको अन्तिममा भुइँफर्सी मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु जात्रा’ पनि भनिन्छ ।
मल्लकालीन समयमा तत्कालीन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा सांस्कृतिक जात्रा पर्वमा लाय्कु प्रमुखको उपस्थिति अनिवार्य मानिन्छ । लाय्कु प्रमुखलाई नायो पमाः र अन्य सहायकलाई पमाः भनिन्छ । लाय्कुको नायो पमाः नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल थिमि लायकुका नायो पमाः श्यामकाजी श्रेष्ठ हुन् ।
थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आबद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आबद्धता दरबारिया प्रशासकको रूपमा र कुटुप्याथः समुदाय सैनिकको रूपमा दरबारमा थिए भने खड्गी समुदायले खाँसम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रूपमा काम गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
-
स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण