माओवादीको महाधिवेशन : रुपान्तरण कि पराजयको औपचारिकता ?
सारांश
- माओवादी आन्दोलनको वर्तमान अवस्था र यसको भविष्यबारे विश्लेषण गरिएको छ, जसमा नेतृत्वको कमजोरी, गुटबन्दी र वैचारिक विचलन मुख्य कारक देखिएका छन्।
- पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको सीमित घेराले गर्दा माओवादी आन्दोलनको वैचारिक आधार कमजोर हुँदै गएको छ।
- महाधिवेशनको तयारी र नेतृत्व परिवर्तनको सम्भावनाबारे चर्चा गर्दै, रूपान्तरणको साटो पुरानै शैली र अनुहार दोहोरिने खतरा औंल्याइएको छ।
नेपाली राजनीतिक इतिहासमा माओवादी आन्दोलन एक निर्णायक मोडको रूपमा स्थापित छ। वर्गीय शोषण, जातीय भेदभाव, सामाजिक असमानता र केन्द्रिकृत सत्ताव्यवस्था विरुद्ध उठेको यो आन्दोलनले दशकौँसम्म देशको शक्ति सन्तुलन हल्लाइदियो ।
तत्कालीन राज्यसत्तालाई गम्भीर चुनौती दियो। हजारौँ युवाले जीवनको आहुति दिए। गरिब, किसान, मजदुर, दलित, महिला, जनजाति सबैले यो आन्दोलनलाई आफ्नो मुक्ति अभियानको रूपमा साथ दिए।
तर आज, लगभग दुई दशकपछि, माओवादी आन्दोलन गम्भीर अस्तित्व संकटको मोडमा आइपुगेको देखिन्छ। संगठनात्मक कमजोरी, वैचारिक विचलन, नेतृत्वप्रति गहिरो अविश्वास र जनअपेक्षाविपरीतको व्यवहारले गर्दा यो आन्दोलन विघटनको संघारमा उभिएको छ भन्दा फरक पर्दैन । पछिल्लो समय माओवादी शीर्ष नेतृत्व, विशेषतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति प्रश्न उठ्न थालेका छन्—के उनीहरू साँच्चै सशस्त्र संघर्षका एजेन्डाप्रति प्रतिबद्ध थिए ? कि त्यो केवल सत्तामा पुग्ने भर्याङ मात्र थियो ?
शान्ति प्रक्रियामा प्रवेशसँगै माओवादीले बन्दुक बिसाएर संसदीय राजनीतिमा होमिएको त हो, तर आन्दोलनका मूल एजेन्डाहरू क्रमशः ओझेलमा पर्दै गए । पार्टीभित्र गुटगत प्रतिस्पर्धा, सत्ता प्राप्तिको होड र अवसरवाद हावी हुँदै गएको स्वयम माओवादी नेताहरु स्विकार गर्छन् । जसले गर्दा माओवादी आन्दोलनको वैचारिक निष्ठा कमजोर हुँदै गइरहेको छ ।
एक समय जनताको पक्षमा बलिदान दिन तयार भन्ने पहिचान बनाएको माओवादी नेतृत्व नेताहरु सुविधाभोगी र विलासी जीवनशैलीमा रमाउन थालेपछि, कार्यकर्ता र समर्थकमा व्यापक असन्तोष फैलिएको देखिन्छ । पार्टीको खस्कदो अबस्था र कार्यकर्ता विच वढ्दो निरासा चिर्न नेतृत्वले न त आफूलाई वैचारिक रूपमा परिष्कृत गर्यो, न त समाजको गहिरो रूपान्तरणका लागि ठोस नीति बनायो।
क्रान्तिकारी आन्दोलनमा व्यक्तिगत स्वार्थ र परिवारवादको कुनै स्थान हुँदैन भन्ने मान्यता छ। तर सत्तामा पुगेपछि माओवादी नेतृत्वले त्यसको विपरीत अभ्यास गर्यो। पार्टी, सरकार र विभिन्न संस्थामा परिवारका सदस्य र आफन्तहरूको वर्चस्व बढ्दै गयो। यसले आन्दोलनभित्रै एक किसिमको वंशीय क्रान्तिकारी संरचनाको विकास गर्यो, जुन माओवादीको मौलिक विचारधारासँग पूर्णतः विरोधाभासी थियो । यस प्रवृत्तिले अन्य सक्षम, इमानदार र बलिदानी कार्यकर्ताहरूलाई पछाडि पार्यो। संगठनभित्रको आन्तरिक लोकतन्त्र सुक्दै गयो। आज पनि पार्टीका महत्त्वपूर्ण निर्णयहरू सीमित व्यक्ति—मुख्यतः प्रचण्ड र उनका निकटस्थ व्यक्तिहरू—बीचमा सीमित रहने स्थिति देखिन्छ। माओवादी पार्टी यति साघुरो घेरामा पुग्यो कि प्रचण्ड निवास भन्दा बाहिर पनि पार्टीका नेता कार्यकर्ता छन् भन्ने कुरा लगभग विर्सन थालेको देखिन्छ ।
माओवादी आन्दोलन वैचारिक बहस, आत्मालोचनात्मक परम्परा र संगठनभित्रको खुला संवादमा आधारित थियो। ‘समालोचना र आत्मालोचना’ यस आन्दोलनको आधारशिला थियो। तर अहिलेको नेतृत्वमा फरक विचार राख्नेलाई नकारात्मक दृष्टिले हेर्ने, घेराबन्दी गर्ने र बहिष्कार गर्ने प्रवृत्ति हावी हुँदै गएको देखिन्छ । जुनसुकै तहको बैठक होस् वा जति नै ज्वलन्त मुद्दा किन नहोस्, यदि त्यो पार्टी नेतृत्वको ‘लाइन’सँग मेल खाँदैन भने समर्थनको सट्टा सन्देह गर्ने अबस्थाबाट गुज्रिएको छ । ‘नेतृत्वको आलोचना भनेको पार्टीविरोध’ भन्ने भावनात्मक ब्ल्याकमेलिङ आज पनि माओवादीको मौलिक प्रवृत्तिका रूपमा विद्यमान छ।
यसको सजीव उदाहरण हो— वैकल्पिक धारको खोजी गर्ने वा संस्थागत रूपान्तरणको माग राख्ने नेताहरू क्रमशः अलग पारिँदै गए। मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ जस्ता नेताहरूको पार्टी परित्यागको मूल कारण यही असहिष्णुता र नेतृत्वकेन्द्रित चरित्र हो। पछिल्लो समय जनार्दन शर्मा पनि सोही प्रवृत्तिको शिकार वन्ने त होइनन् भन्ने चासो देखिन्छ ।
आन्दोलन, सशस्त्र संघर्ष, सत्ता, गुटबन्दी, विभाजन—यी सबै चक्रहरूपछि पनि एउटा स्थायी तत्व भने प्रचण्डको नेतृत्व नै रह्यो। उनले पार्टीलाई विभिन्न मोडमा डोर्याए, धेरै निर्णयहरू लिए, तर आफैँमा कहिल्यै आमूल रूपान्तरण गर्न चाहेनन्। नेतृत्वको निरन्तरता यदि सफलतासँग जोडिएको छ भने स्वीकार्य हुन्छ, तर जब त्यो असफलतासँग गाँसिन्छ, तब प्रश्नको विषय बन्छ । माओवादी आन्दोलनमा देखिएको ह्रास, दिशाविहीनता र जनसमर्थनको गिरावटको मूल जरो नेतृत्वको रूपान्तरण गर्न नचाहने प्रवृत्तिमा खोज्न सकिन्छ।
