बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराटनगरमा बाढीले १७६ परिवार विस्थापित, मोरङमा २५१ परिवार प्रभावित

आइतबार, १९ असोज २०८२, १६ : ५४
आइतबार, १९ असोज २०८२

सारांश

  • अविरल वर्षाका कारण मोरङमा केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ।
  • बाढीका कारण मोरङ जिल्लाका २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन्, जसमा १७६ परिवार विस्थापित भएका छन्।
  • विराटनगर महानगरपालिका र आसपासका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन्, साथै विभिन्न स्थानमा घर डुबानमा परेका छन्।

विराटनगर । अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍याएको छ । बाढी र कटानका कारण मोरङ जिल्लाका २५१ परिवारका १ हजार २० जना प्रभावित भएका छन् । तीमध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार विराटनगर महानगरपालिका र आसपासका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

केशलीया खोलामा आएको बाढी विराटनगर–१२ बखरीस्थित सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ निर्माणाधीन फ्याक्ट्रीमा अस्थायी रूपमा राखिएको छ ।

त्यस्तै, सिंघिया खोलाको बाढी विराटनगर–२ पूर्वटोलमा पस्दा ३५ घर डुबानमा परेका छन् । ती घरका १५० जना स्थानीय सुरक्षित स्थानमा सरेका छन् । विराटनगर–५ शंकरबारी टोलमा २० घर बाढीले प्रभावित भएका छन् भने ७० जना आफन्तकहाँ गएर बसेका छन् ।

विराटनगर–८ को सुकुम्वासी बस्तीमा पनि सिंघिया खोलाले ११ घरमा पसेर ४० जना विस्थापित गरेको छ । ती परिवारहरू आफैँ सुरक्षित स्थानमा सरेका छन् ।

सिंघिया खोलाको बाढी विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका–१ बख्खु टोलमा पनि पसेको छ । सो क्षेत्रमा ३५ परिवार विस्थापित भएका छन् र उनीहरूलाई नारी विकास सङ्घको भवनमा राखिएको छ ।

यसैबिच, सुनबर्षी नगरपालिका–६ कैनिटोलमा बक्राहा खोलाले साइड बाँध कटान गरेको छ भने उर्लाबारी–१ बोडरलाइनमा रतुवा खोलाले पनि साइड बाँध भत्काएर बस्तीमा बाढी पसेको प्रहरीको जानकारीमा आएको छ ।

 

सुनबर्षी–३ बाहुनटोलमा बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ । त्यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहेरामा नुनसरी खोलाको बाँध समेत कटान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप