शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
खनालको आरोह-अवरोह

इन्जिनियर बन्न हिँडेका झलनाथ खनाल यसरी राजनीतिमा मोडिए

आँखैअगाडि श्रीमती जलिन्, आफ्नो मिर्गौला फेल भएको बेला रोएर दिन–रात बिताए
सोमबार, २० असोज २०८२, ०९ : ००
सोमबार, २० असोज २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आन्दोलनकारीले आगजनी गर्दा उनकी पत्नी गम्भीर घाइते भइन् र देब्रे हात गुमाउनुपर्‍यो।
  • खनाल परिवारले ठूलो पीडा भोग्नुपरेको र हालसम्म श्रीमतीको भारतमा उपचार भइरहेको छ।
  • खनालको राजनीतिक जीवन र पारिवारिक पृष्ठभूमिका विभिन्न पक्षहरू, जस्तै विवाह र स्वास्थ्य समस्याहरूबारे जानकारी दिइएको छ।

काठमाडौँ । भदौ २४ पूर्वप्रधानमन्त्री झलनाथ खनालको जीवनमा एकाएक अकल्पनीय घटना आइदियो । जेनजी आन्दोलनको निशानामा खनालको घर पनि पर्‍यो । उनको घर मात्र खरानी भएन, जीवन संगीनीलाई प्रदर्शनकारीले जिउँदै जलाइदिए । 

त्यसदिन बिहान खनाल, उनकी पत्नी रविलक्ष्मी चित्रकार, छोरा निर्भीक घरै थिए । आन्दोलनकारीले घरमा ढुंगामुडा बर्साउन थालेपछि उनलाई सुरक्षाकर्मीले जोगाए, तर रविलक्ष्मी घरमै फसिन् । घरसँगै जलिन् रविलक्ष्मी । खैर उनी बाँच्न सफल भइन् । 

कीर्तिपुर बर्न अस्पतालमा गम्भीर अवस्थामा पुर्‍याइएकी उनको असोज १ गते देब्रे हात नै काट्नुपर्‍यो । ज्यान त बल्ल बल्ल जोगियो । तर जीवनभर पीडा बोक्न बाध्य भए खनाल परिवार । अहिले पनि भारतमा रविलक्ष्मीको उपचार भइरहेको छ । 

उमेरले ७६ वर्ष लागेका खनाल त्यस कहालीलाग्दो दिनको घटना सम्झँदा दुःखीसँगै आक्रोशित पनि हुन्छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता अन्य पूर्वप्रधानमन्त्रीको तुलनामा सरल, मिजासिलो र इमानदार छवि भएका नेता हुन् । 

खनालले यो दिन आउँछ भन्ने सोचेका पनि थिएनन् । हुन त भदौ २४ गते खनालको घर मात्र जलेको थिएन; राज्यसत्तामा पहुँच पुगेका, मन्त्री बनेका र दलसँग आबद्ध प्रायः नेताको घर जलाइएको थियो । तर खनालको जस्तो बज्रपात सायद अरूलाई परेन, आँखै अगाडि श्रीमती जलिन्, योभन्दा ठुलो पीडा त्यस दिन अरूलाई सायद भएन । रविलक्ष्मीको शरीरको १८ प्रतिशत भाग जलेको थियो । पेसाले शिक्षिका उनको चक डस्टर घोटेर बनाएको घर र धन सम्पत्तिसमेत खरानी भयो । 

‘मेरो म्याडमले ट्युसन र दुईटा कलेज पढाएर आर्जेको, म सांसद र मन्त्री हुँदा आएको पारिश्रमिकले बनाइएको थियो त्यो घर,’ खनाल घर सम्झिँदै भन्छन्, ‘जमिन भने पुर्खाहरूले दिएको पैतृक सम्पत्ति हो । तर मेरोसहित अरू धेरै जनाको घर जल्यो । जीवनभर देश र जनताको हक अधिकारको पक्षमा लडेको मैले के अपराध गरेँ ?’

२००६ साल चैत ६ गते इलामको साखेजुङ्ग, त्यतिबेलाको गाउँ पञ्चायत वडा नम्बर ४ को पण्डित गाउँमा उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मेका हुन् खनाल । दश भाइ र तीन बहिनीमध्ये उनी सातौँ सन्तान अर्थात् जन्तरे हुन् । १३ वर्षको उमेरमा गाउँकै मिडिल स्कुलमा भर्ना भएका खनालले इलामको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । 