रूपान्तरणविहीन चरित्रले माओवादीको क्रमिक ओरालो यात्रामा छ । जनताको विश्वास गुम्दै गइरहेको छ नै आफ्नो पुरानो आधार क्षेत्रमा समेत समर्थन गुमाइरहेको छ । विशेषगरी, युवा पुस्तामा माओवादीप्रति निराशा र अविश्वास बढ्दो छ।
माओवादीमा देखिएको रूपान्तरणविहीन चरित्रले वैकल्पिक राजनीतिक शक्तिहरूलाई ठाउँ दिएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र अन्य क्षेत्रीय दलहरूले माओवादीको कमजोरीको फाइदा उठाउन सफल भएका छन् । दैनिक ओरालो यात्रा तय गरि रहेको आभाष प्रचण्डले पनि गरि रहेको हुनुपर्छ । यो ओरालो यात्रालाई रोक्ने प्रमुख दायित्व पनि प्रचण्ड कै हो । त्यसका लागि प्रचण्डले आत्मालोचना गर्दै पार्टी निर्माणमा होम्मिने आँट राख्नु पर्छ । तर आफ्नो आलोचना र कम्जोरीलाई स्वीकार नगरि आरोप लगाउने, सुधारको सट्टा धम्की दिने शैलीमा अहिले पनि देखिन्छन्। यस्तो न पार्टीभित्र वैचारिक जीवन्तता रहन्छ, न आन्दोलनसंग जनसमर्थन जोडिन्छ ।
अर्को तर्फ माओवादी पार्टीका दोस्रो तहका नेताहरूको भूमिकामा गम्भीर आलोचना र समिक्षा गर्नुपर्ने अवस्था छ। यी नेताहरू नेतृत्व लिनको लागि पूर्ण रूपमा तैयार छैनन् र संगठन सुधारका पक्षमा पनि कुनै महत्वपूर्ण कदम चालिएको पनि देखिदैन । केवल प्रचण्डको नेतृत्वमा निर्भरता मात्र बढी रहेको छ, जसले माओवादी पार्टीलाई दीर्घकालीन दृष्टिकोणबाट कमजोर बनाएको छ । उनीहरु प्रचण्डले नेतृत्व दिन्छन् तब मात्र पार्टीको नेतृत्वमा जाने सोच बनाएको स्पष्ट देखिन्छ । उनीहरुले सुधारको लागि कुनै नयाँ दिशा र दृष्टिकोण प्रस्तुत गर्न सकिरहेका छैनन्। प्रचण्ड संग नजिक हुन पाए नेतृत्वको रक्षामा उभिने, नभए पद र शक्तिका लागि गुट, घेराबन्दी गर्ने प्रवृती दोस्रो तहका नेताहरुमा देखिन्छ । यो प्रवृत्तिले माओवादी भित्र स्वायत्तता र राजनीतिक परिपक्वतामा ठूलो खोट ल्याएको छ । माओवादी पार्टीको भविष्यको लागि दोस्रो तहका नेताहरूको भूमिका र नेतृत्वको जिम्मेवारीलाई पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ।
हालै मात्र माओवादी केन्द्रको सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको आन्तरिक संकट, सैद्धान्तिक दिशाविहीनता, र नेतृत्वको भ्रमलाई थप उजागर गरिदिएको छ। बैठकले केन्द्रीय समिति भंग गरेर महाधिवेशनमा जाने निर्णय गरेको छ, जुन निर्णय सतहमा लोकतान्त्रिक अभ्यास जस्तो देखिए पनि गहिरिएर हेर्दा यो नेतृत्वको संकट टार्ने प्रयोजन मात्र देखिन्छ । अब प्रश्न उठेको छ के यो महाधिवेशनले माओवादीलाई साँच्चै रुपान्तरण गर्न सक्छ ?
सबैभन्दा पहिले, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रक्षात्मक शैलीमा बैठकमा प्रस्तुत हुनु आफैँमा अस्वाभाविक थिएन। विगत तीन दशक भन्दा वढी देखि एकछत्र नेतृत्व गर्दै आएका प्रचण्ड अब आफ्नै छायासँग डराउन थालेका छन्। उनीमाथि सत्ता मोह, सैद्धान्तिक विचलन, र परिवारवादको आरोप लागेको मात्र होइन, पार्टीभित्र पनि उनीप्रति असन्तुष्टि चरममा पुगेको देखिन्छ।
यही सन्दर्भमा, नारायणकाजी श्रेष्ठको विषय उल्लेखनीय छ। उनी लामो समयदेखि दोस्रो पंक्तिको नेता रहँदै आएका छन् । तर हाल प्रचण्डको कमजोरीलाई अवसरका रूपमा प्रयोग गर्ने प्रयासमा छन् । यद्यपि, नारायणकाजीले सैद्धान्तिक स्पष्टता र जनस्तरको विश्वास अझै बनाएका छैनन् । नेकपा माओवादी संग पार्टी एकता पश्चात पनि नाराणकाजीले संगठन सुदृढीकरणकालागि भन्दा पनि गुट र प्रचण्ड संग सत्ताकोलागि आफ्नो कोटा माग्नेमा केन्द्रीत रहे । उनको सम्भावित नेतृत्वको प्रश्नले माओवादीभित्रको वैचारिक दरार झनै गहिरिने सम्भावना बढेको छ। प्रचण्डले स्वयं पार्टी नेतृत्व छोडे भने पदिय हिसावले श्रेष्ठ पार्टी नेतृत्वमा पुग्लान्, अन्यथा महाधिवेशन भयो र मतदान मार्फत नेतृत्व चयन गर्ने तहमा माओवादी पुग्यो भने नारायणकाजी उम्मेद्वारी दिन समेत अघि सर्छन् जस्तो दखिँदैन ।
महाधिवेशनलाइ पार्टी रुपान्तरणको अवसरको रुपमा लिइन्छ । तर वास्तविकता के हो भने नेतृत्व फेरिने सम्भावना न्यून छ। नेतृत्व परिवर्तन भनेको प्रचण्डले मात्र पार्टी जिम्मेवारी छोड्ने भन्ने बुझाई बनेको देखिन्छ । तर रुपान्तरण पुस्तान्तरणको बहस प्रचण्डले भनेझैं, पार्टीबाट खराब आचरण, विवादित पात्रहरू र समाजमा प्रश्न उठाएका नेताहरूको विदा हुन् भन्ने हो । यी प्रवृतीलाइ राखेर प्रचण्डको मात्र विकल्प खोज्ने भन्ने वहस गलत हुन्छ । प्रचण्डले उठाएको “विदा होस्” भन्ने सन्देश अब कार्यान्वयनमा जानैपर्छ। किनभने पुस्ता फेरिँदा पनि प्रवृत्ति उस्तै रहे भने त्यसको कुनै अर्थ हुँदैन। अहिलेका युवा नेताहरू पनि उही पुराना गुटको समर्थनमा अघि बढाइएका छन् । तिनीहरूले पुरानै भ्रष्ट शैली अंगालेका छन्। यस्तो अवस्थामा उमेरले युवा भएर केही हुँदैन, सोच र आचरणले युवा बन्नुपर्छ। आजको आवश्यकता केवल पुस्तान्तरण होइन, सोच, चरित्र र संस्कारको शुद्धिकरण हो। तर माओवादी महाधिवेशन रुपान्तरण परविर्तनको लागि भन्दा पनि पुरानै अनुहार, पुरानै एजेन्डामा नविकरणको नाटक मात्र मञ्चन हो भन्दा फरक पर्दैन ।
माओवादी आन्दोलन आज गम्भीर अन्तर्विरोध, असन्तुलन र विघटनको संघारमा उभिएको छ भन्दा फरक पर्दैन । आफ्नो मूल आत्मा—जनताको पक्षमा निष्ठा, वैचारिक स्पष्टता, इमानदार नेतृत्व र संगठनात्मक अनुशासन—पुनः प्राप्त गर्न सकेन भने, यसको ऐतिहासिक योगदान केवल एक सफल सशस्त्र विद्रोहको रूपमा सीमित हुनेछ। त्यसैले अबको आवश्यकता हो– आत्ममूल्यांकन, जनतासँग पुनः संवाद, र नवीन वैचारिक पुनर्संरचना।
माओवादी आन्दोलनको इतिहास र यसले उठाएका मुद्दाहरू अझै पनि नेपाली समाजमा प्रासंगिक छन्। यदि माओवादीले वैचारिक स्पष्टता, प्रगतिशील नीति, र सामाजिक रूपान्तरणमा जोड दिन्छ भने यो आन्दोलनले फेरि पनि नेपाली समाजलाई नयाँ दिशा दिन सक्छ। तर, यो सम्भावना नेतृत्वको आत्मसमीक्षा र रूपान्तरणमा निर्भर छ । यदी तत्काल माओवादीले रूपान्तरणको पहल गरेन भने अबको निर्वाचनमा जनताले नै माओवादीलाई रूपान्तरण नगर्लान भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण