रोहितबाट एकदिवसीय कप्तानी खोसिनुका पाँच कारण
सारांश
- रोहित शर्मालाई भारतीय क्रिकेट बोर्डले एकदिवसीय कप्तानीबाट हटाएर शुभमन गिललाई नयाँ कप्तान बनाएको छ।
- मुख्य चयनकर्ताका अनुसार, रोहितलाई हटाउनुका पछाडि युवा खेलाडीलाई अवसर, उमेर र घरेलु क्रिकेटमा कम सहभागिता जस्ता कारणहरू छन्।
- रोहितले भारतलाई दुई आईसीसी ट्रफी र दुई एसिया कप दिलाए तापनि उनलाई सन् २०२७ को विश्वकपसम्म कप्तानी गर्न दिइएन।
एजेन्सी । ११ वर्षपछि भारतलाई आईसीसी ट्रफी जिताएका कप्तान रोहित शर्मालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एकदिवसीय कप्तानीबाट हटायो । शनिबार अस्ट्रेलिया भ्रमणको लागि टोली घोषणा गर्दा यो सबैभन्दा चकित पार्ने निर्णय थियो ।
शुभमन गिललाई टेस्टपछि एकदिवसीय टोलीको पनि कमान सुम्पिएको छ र उनी भारतका २८ औं एकदिवसीय कप्तान बनेका छन् ।
सन् २०२२ मा तीनै फम्र्याटको पूर्ण–समय कप्तानी पाएपछि रोहितले २०२३ को एकदिवसीय विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए । तर टोली अस्ट्रेलियासँग उपाधि भिडन्तमा हार्यो, तर रोहितले हार मानेनन् र सात महिनापछि भारतलाई टी–२० विश्व च्याम्पियन बनाए । यति मात्र होइन, उनले यसै वर्ष भारतलाई च्याम्पियन्स ट्रफी पनि दिलाए ।
दुई वटा आईसीसी ट्रफी र दुई एसिया कप जिताए पनि रोहितलाई सन् २०२७ मा हुने एकदिवसीय विश्वकपसम्म कप्तानी गर्न दिइएन । यस्तो अवस्थामा प्रश्न उठ्छ, उनलाई कप्तानीबाट किन हटाइयो ? मुख्य चयनकर्ताले पत्रकार सम्मेलनमा भनेका कुराहरूबाट कप्तान बदल्नुका पछाडिका पाँच कारण बुझ्न सकिन्छ ।
कारण १ : एकदिवसीय विश्वकप २ वर्ष टाढा
एकदिवसीय विश्वकप अझै २ वर्ष टाढा छ । सन् २०२७ को अक्टोबर–नोभेम्बरमा यो प्रतियोगिता अफ्रिकामा हुँदै छ । मुख्य चयनकर्ता अजित अगरकरले नयाँ कप्तान बनाउने यो सही समय भएको बताएका छन् । भनेका छन्, ‘व्यवस्थापन शुभमनलाई एकदिवसीय कप्तानको रूपमा समय दिन चाहन्छ, ताकि विश्वकपसम्म उनलाई टोलीको नेतृत्व गर्ने बानी होस् ।’
शुभमनलाई यसै वर्षको मे महिनामा रोहितको टेस्ट संन्यासपछि रेड बल (टेस्ट) टोलीको कमान पनि सुम्पिएको थियो । उनले इङ्गल्याण्डमा भएको पाँच टेस्टको शृंखला दुई–दुईको बराबरी गराए । अब वेस्ट इन्डिजविरुद्धको शृंखलामा १–० को अग्रता पनि बनाएका छन् । भविष्यलाई ध्यानमा राख्दै शुभमनलाई कमान सुम्पिएको हो, साथै श्रेयस अय्यरलाई उपकप्तान बनाइएको छ ।
कारण २ : रोहितले घरेलु क्रिकेट खेल्दैनन्
रोहित सन् २०१३ अघिसम्म घरेलु क्रिकेटमा नियमित थिए, तर त्यसपछि उनका खेल कम भए । उनले सन् २०१८ मा अन्तिम पटक विजय हजारे ट्रफीको सेमिफाइनलमा मुम्बईका लागि लिस्ट–ए म्याच खेलेका थिए । त्यसपछि उनी घरेलु क्रिकेटबाट टाढा रहे ।
चयन समितिले टोलीको हिस्सा बन्नका लागि हरेक खेलाडीले घरेलु क्रिकेट खेल्नैपर्ने कुरामा जोड दिँदै आएको छ । रोहितको घरेलु क्रिकेट नखेल्ने बानी पनि उनलाई कप्तानीबाट हटाउनुको एउटा प्रमुख कारण बन्यो ।
कारण ३ : ३८ वर्षभन्दा माथिको उमेर
रोहित ३८ वर्षका भइसकेका छन्; उनले ३७ वर्षको उमेरमा आफ्नो कप्तानीमा टोली इन्डियालाई च्याम्पियन्स ट्रफीको उपाधि जिताएका थिए । भारतबाट अहिलेसम्म केवल ५ खेलाडीले मात्र ३८ वर्षको उमेरपछि एकदिवसीय खेलेका छन् । यीमध्ये मोहिन्दर अमरनाथ मात्र एक यस्ता खेलाडी हुन्, जसले ३९ वर्षको उमेरसम्म एकदिवसीय खेले ।
टोली इन्डियाले एकदिवसीय ढाँचामा फिटनेसलाई ध्यानमा राख्दै उमेरदार खेलाडीहरूलाई खासै प्राथमिकता दिँदैन । सचिन तेन्दुलकर, एमएस धोनी, राहुल द्रविड र सुनील गावस्करले पनि ३८ वर्षको उमेरसम्म मात्र एकदिवसीय क्रिकेट खेलेका थिए । यदि रोहितले सन् २०२७ को विश्वकप खेल्छन् भने उनको उमेर ४० वर्ष पुग्नेछ र उनी भारतबाट एकदिवसीय खेल्ने सबैभन्दा वृद्ध खेलाडी बन्नेछन् । यद्यपि, ठुलो प्रश्न यो हो– के उनी तबसम्म आफ्नो फिटनेसलाई एकदिवसीय क्रिकेटका लागि कायम राख्न सक्नेछन् ?
कारण ४ : बीसीसीआई तीन फरक कप्तान चाहँदैन
मुख्य चयनकर्ताले तीन फरक फम्र्याटका लागि तीन अलग–अलग कप्तान बनाउन सम्भव नभएको पनि बताएका छन् । अहिले गिल टेस्ट टोलीका र सूर्यकुमार यादव टी–२० टोलीका कप्तान छन् । यदि रोहित एकदिवसीय कप्तान रहिरहेका भए, अहिले तीनै फम्र्याटमा भारतका कप्तान अलग–अलग हुने थिए । त्यसैले गिललाई दुई फम्र्याटको कप्तानी दिइएको हो । गिल चाँडै नै तीनै फम्र्याटमा भारतका कप्तान बन्न सक्ने अनुमान गरिएको छ ।
कारण ५ : युवा खेलाडीहरू ठाउँ लिन तयार
रोहितले सन् २०२३ देखि आफ्नो ब्याटिङको शैली परिवर्तन गरेका थिए । उनले ओपनिङ गर्दा पारी सम्हाल्नुको सट्टा ठुला सटहरू खेलेर टोलीलाई द्रुत सुरुवात दिलाउनमा ध्यान दिए । पछिल्ला दुई वर्षदेखि उनी यही काम गरिरहेका छन् । यस कारण २०२३ देखि २२ पारीहरूमा उनको स्कोर ३० देखि ९० बिचमा रह्यो । यस दौरान उनले तीन शतक मात्र प्रहार गर्न सके । २५ मध्ये २१ पारीमा भने उनको स्ट्राइक रेट १०० भन्दा बढी रह्यो ।
२०२२ सम्म रोहित ठुला पारी खेल्थे र टोलीलाई ठुलो स्कोरसम्म पुर्याउँथे । अब रोहित टोलीलाई जुन द्रुत सुरुवात दिन्छन्, यो काम गर्न व्यवस्थापनसँग यशस्वी जयसवाल, अभिषेक शर्मा र ऋतुराज गायकवाडजस्ता युवा खेलाडीहरू उपलब्ध छन् । यशस्वीलाई त अस्ट्रेलिया भ्रमणका लागि पनि छानिएको छ । अर्थात्, रोहित यदि फर्म बाहिर देखिए भने उनलाई प्लेइङ–११ बाट हटाएर यशस्वीले मौका पाउनेछन् ।
भारतका उत्कृष्ट कप्तान रहे रोहित
रोहितको कप्तानीमा भारतले ५६ एकदिवसीय खेल्यो, जसमा ४२ जित्यो र १२ हार्यो । यस क्रममा १ खेल बराबरी र १ खेलको नतिजा आएन । ५० भन्दा बढी एकदिवसीयमा कप्तानी गर्ने भारतीयहरूमा रोहितको जित प्रतिशत (७५ प्रतिशत) सबैभन्दा उत्कृष्ट रह्यो । त्यसपछि विराटले भारतलाई ६८% एकदिवसीय जिताएका थिए ।
भाष्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026