विद्यालय पढाइ पूरा गरी इन्जिनियर बन्ने उद्देश्यले उनी आइएस्सी अध्ययनका लागि काठमाडौँ आए । अस्कल क्याम्पस गएका खनाल कोटा नभएकाले त्रिचन्द्र कलेज भर्ना हुन खोजे । तर त्यहाँ पनि कोटा सकिएको थाहा पाएपछि देशभरबाट आएका विद्यार्थीहरूलाई संगठन गरी कोटा थप गर्न तत्कालीन पञ्चायती सरकारलाई दबाब दिए, विद्यार्थीको दबाबसामु सरकारले घुँडा टेक्यो र बाध्य भएर राजा महेन्द्रले कोटा थप्न निर्देशन दिएको घटना उनी अहिले पनि याद छ । 

विद्यार्थी आन्दोलनकै क्रममा खनालको भेट नेकपाका संस्थापक निरञ्जन गोविन्द वैद्यसँग हुन्छ । अनि २०२३ सालतिर वामपन्थी राजनीतिमा सक्रिय हुन्छन् । आइएस्सी पास भएसँगै खनालको जीवनले नयाँ मोड लिनपुग्छ । गाउँ–गाउँमा कम्युनिस्ट संगठन बनाउन उनी पश्चिमको बागलुङ गलकोट पुग्छन् । त्यहाँ कम्युनिस्ट नेता चित्रबहादुर केसीसँग खनालको भेट हुन्छ । केसी हाइस्कुलका प्रधानाध्यापक थिए । खनालले शिक्षक बनेर उतै कम्युनिस्ट पार्टीको संगठन विस्तार गर्न थाले । 

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले वामपन्थी राजनीतिमा ६ दशक कटाइसके । २०१९ सालमा नेकपाको तेस्रो महाधिवेशनपछि पार्टी टुटफुट र विभाजनले छिन्नभिन्न थियो । विभिन्न टुक्रामा रहेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन खनालले कोअर्डिनेसन केन्द्र, नेकपा(माले), नेकपा(एमाले), नेकपा हुँदै नेकपा(एकीकृत समाजवादी) बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

मार्क्र्सवादी–लेनिनवादी र समाजवादी विचारधाराको अब्बल व्याख्याकार खनाल मालेको महासचिव, एमालेको अध्यक्ष हुँदै अहिले एकीकृत समाजवादीका सम्मानित स्थानमा छन् । पटक–पटक सांसद बनेका उनी २०४७ सालको कृष्ण प्रसाद भट्टराईको अन्तरिम मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र २०६७ सालमा प्रधानमन्त्री हुन सफल भए । 

सार्वजनिक वृत्तमा खनालको जति चर्चा छ, व्यक्तिगत जीवनका पाटा पनि उत्तिकै रोचक र प्रेरणादायी छन् । कम्युनिस्ट आन्दोलनका महत्त्वपूर्ण हस्ती मानिने उनको वैवाहिक जीवन र पारिवारिक पृष्ठभूमि धेरैलाई थाहा नहुन सक्छ । यस रिपोर्टले खनालको प्रेम, विवाह, पारिवारिक पृष्ठभूमि, दाम्पत्य जीवन र वर्तमान दैनिकीलाई खोतल्ने प्रयास गरेको छ । 

प्रेम र विवाह

खनाल निकै सोझा विद्यार्थीमा गनिन्थे, तर पढाइमा जहिल्यै अब्बल । ‘पढाइबाहेक अन्त ध्यानै गएन,’ जेनजी आन्दोलनको केही दिनअघि आफ्नो निवास डल्लुमा रातोपाटीसँग खनालले भनेका थिए, ‘मायाप्रेममा मेरो दिमागै गएन, भ्याउँदा पनि भ्याइएन, त्यो खालको सोच दिमागमा आउँदा पनि आएन ।’

एसएलसी परीक्षाका बेला भने खनाल एक युवतीसँगै थिए, खनाललाई ती युवतीले हैरान बनाइछिन् । ‘मेरो कपी तान्ने गर्थिन्, मैले लेखेका पनि सार्ने गर्थिन्, यो कुरा मेरो सरले देखेछन् । त्यसपछि मलाई माथि एक्लै एउटा कुर्सीमा राखिदिनुभयो । मेरो कल्याण गर्नुभएको थियो,’ खनालले ती दिन सम्झिए ।

‘मेरा महिला साथीहरू पनि थुप्रै हुनुहुन्थ्यो । उहाँहरूसँग राम्रो घनीष्ठता पनि थियो । कसैले मप्रति सोचेको भए बेग्लै कुरा भयो तर मैले त्यतिबेला सोच्न भ्याइनँ,’ भन्छन्, ‘म अलि बढी मात्रामा यो राजनीतिकेन्द्रित पनि हुँदै गएछु । यसमा डुबेपछि मेरो अन्त ध्यानै गएन ।’ 

chitrakar

माधव नेपाल, वामदेव गौतम लगायतसँग मिलेर कोअर्डिनेशन बनाएका खनाल सोही क्रममा जेल परे । २०३५ सालमा नेकपा(माले) गठन भएपछि काठमाडौँकेन्द्रित संगठन निर्माणमा लागे । भूमिगत बैठक गर्न, नेताहरूको सुरक्षाहुने भएकाले पार्टीको ध्यान काठमाडौँकेन्द्रित भएको उनी बताउँछन् ।

‘त्यतिबेला हामीले अलि काठमाडौँमै बढ्ता कमिटीका बैठकहरू गर्न थाल्यौँ । भेट हुन पनि सजिलो हुने भयो । लुक्न पनि सजिलो भयो । यी सबै कारणले हामी काठमाडौँमा केन्द्रित भयौँ । भूमिगत कालमा पुरुष मात्र होइन, महिला धेरै थिए,’ खनाल प्रस्ट्याउँछन् ।

२०३९ सालसम्म उनका समकालीन धेरै नेताहरूको विवाह नभएको खनाल बताउँछन् । त्यतिबेला पार्टीले सीपी मैनालीलाई कारबाही गरेपछि उनको काँधमा महासचिवको जिम्मेवारी आयो । नेतृत्वमा आएलगत्तै खनालले नै पार्टीमा विवाह नभएका महिला–पुरुषको विवाह गर्न निर्देशन दिए । 

‘मेरो पनि विवाह भएको थिएन, त्यतिबेला सबै साथीहरू फेरि यङ हुनुहुन्थ्यो । पार्टीभित्र जो जस्तो छ, त्यही ढङ्गले एक आपसमा चिनजान गर्ने र विवाह गर्न निर्देशन दिइयो,’ खनाल बताउँछन् ।

पार्टीको निर्देशनलगत्तै भने धेरैले विवाह गरे । ‘अमृत (अमृत बोहोरा)कमरेडको बिहे भयो । मेरो भयो, ईश्वर (ईश्वर पोखरेल) कमरेडको बिहे भयो । भर्खर–भर्खर छुट्नुभएका केपी ओलीको बिहे भयो, माधव (माधव नेपाल) कमरेडको विद्यार्थी साथी हुनुहुन्थ्यो, उहाँले विद्यार्थी फाँट हेर्ने भएकाले विद्यार्थी विवाह गर्नुभयो,’ खनालले सविस्तार बताए । 

खनालले भने २०३९ साल माघमा विवाह गरे । रविलक्ष्मी चित्रकार त्यतिबेला कीर्तिपुरमा फिजिक्स पढाउने गर्थिन् । काठमाडौँ जिल्ला कमिटी सदस्य रहेकी उनी भूमिगत नै थिइन्, चित्रकारसँग पहिलो भेट उनकै घरमा भएको खनाल सम्झिन्छन् । 

‘म्याडमको घर हाम्रो सेल्टर थियो, चिनजान त्यहीँ भएको थियो । उहाँ त्यतिबेला काठमाडौँ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो,’ खनाल भन्छन्, ‘उहाँको दाजु विष्णु चित्रकार, बहिनी मञ्जु चित्रकार, भाइ विश्व चित्रकार । यसरी चित्रकारहरूको पूरा फेमेली नै हाम्रो सेल्टर थियो ।’

चित्रकारको घरमा आउने–जाने क्रम चलिरहेकाले कुराकानीकै क्रममा विवाहको प्रस्ताव भने आफैँले राखेको उनलाई अहिले पनि सम्झना छ । ‘प्रस्ताव गरेपछि सोचेर जवाफ दिन्छु भन्नुभयो, मैले फ्र्याङ्कली नै सोधेँको थिएँ,’ खनालले भने । 

विवाहको प्रस्तावपछि भने चित्रकार गम्भीर भइन् । तीन–चार दिनपछि खनाल चित्रकारको घर पुगे । अनि ‘ठीक छ, हुन्छ’ भन्ने जवाफ पाएपछि निकै खुसी भए । 

‘त्यो निकै खुसीको क्षण थियो,’ खनाल सम्झिन्छन्, ‘उहाँको परिवारबाट कुनै अब्जेक्सन आएन अथवा आउन सक्थ्यो होला, तर मेरो अवस्था आदि सबै कुराहरू उहाँले बुझ्नु नै भएको थियो । उहाँहरूलाई अलि–अलि लाग्या पनि थियो होला, यो पार्टीको अलि महत्त्वपूर्ण कोही मान्छे हो, त्यसमाथि विष्णु(दाजु)लाई मेरोबारे सबै थाहा थियो ।’

भूमिगत अवस्थामा भएकाले खनाल र चित्रकारले जनवादी विवाह गरे, जहाँ अमृत बोहरा र अष्टलक्ष्मी शाक्यलगायत केही नेताहरू उपस्थित थिए । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल भने सहभागी नभएको खनाल बताउँछन् । विवाहमा जम्मा खर्च भयो, ११३ रुपैयाँ । 

‘विवाहमा मदन कमरेड हुनुहुन्नथ्यो, सेल्टरमै टीकाटाला भयो, बिहे गरेपछि म्याडममाइतमै बस्नुभयो, म ससुराली बस्ने कुरै भएन, मेरोचाहिँ अलग्गै सेल्टर थियो,’ विवाहपछिको अवस्थाबारे खनाले सुनाए ।

त्यतिबेला खनाल पार्टीको महासचिव थिए, छुट्टै बस्थे । बेला–बेलामा रविलक्ष्मी पनि उनलाई भेट्न पुगिरहन्थिन् । विवाहपछि भने सामान्य ढंगले कम्परमाइज गरेर सँगै बस्न थालेको उनले सुनाए । 

अहिले बसेको घर–जग्गा पनि खनाल दम्पतीलाई ससुरालीले दिएका हुन् । पछि आफू सांसद अनि मन्त्री भएपछि भने घर बनाउन सघाएको खनाल बताउँछन् । 

‘डल्लु आवास क्षेत्र ससुरालीहरूको बसोबासको ठाउँ, यो जग्गा जमिन उहाँहरूकै हो । पछि उहाँहरूले छोराछोरीहरूलाई बराबरी जमिन दिनुभएको रहेछ, मेरो म्याडमलाई पनि ६ आना जग्गा मिल्यो,’ आफ्नो अवस्थाबारे खनाल प्रस्ट्याउँछन्, ‘पछि उहाँले अध्यापन, ट्युसन पढाएर जम्मा गरेको आम्दानी र अन्तरिम कालमा म मन्त्री हुँदा, सांसद हुँदा जम्मा भएको पैसाले घर बनायौँ ।’

मिर्गौला फेल हुँदा...

२०७८ असारमा खनाल निकै बिरामी परे, उपचारका क्रममा थाहा भयो, उनका दुवै मिर्गौला फेल भएका रहेछन् । असार २ गते उनी नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना भए । साउन २० गते ट्रान्सप्लान्ट गरेँ ।

‘किड्नी ट्रान्सप्लान्ट गर्न नसकेको भए म इन्डियामै सिद्धिन्थेँ, कतै खोज्दा पनि किड्नी पाइएको थिएन, अरूलेदिएर नहुने रहेछ,’ खनाल बिरामी हुँदाको अवस्थाबारे बताउँछन्, नेपाल र इन्डियाको ऐन नै बनेको रहेछ, म मृत्यु पर्खेर बसिराखेको थिएँ ।’ जेठीसासूको छोरी मेरिना चित्रकारले खनाललाई मिर्गौला दिएर बचाएकी थिइन् । 

‘दिदीका छोरा–छोरीसँग म्याडमले उहाँको स्थिति राम्रो छैन, सिरियस हुँदै जानुभएको छ भन्नुभएछ, हामी आउन त दुई जना आयौँ, फर्किन एक्लै हुनुपर्‍यो भन्नुभएछ,’ खनाल थप्छन् ।

jhalanath khanal1624030120

अनि छोरीलाई भारतमा झिकाएर उनको मिर्गौला ट्रान्सप्लान्ट गरियो । 

मिर्गौला ट्रान्सप्लान्ट नहुन्जेल निकै पीडामा थिए खनाल । भन्छन्, ‘मेरो शरीर सुन्निएर ठुलो भएको थियो । सास फेर्न नसक्ने अवस्थामा थिएँ । रुँदै दिन–रात कटाउँथेँ । मेरो दिमाग मात्रै छ, हलचल केही पनि थिएन, अन्तिम दिन कहिले हो भनेर पर्खेर बसेको थिएँ ।’

मिर्गौला प्रत्यारोपणपछि खनालको जीवनशैली अनुशासित बनेको छ । समयमै औषधि खान्छन्, बेलैमा सुत्छन् अनि खानेकुरामा पनि ध्यान दिन्छन् । 

बिहान चारै बजे उठ्छन् । त्यसपछि योगा गर्छन्, योगासँगै सामान्य शारीरिक व्यायाम पनि । एक घण्टा यति गरेपछि ६ देखि साढे ७बजेसम्म उनको काम पढाइमा बित्छ । अनि मर्निङ वाकमा निस्किन्छन् । 

अनि एक घन्टापछि पत्रपत्रिका हेर्छन् । ९ बजेतिर ब्रेकफास्ट लिन्छन् । ब्रेकफास्टपछि भने उनी एकैचोटि दिउँसो दुई–तीन बजेतिर खाना खान्छन् । अनि १० देखि ११ बजेसम्म सुतिसक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप