वीपी राजमार्गको सिन्धुलीतर्फ पनि सडक कटान
सारांश
- सिन्धुलीमा वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
- सुनकोसी नदीले सडक कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो।
- प्रहरीका अनुसार, पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन र सडक खुलाउन सकिने अवस्था छैन।
सिन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीतर्फ पनि सुनकोसी नदीले सडक कटान गरेको छ । लगातारको वर्षाका कारण वीपी राजमार्गको सिन्धुली खण्डमा पहिरो खस्दा र खोलाले सडक कटान गर्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार शनिबार साँझ ७ः ३० बजेतिर सुनकोसी गाउँपालिका–१ स्थित गजुली दहमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सोही वडाको नेपाल थोक नजिकै रोशी खोलाले करिब ५० मिटर सडक कटान गरी बगाएको प्रहरीले जनाएको छ ।
निरन्तर पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन र सडक खुलाउन नसकिने प्रहरीले जनाएको छ । घटना पछि प्रहरी चौकी दुम्जाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ भने पहिरो र सडक कटानका कारण सिन्धुलीमाडी, खुर्कोट र नेपाल थोकमा सवारी साधनहरू रोकिएका छन् ।
यता वर्षाका कारण सिन्धुलीका दुई फरक स्थानमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पहिरो जाँदा सडक बन्द भएको हो ।
प्रहरीका अनुसार, शनिबार साँझ फिक्कल गाउँपालिका–६ नागस्थानमा वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको ठुलो पहिरो खसेको थियो । पहिरोले सडक पूर्ण रूपमा पुरेकोले मध्यपहाडी लोकमार्गमा सवारी आवागमन दुईतर्फी नै ठप्प भएको छ । घटनास्थलमा प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली खटाइएको छ ।
यसैगरी गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा पनि वर्षाकै कारण पहिरो खसेको छ । त्यहाँ खसेको पहिरोले सडक एकतर्फी रूपमा बन्द भएको जनाइएको छ । उक्त स्थानमा अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी टोली पुगेर आवश्यक सुरक्षा तथा समन्वयको काम गरिरहेको छ ।
दुवै स्थानमा पानी परिरहेकोले तत्काल पहिरो पन्छाएर सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो हटाउने कार्य चुनौतीपूर्ण बनेको र पानी रोकिनासाथ बाटो खुलाउने प्रयास गरिने प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण